close

लामो दूरीमा पनि गुड्न थाले विद्युतीय बस, के सस्तो होला त भाडादर ?

मेनुक्श मेनुक्श

मंसिर १, २०७८ १४:३

लामो दूरीमा पनि गुड्न थाले विद्युतीय बस, के सस्तो होला त भाडादर ?

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै अहिले विद्युतीय सवारीप्रति चासो बढेको छ । केही समय अघिसम्म काठमाडौं उपत्यका लक्षित यस्ता सवारी अब उपत्यकाबाहिर अर्थात् मध्यम र लामो दूरीका सडकखण्डमा पनि चल्न थालेका छन् ।

अहिले काठमाडौंदेखि सिन्धुलीको सदरमुकामसम्म संस्थागत र व्यक्तिगत गरी नौ वटा विद्युतीय बस सञ्चालनमा आएका छन् । विद्युतीय सवारीमा यात्रुको आकर्षण देखेपछि व्यक्तिगत तवरबाट विजयकिल्ला यातायतकाे तीनसहित अन्य चार वटा ११ सिट क्षमताका माइक्राे बस सञ्चालनमा आएको छ ।

त्यस्तै साेही सडकखण्डमा विगत दुई महिनायता सुन्दर यातायातले १९ सिट क्षमताका दुईवटा माइक्रो बस सञ्चालन गरेको छ । सुन्दर यातायातले यसअघि काठमाडौं उपत्यकाभित्र मात्रै सवारी सञ्चालन गर्दै आएको थियो ।

यसका लागि आफूहरूले काठमाडौंमा रहेको चार्जिङ स्टेसन र सिन्धुलीमा रहेको अरूकै चार्जिङ स्टेसन प्रयोग गरिरहेको कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बताए ।

अब एक महिनाभित्र सिन्धुलीका साथै भरतपुर, बुटवल र पूर्वका केही ठाउँमा आफ्नै चार्जिङ पोर्ट स्थापना गर्ने तयारी भइरहेको समेत उनले जानकारी दिए ।

काठमाडौंदेखि बुटवलसम्मका लागि ठूलो बस सेवा सञ्चालनको तयारी गरिरहेको कम्पनीले देशभरका विभिन्न सडकखण्डमा विद्युतीय बस चलाउने लक्ष्य लिएको छ ।

पछिल्लो समय पर्यावरणमैत्री र यात्रुका लागि समेत सहज हुने भएकाले विद्युतीय सवारीप्रति व्यवसायी र यात्रु दुवैको आकर्षण बढेको छ । सरकारले पनि बिजुलीबाट चल्ने सवारीका लागि प्रोत्साहन गर्ने रणनीति लिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले हालै विद्युतीय सवारीका व्यवसायीलाई सहुलियत दिन सरकार तयार रहेको बताएका छन् । त्यस्तै नेपाल विद्युत प्राधिकरणले देशमा आन्तरिक विद्युत खपत बढाउन सडकमा इलेक्ट्रिक गाडी गुडाउने अभियान नै सुरू गर्न लागेको छ ।

विस्तारै विद्युतीय सवारीमा माहाेल बनेपनि तत्काल सडकहरू विद्युतीय सवारीमैत्री नहुनाले चुनौती भने देखिन्छ । विद्युत प्राधिकरणले ६ महिनाभित्र देशभर ५० वटा चार्जिङ स्टेशन बनाउने काम भइरहेको जानकारी दिएको छ ।

साथै उसले निजी क्षेत्रले चार्जिङ स्टेशन बनाउन चाहे निःशुल्क जडान गरिदिने समेत बताएको छ ।

‘सबै ठाउँमा सेवा सञ्चालन गर्नसक्ने अवस्था छैन । स्थानीय निकाय र सरकारसँग समन्वय गरी विद्युतीय सवारी विस्तारमा निजी क्षेत्रबाट सक्दो प्रयास भइरहेको र सम्बन्धित निकायसमेत सकारात्मक देखिएको छ,’ सुन्दर यातायातका अध्यक्ष थापाले भने ।

विस्तारै अन्य रुटमा पनि माइक्रो बस र ठूला सवारी थप्ने तयारी आफूहरूले गरिरहेको उनले जनाए ।

सुन्दर यातायातले २०७६ सालको भदौ महिनाबाट चारवटा बस सञ्चालन गरेर नेपालमा पहिलाे पटक विद्युतीय बस सेवा सुरू गरेको थियो । उसले चिनियाँ कम्पनी बीएकेबाट आयात गरी ल्याएका बसहरू खरिद गरी चलाइरहेको छ ।

साथै उसले हालै २५० वटा विद्युतीय स्कुटर बजारमा ल्याएको छ ।

‘कोरोना महामारीको प्रभाव नभएको भए अहिलेसम्म ४० वटा बस सञ्चालन गर्ने योजना थियो,’ उनले सुनाए ।

यद्यपि अहिले चलिरहेका विद्युतीय बसले पनि पेट्रोलियम पदार्थबाट चल्ने सवारीले लिने भाडादरलाई नै पछ्याएका छन् । सरकारले विद्युतीय सवारीका लागि छुट्टै भाडादर निर्धारण नगरेकाले व्यवसायीले समान दरमा भाडा उठाएका हुन् ।

पर्याप्त चार्जिङ स्टेसन र अन्य पूर्वाधार तय भए भाडा सस्तो पर्ने थापाको भनाइ छ । अहिले विद्युतीय सवारीको मूल्य पनि क्रमशः घट्दो भएकाले भाडामा सहुलियत दिन सकिने उनले बताए ।

‘पहिलो पटक बस ल्याउँदा एउटाको एक करोड ७२ लाख परेको थियो र पछिल्लो पटक ल्याउँदा २० लाख कम परेको थियो । यसकारण सवारीको मूल्य घट्ने क्रम जारी छ, जसले गर्दा भाडा दरमा पनि सहुलियत हुनसक्ने छ,’ उनले भने ।

हाल विद्युतीय सवारीले उपत्यकाभित्र विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका यात्रुलाई ५० प्रतिशत छुट दिने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३