close

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ व्यवस्था

टेकपाना टेकपाना

मंसिर १, २०७८ १५:४८

एउटै मोबाइल नम्बरमा फरक कम्पनीको सेवा लिन सकिने, यस्तो छ व्यवस्था

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सहजताका लागि सेवाप्रदायक कम्पनी परिवर्तन गर्दा पनि साविककै नम्बर राख्न सकिने ‘मोबाइल नम्बर पोर्टेबिलिटी’ सम्बन्धी व्यवस्था लागू गर्ने गरी आवश्यक नियमावली तयार पारेको छ ।

‘मोबाइल नम्बर पोर्टेबिलिटी (एमएनपी) सम्बन्धी नियमावली, २०७८’ को मस्यौदा तयार गरी प्राधिकरणले परामर्शका लागि उपलब्ध गराएको हो ।

प्रयोगकर्ताले आफूले प्रयोग गरिरहेको सिमकार्डमै आफूले चाहेको नेटवर्कमा स्विच गर्नसक्ने व्यवस्थाका साथ एमएनपी सम्बन्धी नियमावली ल्याइएको छ ।

यसको अर्थ अहिले नेपाल टेलिकम, एनसेल वा स्मार्टको सिमकार्ड प्रयोग गरिरहेका ग्राहकले आफूले प्रयोग गरिरहेकै नम्बरमा कम्पनी परिवर्तन गरी सेवा लिन सक्नेछन् ।

नियमावली तयार गरी यसअघि यो प्राधिकरण बोर्डमा पेस भएको थियो । प्राधिकरण बोर्डले यो विषय संवेदनशील भएको भन्दै सार्वजनिक परामर्शका लागि एक महिना उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैका आधारमा प्राधिकरणले बुधबार नियमावलीको मस्यौदा वेबसाइटमा उपलब्ध गराएको हो । अब उक्त मस्यौदामा आएको सुझाव र रायका आधारमा प्राधिकरणले आवश्यक परिमार्जन गरी विनियमावलीलाई अघि बढाउने छ ।

मस्यौदा अनुसार एमएनपीको बोलकबोलबाट नम्बर पोर्टेबिलिटी क्लियरिङ (एनपीसी) का लागि अनुमति प्रदान गरिने छ । जसले एमएनपीका लागि आवश्यक पूर्वाधार स्थापना, सञ्चालन, व्यवस्थापन, समन्वय र मर्मतको सम्पूर्ण काम गर्नेछ ।

यदि तोकिएबमोजिम सेवा उपलब्ध गराउन नसकेको खण्डमा त्यस्ता कम्पनीको अनुमति खारेज गर्न सकिने व्यवस्थासमेत नियमावलीमा उल्लेख गरिएको छ ।

नियमावलीका अनुसार नम्बर पोर्टेबिलिटीका लागि सबै प्रयोगकर्ता योग्य हुनेछन् । तर, आफ्नो नम्बर अर्को सेवामा परिवर्तन गर्न चाहनुहुन्छ भने पुरानो सेवा प्रदायकको नेटवर्कमा ९० दिनभन्दा धेरै उक्त मोबाइल नम्बर सक्रिय भएको हुनुपर्नेछ ।

त्यस्तै, नेटवर्क परिवर्तन गर्दा उपलब्ध गराउने व्यक्तिगत जानकारी र पुरानो जानकारी पूर्णरुपमा मिल्नुपर्ने छ । साथै आफूले प्रयोग भइरहेको सेवा प्रदायकसँग कुनै पनि दायित्व रहेको हुन नहुने जनाइएको छ । त्यतिमात्रै नभएर एउटा सेवा प्रदायकले उक्त नम्बर ब्लक गरेको वा कुनै सेवा रोक लगाएको अवस्थामा पनि नेटवर्क परिवर्तन सम्भव हुनेछैन ।

साथै अदालतबाट मोबाइल नम्बर पोर्टिङ गर्न रोक नलगाएको हुनुपर्ने व्यवस्था नियमावलीमा गरिएको छ । उल्लेखित शर्तहरू पुरा गरेको खण्डमा मात्रै प्रयोगकर्ताले एउटै नम्बरमा नेटवर्क परिवर्तन गर्न सक्ने जनाइएको छ ।

त्यसका लागि ग्राहकले नम्बर परिवर्तनको अनुरोध फारम भनेर नयाँ सेवा लिन चाहेको सेवा प्रदायकको कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ ।

पोर्टिङ प्रक्रियाका लागि जुन सेवा प्रदायकको सेवा लिन चाहेको हाे, सोही सेवा प्रदायकको कार्यालयमा गएर निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । प्रापक सेवा प्रदायकले योग्य उपभोक्ताको पोर्टिङको निवेदनलाई मात्र पोर्टिङको प्रक्रियामा लैजाने जनाइएको छ ।

पोर्टिङ प्रक्रियामा गएको जानकारी दिनका लागि नेपाल क्लियरिङ हाउसले प्रयोगकर्तालाई एसएमएसमार्फत जानकारी गराउनुपर्नेछ । यस्तो एसएमएस सेवा प्रदायकले निःशुल्क रुपमा उपलब्ध गराउनुपर्ने छ ।

यसरी पोर्टिङ प्रक्रिया चलिरहँदासम्म पुरानो कम्पनीले सेवा प्रदायकको सेवा अवरुद्ध गर्न नपाउने मस्याैदामा उल्लेख छ । भने, पोर्टिङ प्रक्रिया सफल भएसँगै प्रापक सेवा प्रदायकले उपभोक्ताका लागि नयाँ सिमकार्ड व्यवस्था गर्नुपर्ने छ ।

परमार्शका लागि जारी गरिएकाे याे नियमावलीमा बाहिरबाट आएको आवश्यक राय तथा सुझावलाई समावेश गरेर पुनः प्राधिकरण बोर्डमा पेस हुनेछ ।

राय सुझाव [email protected], [email protected] मा ईमेल अथवा ०१-५३५५४७४ मा कल गरी टिपाउन सकिने छ ।

बोर्डमा पेस भएको नियमावलीमाथि आवश्यक छलफलपश्चात बोर्डले पास गरेर मन्त्रालयमा पठाउने छ । त्यसपश्चात् मन्त्रालयले विनियमावली मन्त्रीपरिषद्मा पेस गर्नेछ । मन्त्रिपरिषद्ले स्वीकृत गरेसँगै यो कानूनी रुपमा लागू हुनेछ ।

यस्तो छ नियमावलीको मस्यौदा

Mobile-Number-Portability-Niyamawali-2078-Draft

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३