close

ल्यापटप चलाउँदा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

टेकपाना टेकपाना

मंसिर ५, २०७८ १८:२४

ल्यापटप चलाउँदा भुलेर पनि नगर्नुहोस् यस्ता गल्ती

काठमाडाैं । आजको जमानामा ल्यापटप सामान्य भइसकेको छ । घर होस् वा कार्यालय, ल्यापटपले धेरै सजिलो बनाइदिएको छ । बोकेर हिँड्न सजिलो र यसभित्र धेरै सुविधा भएकाले पनि आजको सूचना प्रविधि युगमा ल्यापटप अभिन्न हिस्सा बनेको छ ।

ल्यापटप आफैंमा एउटा ठूलो लगानी हो । तर ल्यापटप चलाउने हाम्रो कतिपय नराम्रो बानीले यसलाई छिट्टै बिगार्छ । यसलाई सुरक्षित र लामो समय टिकाइराख्न चाहनुहुन्छ भने तपाईंले आफ्ना केही नराम्रा बानीलाई सुधार्नुपर्ने हुन्छ ।

ल्यापटपलाई कहिल्यै पनि काखमा नराख्नुहोस् । वास्तवमा ल्यापटपले विभिन्न किसिमका विकिरणहरु उत्सर्जन गरिरहेको हुन्छ । यी उत्सर्जनहरु मानव स्वास्थ्यका लागि निकै हानिकारक हुन्छ ।

तपाईंको महत्वपूर्ण अंगले ल्यापटपबाट आउने यस्ता अस्वस्थ इलेक्ट्रोम्याग्नेटिक विकिरण लिन थाल्याे भने गम्भीर खतरा सिर्जना हुन सक्छ ।

यस्तो बानीले तपाईंको ल्यापटपको लाइफस्पानलाई पनि घटाउने काम गर्छ । कम्प्युटरको प्रोसेसर यसको मस्तिष्क हो । यसलाई तात्न दिनु हुँदैन । यो तात्यो भने कम्प्युटर चाँडै बिग्रिने हुन्छ । प्रोसेसरको फ्यान ल्यापटपको तल्लो भागमा हुने हुँदा काखमा राख्दा त्यो तातिन्छ ।

यदि तपाईंले ल्यापटप काखमा राखेर चलाइरहनु भएको छ भने सबैभन्दा ठूला खतरा भनेकाे यसले तपाईंको प्रजनन अंगहरुलाई नराम्ररी हानी पुर्‍याउँछ, जसले प्रजनन क्षमतामा ह्रास ल्याउन थाल्छ ।

ल्यापटपले वायरलेस इन्टरनेट सिग्नल (माइक्रोवेब) ग्रहण गर्छ र वरपर इलेक्ट्राेनिक विकिरण पैदा गर्दछ । तपाईंको प्रजनन प्रणालीसँग यसको निकटताले पुरुष प्रयोगकर्ताको शुक्राणु गणना र महिलाको अण्डा निष्कासनमा जोखिम पैदा गर्न थाल्दछ ।

त्यस्तै ल्यापटपमा सफ्टवेयर अपडेट गर्ने बानी छैन भने याे तपाईंकाे अर्काे गल्ती हाे । वास्तवमा सफ्टवेयर अपडेटले तपाईंलाई सम्भावित साइबर आक्रमणबाट मात्रै रोक्दैन, ल्यापटपको ब्याट्री लाइफ र लाइफस्पान पनि राम्रो बनाउँछ ।

त्यस्तै ल्यापटपको ब्याट्री २० प्रतिशतभन्दा तल हुँदा पनि चलाउनुहुन्छ भने यो पनि तपाईंको नराम्रै बानी हो । यसले मुख्यतः ब्याट्रीको आयु घटाउने काम गर्छ ।

ब्याट्रीलाई शुन्य अवस्थामा जान नदिन तपाईंले हाइबरनेसन मोड प्रयाेग गर्न सक्नुहुन्छ । विण्डोज ल्यापटप चलाउनुहुन्छ भने ‘ब्याट्री सेभर मोड’ इनेबल गर्नुहोस् । म्याकबुक चलाउनुहुन्छ भने ‘इनर्जी सेभर मोड’ इनेबल गर्नुहोस् ।

