close

विश्वकै तीव्र गतिको विद्युतीय हवाइजहाज सार्वजनिक

टेकपाना टेकपाना

मंसिर ६, २०७८ २०:३४

विश्वकै तीव्र गतिको विद्युतीय हवाइजहाज सार्वजनिक

काठमाडौं । अटोमोबाइल कम्पनी रोल्स रोयल्सले विश्वकै तीव्र गतिको विद्युतीय हवाइजहाज बनाएको दाबी गरेको छ । ‘स्पिरिट अफ इनोभेसन’ नाम दिइएको यो हवाइजहाजको हालै सफल परीक्षण गरिएको छ ।

कम्पनीका अनुसार यसको अधिकतम गति ३८७.४ माइल प्रति घण्टा रहेको छ । रोल्स रोयल्सले हालै जारी गरेको विज्ञप्तिमा स्पिरिट अफ इनोभेसनले तीनवटा विश्व रेकर्ड राखेको दाबी पनि गरिएको छ ।

विज्ञप्तिमा उल्लेख भएअनुसार नोभेम्बर १६ मा भएको परीक्षणमा उक्त हवाइजहाजले १.८ माइलको दूरी ३४५.४ माइल प्रति घण्टामा तय गरेको थियो, जबकि यो भन्दा अगाडिको रेकर्डमा १३२ माइल प्रति घण्टा रहेको छ ।

त्यसैगरी ९.३ माइलको रेकर्डमा यो हवाइजहाजले १८२ माइल प्रति घण्टालाई उछिनेर ३३० माइल प्रति घण्टामा सो दूरी पार गरेको थियो ।

यी दुई रेकर्डसँगै यो हवाईजहाजले २०२ सेकण्डमै ९,८४२.५ फिटको उचाइमा पुगेको कम्पनीको दाबी छ । यो हालको रेकर्डभन्दा ६० सेकेण्डले कम हो ।

यो हवाइजहाजमा ४०० किलोवाटको विद्युतीय पाउरट्रेन ब्याट्री प्रयोग भएको छ ।

बेलायती सरकार र एरोस्पेस टेक्नोलोजी इन्सटिच्युटको आर्थिक सहयोगमा इलेक्ट्रिफिकेसन अफ फ्लाइट (हवाई यात्राको विद्युतीयकरण) प्रोजेक्ट अन्तर्गत यो हवाईजहाज निर्माण गरिएको हो ।

कम्पनीले आफ्नो रेकर्ड वर्ल्ड एयर स्पोर्टस फेडेरेसनमा दर्ता गराउने तयारी रहेको बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२