close

तपाईंको पासवर्ड ह्याक त भएको छैन ? यस्तो छ पत्ता लगाउने तरिका

टेकपाना टेकपाना

मंसिर ७, २०७८ ११:२३

तपाईंको पासवर्ड ह्याक त भएको छैन ? यस्तो छ पत्ता लगाउने तरिका

काठमाडौं । पासवर्ड कसरी सुरक्षित राख्ने भन्ने विषय सबैका लागि चिन्ताकाे विषय हो । किनभने पछिल्लो समय ह्याकिङका घटना बढिरहेका छन् । त्यस्ता घटनाबाट तपाईंलाई हालसम्म केही असर नपरेको पनि हुनसक्छ ।

तर, यति कुरा हो, तपाईंले आफ्नो अकाउन्टमा राखेका पासवर्ड ह्याकरले फेला पारिसकेका हुनसक्छन् । त्यस्तोमा कतै तपाईंको पासवर्ड ह्याक त भएको छैन ?

यदि भएको छ भने सुरक्षित पासवर्ड कसरी राख्ने भन्ने विषय सबैभन्दा महत्वपूर्ण हो । यो विषय सामान्य भएता पनि हामी धरैलाई जानकारी नहुन सक्छ । अनि हामीले ख्याल नगरिरहेका पनि हुन सक्छाैं ।

यस्तोमा गुगलले तपाईंको डेटा सुरक्षित गर्नका लागि समाधान उपलब्ध गराएको छ । भने, पासवर्ड लिक भए/नभएको जानकारीसमेत हेर्न मिल्ने अप्सन दिएको छ ।

त्यसका लागि गुगलले गुगल क्रोममा सुरक्षाका लागि ‘एक्स्ट्रा लेयर’ को रुपमा ‘गुगल क्रोम पासवर्ड चेकर’ उपलब्ध गराएको छ । जसले तपाईंले सेभ गरेर राखेका पासवर्डको अवस्थाका बारेमा जानकारी दिनेछ । 

पासवर्ड लिक भए/नभएको जानकारी लिने तरिका

यो फिचर प्रयोग गर्नुअघि एउटा कुरा भने ख्याल राख्नुपर्नेछ । त्यो हो, पासवर्ड गुगल क्रोममा सेभ भएको हुनुपर्नेछ । तपाईंले कुनै प्लेटफर्मको पासवर्ड क्रोममा सेभ गरेर राखेको खण्डमा क्रोमको सर्च बारमा गएर ‘chromeM//settings/passwords’ टाइप गर्नुहोस् । यति गरेसँगै त्यहाँ तपाईंले सेभ गरेका सम्पूर्ण पासवर्ड ईन्क्रिप्टेड फर्ममा देखा पर्नेछन् ।

उक्त पासवर्डसँगै रहेको ‘क्लिक नाउ’ मा क्लिक गरेपछि क्रोमले पासवर्ड जाँच गर्न सुरु गर्नेछ । यसले तपाईंलाई यदि तपाईंको पासवर्ड कमजोर भएको खण्डमा परिवर्तन गर्न अनुरोध गर्नेछ । पासवर्ड बलियो भएको खण्डमा पासवर्ड स्ट्रङ भनी देखाउने छ ।

नयाँ अपडेटको विषयमा जानकारी दिँदै गुगलले आफ्नो ब्लगमा लेखेको छ, ‘नयाँ फिचरको उद्देश्य साइबर आक्रमणबाट हुनसक्ने क्षतिलाई कम गर्नु हो । यसले सम्भावित साइबर आक्रमणबाट जोगिन मद्दत गर्नेछ ।’

यसरी तयार पार्नुहोस् सुरक्षित अनि बलियो पासवर्ड

क्रोमको पासवर्ड जेनेरेटरले तपाईंलाई प्रत्येक वेबसाइटका लागि बलियो र युनिक पासवर्डको विकल्प सुझाउने काम गर्दछ । यसले अकाउण्टलाई सुरक्षित बनाउनुका साथै अनधिकृत पहुँचबाट समेत रोक्ने गर्दछ ।

यसबाहेक क्रोमले तपाईंलाई पासवर्ड सम्झिराख्नुपर्ने झन्झटबाट समेत मुक्ति दिलाउनेछ । त्यसका लागि यसमा पासवर्डलाई तपाईंको गुगल अकाउन्टसँग सिंक गराउने फिचर उपलब्ध गराइएको छ ।

अब क्रोममा यो फिचर डिफल्ट रुपमा नै आइसकेको छ । तपाईं यसको प्रयोग गरेर अनलाइन अकाउन्ट बनाउँदाको समय बलियो पासवर्ड तयार पार्न सक्नुहुनेछ ।

यसका लागि सबैभन्दा सुरुमा तपाईंले क्रोमको सेटिङमा गएर सिंक फिचर इनेबल गर्नुपर्ने हुन्छ ।

अब कुनै पनि वेबसाइटमा जानुहोस् र एउटा नयाँ अकाउन्ट क्रियट गर्ने कोसिस गर्नुहोस् ।

जब तपाईं पासवर्ड बक्समा ट्याप गर्नुहुन्छ, क्रोमले स्वचालित रुपमा तपाईंलाई एउटा मजबुत पासवर्ड बनाउन सघाउनेछ ।

यदि यो विकल्प फेला पार्नुभएन भने बक्समा ट्याप गरिसकेपछि चाबी आकारमा देखा पर्ने आइकनमा क्लिक गर्नुहोस् र ‘सजेस्ट स्ट्रोङ पासवर्ड’ विकल्प रोज्नुहोस् ।

यसरी सिर्जना भएको पासवर्ड अब तपाईं कुनै पनि ठाउँमा प्रयोग गर्न सक्नुहुन्छ ।

यदि तपाईं कुनै वेबसाइटमा साँच्चिकै अकाउन्ट साइनअप गर्दै हुनुहुन्छ भने तपाईंको पासवर्ड क्रोममा आफै सेभ भएर बस्नेछ ।

यदि तपाईंले यो विकल्प देख्नु भएन भने क्रोमको सेटिङमा जानुहोस् । अब त्यहाँ पासवर्ड्स अर्थात अटो फिल लेखिएको देख्नुहुनेछ ।

त्यसमा तपाईंले ‘सेभ पासवर्ड’ वा ‘अफर टु सेभ पासवर्ड’ अप्सन देख्न सक्नुहुनेछ । त्यसलाई अन गर्नुहोस् ।

गुगल पासवर्ड जेनेरेटर फिचर कम्प्युटर तथा ल्यापटप र मोबाइल दुवै भर्सनमा सपोर्ट गर्दछ । यस हिसाबले तपाईं अलग-अलग अकाउन्टका लागि गुगल क्रोमको सहयोगमा सुरक्षित र युनिक पासवर्ड तयार पार्न सक्नुहुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२