close

‘धेरै इन्टरनेट खपत गर्नेमा आउटसोर्सिङ गर्ने सफ्टवेयर कम्पनी अगाडि छन्’

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १४:१५

‘धेरै इन्टरनेट खपत गर्नेमा आउटसोर्सिङ गर्ने सफ्टवेयर कम्पनी अगाडि छन्’

आजको दुनियाँका लागि इन्टरनेट सबैभन्दा महत्त्वपूर्ण आधार हो । इन्टरनेटकै करण आज विश्व एउटा गाउँमा सीमित भएको छ । सामान्य मानिसमात्रै नभएर, ठूलाठूला पूर्वाधार र कम्पनी सबै इन्टरनेटमै निर्भर छन् ।

आजभन्दा २५ वर्ष अघि ई-मेल इन्टरनेटबाट सुरु भएको नेपालको इन्टरनेट विश्वको यात्रा अहिले निकै अघि पुगिसकेको छ । त्यसमा फिक्स्ड लाइन ब्रोडब्यान्ड इन्टरनेटको महत्त्व निकै धेरै छ । 

किन भने मूल्य र विश्वसनीय इन्टरनेट कनेक्टिभिटीका लागि फिक्स्ड लाइन ब्रोडब्यान्ड निर्विकल्प जस्तै छ  । विश्वसनीय र भरपर्दो इन्टरनेटको सन्दर्भमा फिक्स्ड लाइन ब्रोडब्यान्डभित्र पनि कर्पोरेट अर्थात डेडिकेटेड इन्टरनेट अझै अगाडि छ ।

त्यसमा आज भन्दा २० वर्ष अघि सुरु भएको इन्टरनेट सेवा प्रदायक सुबिसुले सन् २००१ बाटै कर्पोरेट ग्राहकलाई इन्टरनेट सेवा उपलब्ध गराउँदै आएका छ । यही कर्पोरेट इन्टरनेटको विषयमा कम्पनीका उपाध्यक्ष तथा इन्टरप्राइज बिजनेश प्रमुख अन्जन अधिकारीसँग टेकपानाले गरेको संक्षिप्त कुराकानी । 

सुबिसुको कर्पोरेट इन्टरनेटको सुरुवाती दिनलाई कसरी सम्झिनुहुन्छ ? 

त्यतिबेला नेपालमा इन्टरनेट निकै महंगो थियो । आज घरमै २५ एमबीपीएस सामान्य भइसकेको छ । तर, त्यसबेला कर्पोरेट हाउसमै २५६ केबीपीएस, ५१२ केबीपीएस इन्टरनेट जडान हुने गर्थ्यो ।

कुनै राम्रो र धरै पैसा तिर्न सक्ने कम्पनीले बढीमा एक एमबीपीएससम्मको इन्टरनेट लिने अवस्था थियो । जसका लागि ५० हजारदेखि ६० हजार रुपैयाँसम्म मासिक रुपमा बुझाउनु पर्ने हुन्थ्यो । सन् २००९ सम्म पनि नेपालको इन्टरनेटको अवस्थामा खासै परिवर्तन भएको थिएन ।

सन् २००९ सम्म पनि कर्पोरेट हाउसले एक एमबीपीएस गतिको इन्टरनेटका लागि २५ देखि ३० हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था कायमै थियो । जुन ई-मेल पठाउन, इन्टरनेट एक्स्पोलरबाट जानकारी सर्च गर्न आदिका लागि मात्रै हुन्थ्यो ।

तर त्यसबेला उपलब्ध सेवाको सुविधा तथा एप्लिकेसनको हिसाबले एक एमबीपीएस इन्टरनेट पनि निकै प्रभावकारी हुन्थ्यो । किन भने त्यसबेलाको बजार इन्टरनेटका लागि राम्रोसँग तयार भइसकेकै थिएन ।

तर, समय परिवर्तन हुँदै गयो । सन् २०१० बाट विस्तारै नेपालमा इन्टरनेटको मूल्यमा कमी आउन थाल्यो ।

विस्तारै इन्टरनेट साधारण प्रयोगकर्ताको पहुँचमा पुग्न थाल्यो । स्मार्टफोन, स्मार्टफोनमा हजारौँ एप, भिडिओ कन्टेन्ट, भिडिओ गेम, डेटा सर्भर, ठूलाठूला फाइल शेयर गर्ने माध्यम इन्टरनेट बन्दै जाँदा इन्टरनेटको खपत ठूलो मात्रामा बढ्दै गयो ।

अहिलेको बजारको अवस्थालाई कसरी लिनुहुन्छ ?  

