close

सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि उपयुक्त कोर्ष, पढ्ने कहाँ ?

सुसन चापागाईं सुसन चापागाईं

मंसिर २, २०७८ १८:४२

सफ्टवेयर इन्जिनियर बन्न चाहनेका लागि उपयुक्त कोर्ष, पढ्ने कहाँ ?

काठमाडौं । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीलाई अब कहाँ र के पढ्ने भन्ने अन्यौलता होला । देश नै प्रविधिमय बन्दै गएको बेला विद्यार्थीका लागि सूचना प्रविधि (आईटी) विषय एक उत्तम विकल्प बन्न सक्छ ।

अहिले नेपालमै स्वदेशी तथा विदेशी विश्वविद्यालयका आईटी कार्यक्रम सञ्चालित छन् । यी शैक्षिक कार्यक्रममध्ये आज हामी पोखरा विश्वविद्यालयले सञ्चालन गरिरहेको बीई सफ्टवेयर बारे चर्चा गर्दैछौं ।

यो ४ वर्षे इन्जिनियरिङ कोर्षमा पछिल्लो समय विद्यार्थीको आकर्षण बढ्दो छ । प्रविधिमा खेल्दै र रम्दै आएका विद्यार्थीलाई सफ्टवेयर इन्जिनियर बन्ने इच्छा हुनु स्वाभाविक हो ।

सफ्टवेयर डेभेलपमेन्ट र डिजाइनमा मात्र चासो राख्ने विद्यार्थीका लागि छुट्टै कोर्ष थिएन । कम्प्युटर इन्जिनियरिङमा हार्डवेयरका विषय पनि समावेश छ । यसर्थ सफ्टवेयरमा मात्रै भविष्य देख्ने विद्यार्थीले यो कोर्ष रोज्न सक्छन् ।

हाल नेपालमा स्नातक तहमा सफ्टवेयर इन्जिनियरिङ तीन वटा कलेजमा सञ्चालन भइरहेको छ । यसअन्तर्गत पोखरा विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङ र सोही विश्वविद्यालयबाट सम्बन्धनप्राप्त कलेज गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्स (लामाचौर, पोखरा) र नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी ललितपुर, बालकुमारी) मा याे काेर्षकाे पढाइ हुन्छ ।

पोखरा विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङका डीन राजेश थगुराठीका अनुसार नेपाली सफ्टवेयर उद्योगमा आवश्यक जनशक्ति देशभित्रैबाट उत्पादन गराउने लक्ष्यका साथ यो कोर्ष सुरू गरिएको हो ।

‘धेरै हदसम्म लक्ष्यमा पुग्न विश्वविद्यालय सफल भएको छ,’ उनले भने ।

एक सफ्टवेयर इन्जिनियर बन्न आवश्यक कोडिङ, सिस्टम प्रोग्रामिङ, डिजाइनिङदेखि डेटावेस म्यानेजमेन्ट, सिस्टम अल्गोरिदमका साथै सबै क्षेत्रलाइ समेटी एक पूर्ण प्याकेजको कोर्ष डिजाइन गरिएको थगुराठीले बताए ।

साथै विश्वविद्यालयले सफ्टवेयर इन्जिनियरिङमा प्रयोगात्मक शिक्षालाई विशेष जोड दिइरहेको उनको भनाइ छ ।

‘विश्वविद्यालयले पर्याप्त ल्याबको व्यवस्था गरेको र सुरुदेखि नै विद्यार्थीलाइ वास्तविक बजारमा काम गर्न सक्ने ढंगले तयार गरेका छौं,’ उनले भने ।

उच्च मावि तह (कक्षा ११ र १२) मा १०० अंकको गणितसहित विज्ञान संकाय पढी कम्तीमा ‘सी’ ग्रेड ल्याएका विद्यार्थीले यो कोर्ष पढ्न सक्छन् ।

यी तीनवटै क्याम्पसले छुट्टाछुट्टै प्रवेश परीक्षा लिन्छन । विद्यार्थीले आफू पढ्न चाहेको सम्बन्धित कलेजको प्रवेश परीक्षा पास गर्नुपर्ने हुन्छ । त्यस्तै छात्रावृत्तिका लागि विश्वविद्यालयले छुट्टै परिक्षा लिने गरेको छ ।

पाेखरा विश्वविद्यालयस्थित स्कुल अफ इन्जिनियरिङमा जम्मा सिटको २० प्रतिशत र सम्बन्धनप्राप्त कलेजमा जम्मा सिटको ५ प्रतिशत पूर्ण छात्रावृत्तिको व्यवस्था छ ।

पीयू स्कुल अफ इन्जिनियरिङमा ४८ सिट, गण्डकी कलेज अफ इन्जिनियरिङ एण्ड साइन्समा ४८ सिट र नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजीमा ९६ सिट निर्धारण गरिएकाे छ ।

