close

नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ता थ्रिजीभन्दा फोरजीमा धेरै

टेकपाना टेकपाना

मंसिर ८, २०७८ २०:३२

नेपालमा मोबाइल इन्टरनेट प्रयोगकर्ता थ्रिजीभन्दा फोरजीमा धेरै

काठमाडौं । पछिल्लो समय नेपालमा द्रुत गतिको मोबाइल इन्टरनेट सेवा फोरजीका प्रयोगकर्ताको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । दूरसञ्चार सेवाप्रदायकबीच फोरजी ग्राहक बढाउने प्रतिस्पर्धा र देशव्यापी रुपमा भइरहेको नेटवर्क विस्तारको प्रतिफल थ्रिजी भन्दा फोरजी प्रयोग गर्नेको सङ्ख्या धेरै पुगेको हो ।

दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरैमात्र असोजसम्मको एमआईएस प्रतिवेदन सार्वजनिक गरेको छ । जसअनुसार नेपालमा थ्रिजी भन्दा फोरजी प्रयोगकर्ताको संख्या दुई लाख भन्दा धेरैले बढी देखिएको छ ।

प्रतिवेदन अनुसार गएको असोज मसान्तसम्म नेपालमा थ्रीजी प्रयोग गर्नेको कूल संख्या एक करोड २५ लाख ८७ रहेको छ । सोही अवधिसम्म फोरजी प्रयोगकर्ताको सङ्ख्या भने एक करोड २८ लाख ६० हजार भन्दा बढी रहेको देखिन्छ ।

जुन थ्रीजीको तुलनामा दुई लाख ७३ हजारभन्दा बढी हो । यसमा सरकारी संस्था नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को हिस्सा सबैभन्दा बढी छ । तथ्याङ्क अनुसार नेपाल टेलिकमको थ्रिजी सेवा प्रयोग गर्नेहरूको सङ्ख्या एक करोड तीन लाख दुई हजार रहेको छ ।

त्यस्तै फोरजी ग्राहक ६६ लाख ३४ हजार छन् । सोही अवधिमा एनसेलका फोरजी प्रयोगकर्ता ६० लाख ५९ हजार रहेका छन्, भने थ्रीजी प्रयोगकर्ता २२ लाख ८४ हजारमात्रै छन् ।

अर्को दूरसञ्चार सेवा प्रदायक कम्पनी स्मार्ट टेलिकमको फोरजी प्रयोगकर्ता एक लाख ६७ हजार मात्रै रहेको छ । यसरी फोरजी प्रयोगकर्ता बढ्दै जाँदा नेपालको कूल जनसङ्ख्याको ११३.५७ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट पहुँच पुगेको छ ।

जसमा मोबाइल इन्टरनेटको हिस्सा ८४.६३ प्रतिशत रहेको छ भने फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको पहुँच २८.२८ प्रतिशत छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२