close

टेलिकमले पायो फाइभजी परीक्षण गर्ने स्वीकृति, कहिले हुन्छ सुरु ?

टेकपाना टेकपाना

मंसिर ७, २०७८ १८:१८

टेलिकमले पायो फाइभजी परीक्षण गर्ने स्वीकृति, कहिले हुन्छ सुरु ?

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) लिमिटेडले फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको छ । दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको कात्तिक २९ गते बसेको बोर्ड बैठकले टेलिकमलाई फाइभजी परीक्षणको अनुमति प्रदान गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमलाई फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिएको थियो । निर्णय भएता पनि नियामक प्राधिकरण र टेलिकम बीच तालमेल नहुँदा फाइभजी परीक्षणको विषयमा कुनै प्रगति हुन सकेको थिएन ।

फाइभजी परीक्षणको विषयमा प्राधिकरण र नेपाल टेलिकमबीच विभिन्न चरणमा छलफल भएता पनि त्यसबाट कुनै परिणाम हात लाग्न नसक्दा फाइजी परीक्षणका लागि टेलिकमलाई फ्रिक्वेन्सी दिने निर्णय हुन सकेको थिएन ।

तर अब भने टेलिकमको कार्ययोजना अनुरूप प्राधिकरणले टेलिकमलाई फाइभजी परीक्षणका लागि २६०० मेगाहर्ज ब्याण्डमा ६० मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराएको हो । ‘टेलिकमलाई फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि, २०७८ बमोजिम हुने गरी फाइभजी परीक्षणको लागि स्वीकृति प्रदान गर्ने,’ प्राधिकरणको उक्त निर्णयमा उल्लेख छ ।

निर्णय अनुसार टेलिकमले फाइभजी परीक्षणका लागि २५०० मेगाहर्जदेखि २५६० मेगाहर्जसम्म कूल ६० मेगाहर्ज फ्रिक्वेन्सी प्राप्त गर्नेछ । यसअघि टेलिकमले फाइजभी परीक्षणका लागि सरकारसँग २६०० मेगाहर्ज ब्याण्डमा सय मेगाहर्ज फ्रिक्वेन्सी उपलब्ध गराउन माग गरेको थियो ।

साथै ८०० मेगाहर्ज ब्याण्डमा समेत फाइभजी परीक्षणका लागि स्वीकृति प्रदान गर्न आग्रह गरिएको थियो । तर, प्राधिकरण बोर्डले भने ६० मेगाहर्ज फ्रिक्वेन्सी मात्रै उपलब्ध गराउने निर्णय गरेको हो । हाल आफूसँग उपलब्ध रहेको अन्य कुनै पनि फ्रिक्वेन्सीबाट समेत टेलिकमले फाइभजी परीक्षणका लागि प्राधिकरणसँग समन्वय गर्नुपर्ने निर्णय भएको छ ।

यसको अर्थ टेलिकमले आफूसँग रहेको ८०० मेगाहर्ज ब्याण्डमा आधारित भएर फाइभजी परीक्षण गर्न चाहेको खण्डमा प्राधिकरणसँग समन्वय गरेर प्रयोगमा ल्याउन सक्नेछ । साथै बोर्डले यसरी परीक्षणका लागि उपलब्ध गराएको फ्रिक्वेन्सी परीक्षण अवधि पश्चात प्राधिकरणलाई नै फिर्ता गर्नुपर्ने निर्णय समेत भएको छ ।

त्यस्तै, अन्य विषयहरू फाइभजी लगायत नयाँ प्रविधिको परीक्षण सम्बन्धी कार्यविधि, २०७८ का आधारमा तय गरिने जनाइएको छ । फाइजभी परीक्षणका लागि ल्याइएको उपकरण फिर्ता गर्नुपर्ने अवस्थामा प्राधिकरणले सम्बन्धित निकायहरूसँग सहजीकरणका लागि पहल गर्ने समेत निर्णयमा उल्लेख छ ।

टेलिकमलाई फाइभजी सेवाको परीक्षणका लागि अनुमति दिएको भएता पनि अर्को दूरसञ्चार कम्पनी एनसेलको विषयमा भने कुनै निर्णय हुन सकेको छैन । एनसेलले पनि फाइभजी परीक्षणका लागि सरकारसँग अनुमति मागेको छ । तर रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिको हालसम्म बैठक बस्न नसक्दा एनसेलको विषयमा कुनै निर्णय हुन सकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२