close

९७४ मा आधारित जीएसएम सिम बिक्रीमा टेलिकमलाई रोक

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १७:३७

९७४ मा आधारित जीएसएम सिम बिक्रीमा टेलिकमलाई रोक

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले ९८ रेञ्जमा सिमकार्ड सकिएसँगै ९७६ र ९७४ मा आधारित भएर जीएसएम सिमकार्ड बिक्री सुरु गरेकोमा प्राधिकरणले ९७४ मा भने रोक लगाएको छ ।

दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले ९७४ बाट थप जीएसएम सिमकार्ड बिक्री नगर्न टेलिकमलाई निर्देशन दिने निर्णय गरेको हो ।

टेलिकमले यसअघि सीडीएमएमा प्रयोग हुँदै आएको ९७४ र ९७६ रेञ्जमा आधारित नम्बरलाई जीएसएममा रूपान्तरण गरी सिमकार्ड बिक्री सुरु गरेको थियो । त्यसमध्ये ९७४ मा आधारित भएर जीएसएम सेवा दिने विषयमा प्राधिकरणबाट स्वीकृति नलिएकाले तत्कालै उक्त कार्य बन्द गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले बिना स्वीकृत सेवा सुरु गरेको भन्दै यो पटकलाई सचेत गराउने र अब उप्रान्त यस प्रकारको कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ अनुसार कारबाही गर्ने समेत चेतावनी दिएको छ ।

‘पुनः नम्बर परिवर्तन गर्दा ग्राहकमा पर्न जाने असरलाई मध्यनजर गर्दै ९७४ रेञ्जबाट हाल वितरण भइसकेको नम्बरहरूको अलावा थप नम्बरहरू वितरण नगर्न निर्देशन दिने,’ प्राधिकरणको उक्त निर्णयमा भनिएको छ ।

तर, सँगै प्राधिकरणले ९७६ लाई भने स्थायी रूपमै प्रयोग गर्न टेलिकमलाई अनुमति प्रदान गरेको छ । यसअघि ९७६ रेञ्जलाई अस्थाई प्रयोगको लागि अनुमति प्रदान गरिएकोमा प्राधिकरण त्यसलाई स्थायी प्रयोगको अनुमति दिएको हो ।

‘नम्बरहरू प्रयोगकर्तालाई वितरण भएपश्चात उक्त नम्बर दीर्घकालिन रुपमा प्रयोग हुने भएकाले अस्थायी रुपमा प्रदान गरिएको ९७६ रेञ्ज स्थायी रुपमा प्रदान गरिएको छ,’ प्राधिकरणको निर्णयमा भनिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२