यो फिचरको प्रयोगले २० प्रतिशतभन्दा तल ब्याट्री हुँदा ब्याकग्राउन्ड एपहरु ब्लक गर्छ भने स्क्रिन ब्राइटनेश स्वतः एडजस्ट गर्छ । साथै ब्याट्री लाइफलाई पनि यो फिचरले जोगाउँछ ।

त्यस्तै एक दिनमै धेरैपटक ल्यापटप शटडाउन गर्नुहुन्छ भने तपाईंको यो बानी पनि गलत हो । ल्यापटपलाई लाइट स्वीच जस्तो नसोच्नुहोस् । दिनमा एक पटकभन्दा बढी टर्नअफ र अन गर्नाले ल्यापटपको तापक्रममा उतारचढाव ल्याउँछ । यसबाट डिभाइसमाथि अनावश्यक भार पुग्नसक्छ ।

ल्यापटप सामान्य अवस्थामा छ भने बेलुका सुत्नुअघि एकपटक पावर अफ गर्नु नै पर्याप्त हुन्छ ।

त्यस्तै ल्यापटपको स्क्रिन सफा गर्दा ध्यान दिनुभएको छैन कि ? ल्यापटपको स्क्रिन सफा राख्न एयर कम्प्रेसर तथा विद्ययुतीय क्लिनर प्रयोग गर्न सक्नुहुन्छ । यदि तपाईंसँग यी उपाय साथमा छैन भने पानी र रुबिङ अल्कोहल लिनुहोस् ।

रुबिङ अल्कोहल बजारमा सजिलै किन्न पाइन्छ । अब चौडा किसिमको एउटा माइक्रोफाइबर कपडा लिनुहोस् । यसले कुनै स्क्र्याच नगरेरै कम्प्युटर तथा ल्यापटपको सबै किसिमका फोहरमैला तान्न सक्छ ।

त्यस्तै अर्को विशेष ध्यान दिनुपर्ने कुरा भनेकाे आफ्नो ल्यापटप कहिल्यै पनि तातो ठाउँमा नराख्नुहोस् । विशेषगरी घामबाट यसलाई जोगाउनुहोस् ।

ओभर हिट हुने ठाउँमा छ भने यसलाई तुरून्त शटडाउन गरी शितल ठाउँमा राख्नुहोस् ।

अर्को कुरा ल्यापटप तात्तिने समस्या छ भने पावर अफ नगरीकन ब्यागमा ल्यापटप नबोक्नुहुोस् ।

त्यस्तै सामान्यतया हामी ल्यापटपलाई स्क्रिनपट्टिको भागबाट समाउने गर्छौं । तर यो बानी नराम्रो हो । आफ्नो ल्यापटपलाई सुरक्षित राख्न चाहनुहुन्छ भने ल्यापटपलाई त्यसरी उचाल्ने वा समाउने गर्नुहुँदैन ।

आफ्नो ल्यापटपलाई सधै ल्यापटप ब्यागमै बोक्ने गर्नुपर्छ । ल्यापटप ब्यागमा विशेष केश हुन्छ, जसमा ल्यापटप राख्दा त्यसको संवेदनशील भागहरु सुरक्षित रहन्छन् ।

ल्यापटपमा कहिल्यै पनि एन्टिभाइरस इन्स्टल गर्न भुल्नुहुँदैन । यसले सिस्टममा आउने सुरक्षा कमजोरीबाट जोगाउँछ ।

ल्यापटपमा कहिल्यै पनि एकैपटक धेरै ट्याबहरु खोल्नु हुँदैन । यसले ल्यापटपमा भार पर्न जान्छ । यसकारण तपाईले ल्यापटपमा सधैं सीमित ट्याबहरु मात्रै खोल्ने बानी बसाउन जरुरी छ । 

कम्प्युटरमा कहिलेकाहिँ समस्या देखापरे त्यसलाई रिसेट गर्नुहोस् । विण्डाेज ल्यापटप चलाउनुहुन्छ भने सेटिङमा गएर ‘अपडेट एण्ड सेक्युरिटी’ बाट रिकभरीमा जानुहोस् ।

त्यसबाट ‘रिसेट दिस पीसी’ लेखिएको स्थानमा क्लिक गर्नुहोस् । यसो गर्दै गर्दा तपाईंले आफ्नो फाइलहरु, डकुमेन्ट तथा फोटोहरु गुमाउने जोखिम भने रहन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३