close

स्याटलाइट ध्वस्त पार्ने रुसी मिसाइल परीक्षणप्रति अमेरिकाको आपत्ति

टेकपाना टेकपाना

मंसिर १, २०७८ ११:१९

स्याटलाइट ध्वस्त पार्ने रुसी मिसाइल परीक्षणप्रति अमेरिकाको आपत्ति

काठमाडौं । रुसले मिसाइलमार्फत आफ्नो एउटा पुरानो स्याटलाइटलाई पृथ्वीको तल्लो कक्षमा ध्वस्त पारिदिएको छ । उसले एन्टी स्याटेलाइट मिसाइल प्रहार गरी नष्ट गरेको स्याटलाइटका करिब १५०० भन्दा बढी टुक्रा तीव्र रुपमा अन्तर्राष्ट्रिय स्पेस स्टेसन (अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र) तर्फ अगाडि बढेका थिए ।

अन्तरिक्षमा जानाजान फैलाइएको फोहोरमैलाका कारण स्पेस स्टेसनमा रहेका अन्तरिक्ष यात्रीलाई सोयुज तथा ड्रागन क्याप्सुलमा लुक्नु परेको थियो । ताकि फोहोरमैलाले स्पेस स्टेसनमा क्षति पुर्‍याएको खण्डमा उनीहरू दुवै क्याप्सुलको माध्यमबाट धर्तीमा फर्किन सकुन् ।

यो घटना पश्चात कयौँ मुलुकले रुसको यो हर्कतको कडा आलोचना गरेका छन् । रुसले १४ नोभेम्बरको राति एन्टी स्याटलाइट मिसाइल (एएसएटी) प्रहार गरी आफ्नो स्याटलाइट कसमस-१४०८ लाई नष्ट पारिदिएको थियो ।

उक्त स्याटेलाइटको तौल दुई हजार किलोग्राम रहेको थियो । जसलाई सन् १९८२ मा प्रक्षेपण गरिएको थियो । पछिल्ला केही वर्षदेखि निष्क्रिय रहेको यो स्याटेलाइट मिसाइलबाट उडाउँदाको समयमा पृथ्वीबाट ४८५ किलोमिटरको उचाइमा रहेको थियो ।

त्यसको केही तलको कक्षमा अन्तर्राष्ट्रिय स्पेस स्टेसनले पृथ्वीलाई परिक्रमा गरिरहेको थियो । अमेरिकाले यस प्रकारको रुसी हर्कत पुष्टि गर्दै घटनाको निन्दा गरेको छ । अमेरिकी राज्य विभागका प्रवक्ता नेड प्राइसले रुसी फेडरेसनले लापरबाहीपूर्ण हर्कत गरेको बताए ।

जसका कारण स्पेस स्टेसनमा रहेका अन्तरिक्षयात्रीको जीवन खतरामा परेको थियो । रुसको यस किसिमको प्रविधिले विश्वभरका मुलुकका स्याटेलाइट तथा स्पेस स्टेसन खतरा उत्पन्न गरेको अमेरिकाले जनाएको छ ।

नासाका प्रशासक बिल नेल्सनले रुसी एन्टी-स्याटेलाइट हतियारको परीक्षणलाई लिएर ‘अकल्पनीय’ कदम भएको प्रतिक्रिया दिएका छन् । एक विज्ञप्ति जारी गर्दै नेल्सनले यस किसिमको ‘विध्वंसकारी गतिविधि’बाट आफू चकित बनेको बताएका छन् ।

विज्ञप्तिमा उनले भनेका छन्, ‘सुरक्षित र दिगो अन्तरिक्ष वातावरणका लागि अन्तरिक्षमा जानाजान फोहोरमैला उत्पन्न गराउने रुसी एन्टी स्याटलाइट प्रविधिलाई रोक्नु सबै देशको जिम्मेवारी हो ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३