त्यसको प्रतिफल आज वार्षिक १०–१२ हजार रुपैयाँ तिर्दा सहजै २५–३० एमबीपीएस इन्टरनेट प्रयोग गर्न सक्ने अवस्था बनेको छ । आज इन्टरनेटका लाखौँ ग्राहक छन् ।

जसमा सबै सेवा प्रदायकको आआफ्नै भूमिका रहेको छ । रिटेलतर्फ पक्कै पनि वर्ल्डलिङ्क अघि छ । कर्पोरेट अर्थात डेडिकेटेड इन्टरनेटमा सुबिसुको पनि ठूलो हिस्सा छ ।

तपाईंहरूले उच्चतम स्पिडको इन्टरनेट उपलब्ध गराइररहेका ग्राहक को हुन् ? त्यतिधेरै इन्टरनेट वास्तवमै उपयोग हुन्छ त ? 

आज कर्पोरेटतर्फ सुबिसुका तीन हजारभन्दा धेरै ग्राहक छन् । जसमा बैंक, ठूलाठूला बिजेनेश हाउस, सरकारी कार्यालय लगायत सम्पूर्ण क्षेत्रमा सुबिसुको उपस्थिति छ । उनीहरूले एक एमबीपीएस देखि दुई जीबीपीएससम्मको डेडिकेटेड इन्टरनेट प्रयोग गर्छन् ।

त्यसमा कतिपयले हामीसँग खरिद गरी पुनः अरुलाई बिक्री गर्ने इन्टरनेट सेवा प्रदायक पनि होलान् । तर, आफ्नै कम्पनीमा प्रयोगका लागि एक जीबीपीएस गतिसम्मको इन्टरनेट प्रयोग गर्ने कर्पोरेट ग्राहक पनि छन् ।

एक जीबीपीएससम्म डेडिकेटेड इन्टरनेट लिएका ग्राहकको हकमा उनीहरूले त्यसको उपयोग ९० देखि ९५ प्रतिशतसम्म गरिरहेका हुन्छन् । यसले नेपालका ठूला कम्पनीहरूमा इन्टरनेटको खपत उल्लेख्य रुपमा बढाएको छ ।

त्यसमा आउटसोर्सको काम गर्ने कम्पनीको हिस्सा बढी छ । यहाँ बसेर विदेशी कम्पनीका लागि सफ्टवेयर निर्माण गर्ने लगायत काम गर्ने कम्पनीले इन्टरनेटमा धेरै खर्च गरिरहेका हुन्छन् । उनीहरूका लागि उच्च गतिको डेडिकेटेड इन्टरनेट एकदमै आवश्यक हुन्छ ।

किन भने यहाँ बसेर विदेशमा सेवा दिनुपर्ने अवस्थामा निरन्तर फास्ट इन्टरनेटको कनेक्सन अनिवार्य छ । जसले गर्दा एक जीबीपीएस गतिको डेडिकेटेड इन्टरनेट लिने त्यस्ता ग्राहकको हकमा ९० देखि ९५ प्रतिशतसम्म इन्टरनेट प्रयोग भएको देखिनु स्वभाविक नै हुन्छ ।

कर्पोरेट इन्टरनेटको प्याकेज र मूल्य कसरी तय गर्नु हुन्छ ?

