close

डिशहोमले ल्यायो ‘क्याम्पस वाई-फाई’, भिडभाड हुने ठाउँमा उच्च गतिको इन्टरनेट दिने

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १२:१२

डिशहोमले ल्यायो ‘क्याम्पस वाई-फाई’, भिडभाड हुने ठाउँमा उच्च गतिको इन्टरनेट दिने

काठमाडौं । डीटीएच सेवा प्रदायक डिशहोमले पछिल्लो समय इन्टरनेट विस्तारमा विभिन्न प्रविधि भित्र्याइरहेको छ । यही क्रममा कम्पनीले गत सातामात्रै वाई-फाईको नयाँ प्रविधि वाई-फाई सिक्सको सुरुवात गरेको थियो ।

वाई-फाई सिक्स अर्थात् सिक्स गिगाहर्ज वेभमा आधारित वाई-फाई प्रणाली हो । कम्पनीले चिनियाँ प्रविधि कम्पनी ह्वावेसँगको सहकार्यमा वाई-फाई सिक्सको सुरुवात गरेको थियो ।

हाल नेपालमा २.४ र ५ गिगाहर्ज गरी दुई वेभमा आधारित वाई-फाई उपलब्ध रहेका छन् । त्यसमा नयाँ प्रविधि भित्र्याउँदै कम्पनीले ६ गिगाहर्ज वेभमा समेत वाई-फाई प्रयोगकर्तालाई उपलब्ध गराउने भएको हो ।

वाई-फाई सिक्स सुरु गरेको कम्पनीले सँगै ‘क्याम्पस वाई-फाई’ को पनि सुरुवात गर्ने भएको छ ।

‘ठूला महल, कलेज, विद्यालय, विश्वविद्यालय तथा ठूला विजनेश हाउस, ठूला संरचना भएका र दैनिक भिडभाड हुने स्थानमा वाई-फाई उपलब्ध गराउने गरी यो प्रविधि भित्र्याएका हौं,’ डिशहोमका सहायक जनरल म्यानेजर मनोजध्वज क्षेत्रीले भने ।

ठूला महलमा त्यहाँ उपस्थित हुने मानिसहरूलाई कनेक्ट गराउन निःशुल्क रुपमा वाई-फाई दिनुपर्ने हुन्छ । अथवा पैसा लिएर चलाउन दिनुपर्ने हुन्छ ।

त्यस्तोमा एउटै वाई-फाई नेटवर्कले महलको सम्पूर्ण एरियामा कभरेज दिनेगरी क्याम्पस वाई-फाईले काम गर्नेछ । यसको अर्थ एउटा महलमा छिरे एक ठाउँमा वाई-फाई कनेक्ट गराएसँगै महलको सम्पूर्ण स्थानमा त्यही वाई-फाईले काम गर्नेछ ।

त्यसका लागि त्यहाँको कभरेज एरिया हरेर एउटा राउटरसँगै विभिन्न एक्सेस पाेइन्ट (एपी) जडान गरिन्छ ।

क्याम्पस वाई-फाईको मुख्य डिभाइस भनेको नै एपी हो । यसले एक तलाबाट अर्को तलामा जाँदा फेरि अर्को राउटर तथा त्यसको नेटवर्कमा जोडिराख्नु पर्ने झन्झट हुँदैन ।

साथै नेटवर्क पनि सबै ठाउँमा उत्तिकै उपलब्ध हुने हुँदा इन्टरनेट एक ठाउँमा चल्ने अर्को ठाउँमा नचल्ने जस्ता समस्या पनि नहुने क्षेत्री बताउँछन् ।

उनका अनुसार यो प्रविधिमा आधारित भएर चाँडै बजारमा सेवा सुरु हुनेछ । त्यो सँगै ठूला मल, स्कुल, विश्वविद्यालयमा कक्षा अनुसार छुट्टै नेट जोड्नुपर्ने झन्झटको अन्त्य गरिदिने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२