close

‘वेद’ स्कुल सफ्टवेयर बनाउने नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय अवार्ड

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १५:३६

‘वेद’ स्कुल सफ्टवेयर बनाउने नेपाली कम्पनीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपालको शैक्षिक सफ्टेयर उत्पादक कम्पनी इन्ग्रेल्स प्राइभेट लिमिटेडले अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ ।

सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विश्वस्तरीय संस्था वर्ल्ड इन्फरमेसन टेक्नोलोजी सर्भिस अलायन्स (विट्सा) ले इन्ग्रेल्स प्रालिलाई ग्लोबल आईसीटी एक्सिलेन्स अवार्ड २०२०’ प्रदान गरेको हो ।

इन्ग्रेल्सले ‘डिजिटल अपरच्युनिटीरइन्क्लुजन अवार्ड’ विधा अन्तर्गत यो ‘मेरिट अवार्ड’ पाएको हो । वेद स्कुल सफ्टवेयरमार्फत यो कम्पनीले शिक्षण र सिकाईको क्षेत्रमा सेवा प्रदान गर्दै आएको छ ।

हालै काठमाडौंमा आयोजित ‘बीटुबी (आईसीटी बिजनेस समिट २०२१’ कार्यक्रममार्फत शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले इन्ग्रेल्सलाई यो अवार्ड वितरण गरे ।

ढाकामा सम्पन्न ‘२०२१ वर्ल्ड कंग्रेस अन आईटी’ को भर्चुअल कार्यक्रममा अन्य विधासहित यो अवार्ड नोभेम्बर १३ तारिखमा घोषणा गरिएको थियो ।

विट्साले अष्ट्रेलिया, दक्षिण अफ्रिका, क्यानडा, मलेसियासहित विभिन्न ८० भन्दा बढी देशबाट उत्कृष्ट प्रभावशाली तथा नवीन व्यवसायबाट छनोट गरी विजेता घोषणा गर्दै आएको छ ।

विट्सा ग्लोबल आईसीटी एक्सिलेन्स अवार्डले विश्वभरको ९० प्रतिशत आईसिटी बजारलाई समेट्ने हुनाले यसलाई प्रतिष्ठित अवार्डको रुपमा लिइन्छ ।

वेद स्कुल सफ्टवेयरले विद्यालय तथा कलेजहरुलाई डिजिटल रूपान्तरण गर्न एकीकृत प्रणाली उपलब्ध गराउँदै आएको छ ।

शिक्षालाई डिजिटल रुपमा पूर्ण स्वचालित गर्ने योजनाका साथ कम्पनीले सन् २०१५ देखि समान अवसर तथा सहज पहुँच युक्त शिक्षा प्रणाली विकास गरी उपलब्ध गराउँदै आएको छ ।

यस प्रणालीमा हाल सात सयभन्दा बढी शैक्षिक संस्था जोडिएका छन्, जसमार्फत प्रशासनिक तथा लेखा साथै अनलाइन कक्षा सञ्चालन, गृहकार्य व्यवस्थापन र अनलाइन परीक्षाजस्ता फिचर उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘यस सम्मानले शिक्षामा प्रविधिको प्रयोग गरी नयाँ आयाम ल्याउने हाम्रो प्रतिबद्धतालाई नयाँ ऊर्जा मिलेको छ,’ कम्पनीका सह-सस्थापक सुजित पाठकले भने, ‘हामी शिक्षा क्षेत्रलाई पूर्णरूपमा डिजिटल रूपान्तरण गरी विद्यार्थीलाई शिक्षामा सहज पहुँचका लागि थप काम गर्दै छौं ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३