कर्पोरेट इन्टरनेटको मूल्य ग्राहकको आवश्यकता अनुसार निर्धारण हुन्छ ।  कतिपय ग्राहकले अन्तर्राष्ट्रिय ब्याण्डविथमात्रै पनि खोज्छन् । त्यस्तै, कतिपय ग्राहकले नेपालभित्रको मात्रै ब्याण्डविथ माग गरिरहेका हुन्छन् । त्यसैका आधारमा मूल्य निर्धारण हुनेगर्छ ।

यस्तो किसिमको प्रचलन सुरु भएको धेरै भएको छैन । विगत दुई वर्षबाट कम्पनीहरूले अन्तर्राष्ट्रिय व्याडविथ र आन्तरिक ब्याण्डविथ फरकफरक लिन थालेका हुन् । यसमा बुझाईले फरक पार्दो रहेछ ।

जसले प्रविधिलाई नजिकबाट बुझेका हुन्छन्, उनीहरूले आफ्नो आवश्यकता अनुसार त्यसरी ब्याण्डविथ खरिद गरिरहेका हुन्छन् । तर, यो सीमित प्रयोगकर्ताको हकमा मात्रै लागू हुन्छ ।

२५–३०–५० एमबीपीएस डेडिकेटेड इन्टरनेट लिने ग्राहकको हकमा भने त्यस्तो हुँदैन । उनीहरूले अन्तराष्ट्रिय तथा राष्ट्रिय दुवै ब्याण्डविथ प्रयोग गरिरहेका हुन्छन् । जसले गर्दा मूल्य पनि केही कम हुनजान्छ ।

आजको समयमा डेडिकेटेड अर्थात् कर्पोरेट इन्टरनेटको मूल्य कति पर्छ ?

 आज डेडिकेटेड इन्टरनेट मासिक पाँच हजार रुपैयाँदेखि माथि पर्छ । किन भने हामीले डेडिकेटेड भनेर दिएसँगै जति नै सानो किन नहोस्, सर्भिस सबैलाई एउटै खालको दिनुपर्ने हुन्छ । त्यसमा प्रयोग हुने पूर्वाधार पनि समान किसिमकै हुन्छ ।

जसले गर्दा  थोरै गतिको डेडिकेटेड इन्टरनेट लिँदा ठूलो प्याकेजको तुलनमा पक्कै पनि महङ्गो पर्न जान्छ । यदि कसैले एक जीपीपीएस सम्म ब्याण्डविथ लिन्छ भने उसले मासिक प्रतिएमबीपीएस १३ देखि १४ सय रुपैयाँमै प्रयोग गर्न सक्छ ।

आज सुबिसुको ४० जीबीपीएस भन्दा बढी इन्टरनेट कर्पोरेट क्षेत्रमा मात्रै खपत भइरहेको छ । जसमा अन्तर्राष्ट्रिय र राष्ट्रिय दुवै ब्याण्डविथ समावेश छ । 

घरायसी प्रयोजनको तुलनामा कर्पोरेट इन्टरनेटमा कम्पनीले दिने सेवा कति फरक हुन्छ ?

हाम्रो सबैभन्दा महत्त्वपूर्ण अङ्ग भनेकै सेवा हो । आम्दानीको कुरा गर्ने हो भने आज कर्पोरेट इन्टरनेट भन्दा घरायसी इन्टरनेटबाट नै धेरै हुन्छ । तर, कर्पोरेट क्षेत्र थुप्रै कारणले महत्त्वपूर्ण हुन्छ । किन भने कतिपय सेवा क्रिटिकल अर्थात संवेदनशील हुन्छन् ।

कम्पनीलाई डेडिकेटेड भनेर छुट्याएको इन्टरनेट उनीहरूले प्रयोग नगरेपनि छुट्याउनै पर्ने हुन्छ । किन भने कुन बेला कति इन्टरनेट प्रयोगमा आउँछ भन्ने कुराको यकिन गर्नै सकिँदैन । तर, रिटेल अर्थात घरायसी प्रयोजनको हकमा त्यस्तो हुँदैन ।

पिक आवर अनुसार इन्टरनेट शेयरिङ गर्ने सिस्टम बनाउन मिल्छ । त्यसैले सेवाको हिसाबले कर्पोरेट क्षेत्रमा कम्पनीहरू एकदमै केन्द्रित हुन्छन् । किन भने मूल्य अनुसारको सेवा दिनु हाम्रो पनि बाध्यता हो । सँगसँगै कुनै कम्पनी यस्ता हुन्छन्, जसमा एक मिनेट इन्टरनेट नहुँदा पनि करोडौँ घाटा हुन सक्छ ।

त्यसले गर्दा हामीले उनीहरूका लागि छुट्टै टिम खडा गरेका हुन्छौँ । जिल्ला जिल्लामा नियमित सर्भिसका लागि जनशक्ति खडा गरिएको हुन्छ । जसले कम्पनीहरूलाई आवश्यक सेवा उपलब्ध गराउँछन् ।

तपाईंहरूले इन्ट्रानेट सेवा पनि दिने गर्नु भएको छ नि होइन ? 