पोखरा विश्ववद्यालय स्कुल अफ इन्जिनियरिङमा यस कोर्षको पूर्ण लागत चार लाख ५० हजार र २० हजार डिपोजिट गरी जम्मा चार लाख ७० हजार रुपैयाँ लाग्ने थगुराठीले जनाए ।

पोखरास्थित गण्डकी कलेज अफ इन्जिनियरिङ एन्ड साइन्सले यो कोर्ष सन् २००२ देखि सुरु गरेको हो । ४८ विद्यार्थीका लागि सिट रहेको कलेजमा यो कोर्ष पढ्न कुल सात लाख ३२ हजार रूपैयाँ शुल्क लाग्छ ।

प्रवेश परीक्षाको मेरिट लिस्ट अनुसार छात्रवृत्ति प्रदान गरिने र गरिब तथा जेहेन्दार विद्यार्थीलाई छुट्टै छात्रवृति कोषको व्यवस्था रहेको सो कलेजका सह-प्राध्यापक अशोक पराजुलीले बताए । उननका अनुसार कलेजले विभिन्न आईटी कम्पनीसँग सहकार्य गरिरहेकाे छ ।

सफ्टवेयर इन्जिनियरले कोडिङ मात्र गर्ने हो कि अरु पनि विधामा काम गर्न सक्छन भन्ने हाम्रो प्रश्नमा उनले भने, ‘एक सफ्टवेयर इन्जिनियर बनिसकेपछि कोडिङमा मात्र भविष्य देख्नु गलत हो । कोडिङ त जोकोहीले पनि कुनै अन्य संस्थाबाट ३/४ महिने कोर्ष लिएर गर्नसक्छन् । तर एक सफ्टवेयर इन्जिनियरले सफ्टवेयर एन्ड क्वालिटी कन्ट्रोल इन्जिनियर, डेभलपमेन्ट म्यानेजर, एप्लिकेसन प्रोग्रामर एनालिस्ट, सफ्टवेयर आर्किटेक लगायतका भूमिकामा रहेर काम गर्न सक्छन् ।’

कलेजबाट सफ्टवेयर इन्जिनियरिङमा स्नातक सकेका पूर्वविद्यार्थीहरू हाल विभिन्न बहुराष्ट्रिय कम्पनीसँगै नेपाली आईटी कम्पनीमा काम गरिरहेकाे र केहीले आफैंले उद्यमशीलता सुरु गरेको उनले जनाए ।

त्यस्तै नेपालमा सबैभन्दा धेरै सफ्टवेयर इन्जिनियर उत्पादन गर्दै आएको नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले सन् २००१ देखि सफ्टवेयर इन्जिनियरिङ कोर्ष पढाइरहेको छ । हाल यस कलेजमा विद्यार्थीका लागि ९६ सिट निर्धारण गरिएको छ ।

एनसीआईटीमा सफ्टवेयर इन्जिनियरिङ पढेका विद्यार्थीहरुले देशविदेशका आईटी संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गरिरहेको सो कलेजका सफ्टवेयर विभागका विभागीय प्रमुख विरेन्द्र विष्टले बताए ।

‘विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय आईटी कम्पनीसँग लामो समयदेखि सहकार्य गर्दै आएको हुनाले सीप भएका विद्यार्थीलाई कलेज आफैंले विभिन्न कम्पनीमा रिफर गरिदिन्छ,’ उनले भने ।

कलेजमा तेस्रो बर्ष पुगेपछि सफ्टवेयरका लगभग सबै विद्यार्थी कतै न कतै इन्टर्नमा आवद्ध हुने गरेको उनले बताए ।

विद्यार्थीको सफ्टवेयर इन्जिनियरिङप्रतिको बढ्दो मोहको कारणले विगत केही वर्षदेखि भर्ना सुरु भएको केही दिनमै सिट पुरा हुने गरेको उनको भनाइ छ ।

एनसीआईटीमा विहान र दिउँसो गरी दुई सिफ्टमा ४८/४८ जना विद्यार्थीलाई पढाइन्छ । त्यस्तै याे कलेजबाट सफ्टवेयर इन्जिनियरिङ गर्न १० लाख ५० हजार शुल्क लाग्छ । त्यसमा प्रवेश परीक्षाको मेरिट लिस्ट र प्रत्येक सेमिस्टरको एकेडेमिक पर्फर्मेन्स अनुसार छात्रावृतिको व्यवस्था गरिएकाे छ ।

विद्यार्थीलाई सफ्टवेयर प्रडक्सनमा एनालाइज, डिजाइन, प्रोग्राम टेस्ट, सफ्टवेयर मेन्टेनेनन्स लगायतका क्षेत्रमा पोख्त बनाउने गरी याे कोर्ष डिजाइन भएको हो । त्यस्तै चार वर्षे इन्जिनियरिङ डिग्री सकेपछि विद्यार्थीले मास्टर्स लेभलमा इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ लगायतका विभिन्न विकल्प छान्न पाउँछन् ।

यस्तो छ पाठ्यक्रम

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३