close

अब आईफोन प्रयोगकर्तालाई आउनेछ ह्याकिङको इमर्जेन्सी नोटिफिकेसन

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १३:३३

अब आईफोन प्रयोगकर्तालाई आउनेछ ह्याकिङको इमर्जेन्सी नोटिफिकेसन

काठमाडौं । कुनै पनि राज्य संरक्षित ह्याकिङ भएमा अब एप्पलले आईफोन प्रयोगकर्तालाई ‘इमर्जेन्सी नोटिफिकेसन’ अर्थात् आकस्मिक सूचना दिने भएको छ । ‘एप्पल  थ्रेट नोटिफिकेसन’ नाम दिइएको यो फिचर अन्तर्गत यदि कोही प्रयोगकर्ताको फोन ह्याक भएको छ भने एप्पलले त्यस्ता प्रयोगकर्तालाई ह्याकिङ भएको विषयमा जानकारी दिनेछ ।

साथै यो अवस्थामा के गर्ने भनेर सुझाव पनि दिइने कम्पनीले जनाएको छ । यस्तो नोटिफिकेसन प्रयोगकर्ताको ई-मेल वा आईमेसेजको रुपमा कम्पनीले पठाउनेछ ।

अन्य साइबर अपराधीहरूले गर्ने ह्याकिङ भन्दा राज्यबाट संरक्षित ह्याकरहरूले गर्ने ह्याकिङ केही हदसम्म जटिल अनि परिष्कृत हुन्छ । अन्य परम्परागत ह्याकिङ भन्दा राज्यबाट संरक्षित ह्याकिङमा धेरै रकम खर्च गरेर जटिल बनाइएको हुन्छ, जुन केही सीमित व्यक्तिहरूलाई लक्षित हुन्छ ।

यस प्रकारको ह्याकिङलाई ठम्याउन गाह्रो हुन्छ । राज्यबाट संरक्षित ह्याकिङहरू विशेषतः उच्च ओहोदाका व्यक्तित्वहरू, चर्चित व्यक्तिहरू लगायत संवेदनशील पदमा रहेर काम गर्ने व्यक्तिहरूको विरुद्ध प्रयोग गरिन्छ ।

एप्पलका अनुसार यसप्रकारको नोटिफिकेसन यस्तै केही सीमित व्यक्तिहरूलाई मात्र जानेछ । यसको अर्थ यो त्यस्ता व्यक्तिहरूलाई जानेछ, जसलाई पहिलेदेखि नै आफू ह्याकिङको शिकार भएको शङ्का हुने गर्छ ।

यस्ता व्यक्तिहरू आफ्नो व्यक्तित्व र कामको कारणले गर्दा ह्याकिङमा पर्ने भन्दै कम्पनीले त्यस्ता सीमित व्यक्तिहरूलाई नोटिफिकेसन पठाउने जनाएको छ । यससँगै कम्पनीले आफ्ना प्रयोगकर्ताहरूलाई यस्ता ह्याकिङबाट बच्नको लागि सचेत रहन पनि आग्रह गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२