हो । खासगरी बैंकहरूले इन्ट्रानेट पनि प्रयोग गर्छन् । देशका सम्पूर्ण बैंकमा सुबिसुको इन्ट्रानेट रहेको छ । जसमार्फत बैंकका देशभर रहेका शाखाहरूलाई जोड्ने सिस्टमले काम गर्छ ।

त्यसका लागि पनि देशभर म्यानपावर राख्नुपर्ने बाध्यता हुन्छ । कतिपय स्थानमा आउटसोर्स गरेर पनि सेवा दिइरहेका हुन्छौँ । 

डेडिकेटेड वा कर्पोरेट इन्टरनेटमा पनि इन्टरनेट आउने/जाने समस्या हुन सक्छ । यो विषयमा तपाईंहरूको सुझाव चाहिँ के हुन्छ ?

क्रिटिकल बिजनेशहरूमा ब्याकअपको रुपमा अर्को सेवा प्रदायकको इन्ट्रानेट पनि जोडिएको हुन्छ । हामीले आफैँले पनि उनीहरूलाई ब्याकअप राख्नु सुझाव दिने गरेका छौँ । किन कि हामी सर्भिस दिने सेवा प्रदायक हौँ ।

कुनै दिन हाम्रो सर्भिसमा कमजोरी भयो भने उनीहरूले आफ्नो सेवालाई निरन्तरता दिनुपर्छ । त्यसका लागि ब्याकअप राख्नुको विकल्प हुँदैन । मानौँ १० मिनेटमै सेवा पुनःस्थापित त होला । तर त्यति बेलासम्म ठूलो क्षति भइसकेको हुनसक्छ ।

त्यसैले यस्ता सम्भावित क्षतिलाई रोक्न सानो स्तरमा भए पनि ब्याकअप राख्न आवश्यक हुन्छ । तर, कतिपय कम्पनीले यस्ता विषयलाई त्यति ध्यान दिइरहेको पाइँदैन ।

घरायसी प्रयोजनको इन्टरनेटमा जस्तो कर्पोरेट इन्टरनेटका ग्राहकबाट गाली खानुपर्ने अवस्था आउँछ कि आउँदैन ? 

हुन त आज भन्दा पाँचसात वर्ष अघि र अहिलेको परिस्थितिमा धेरै परिवर्तन आएको छ । आज प्रविधि बुझ्ने धेरै छन् । त्यसो हुँदा हामीलाई काम गर्न धेरै सहज भएको छ ।

किन भने पहिला हामीले ग्राहकलाई बुझाउनु पर्ने अवस्था थियो । अहिले विस्तारै उनीहरू आफैँ बुझेर आफ्नो आवश्यकता अनुसारको सिस्टम व्यवस्थापन गर्छन् । त्यो एउटा राम्रो पक्ष हो ।

बजारमा प्रतिस्पर्धा चाहिँ कस्तो छ नि ?

अहिले बजारमा मूल्यको प्रतिस्पर्धा एकदमै बढेको छ । सर्भिसमा हुने पर्ने प्रतिस्पर्धा मूल्यमा हुँदा कुनै दिन ठूलो समस्या आउन सक्छ । किन भने धेरै प्रयोगकर्ता मूल्यको पछाडि लागिरहेका छन् ।

सस्तो मूल्यमा इन्टरनेट पाइयो भनेर जोड्दा जडान पछिको सर्भिसलाई हामीले बिर्सिएका हुन सक्छौँ । त्यसैले कुनै दिन सर्भिस डाउन भएको खण्डमा कम्पनीले ठूलो मूल्य चुकाउनु पर्न सक्छ भन्ने धेरैले सोचिरहेका हुँदैनन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२