close

नेपालका ‘टोल फ्री’, एउटा प्रदायकको नम्बरबाट अर्कोमा लाग्दैन, लागे पैसा तिर्नुपर्छ

टेकपाना टेकपाना

मंसिर १०, २०७८ १७:४५

नेपालका ‘टोल फ्री’, एउटा प्रदायकको नम्बरबाट अर्कोमा लाग्दैन, लागे पैसा तिर्नुपर्छ

काठमाडौं । सामान्यतया ‘टोल फ्री नम्बर’ भनेर सुन्दा तपाईंको दिमागमा झट्ट के आउँछ ? पक्कै पनि निःशुल्क कल गर्न पाइन्छ भन्ने नै हो ।

अझ अन्तर्राष्ट्रिय प्रचलन हेर्ने हो भने त कसैले टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उक्त नम्बरमा सबै सेवा प्रदायकको नेटवर्कबाट कल लाग्छ । त्यो पनि निःशुल्क ।

तर, नेपालको हकमा भने त्यस्तो अवस्था छैन । यहाँ त टोल फ्री नम्बर कुन कम्पनीले उपलब्ध गराएको छ भन्दा पनि कुन टेलिकम सेवाप्रदायकको नेटवर्कबाट लिइएको हो भन्ने विषय महत्वपूर्ण हुन्छ ।

किन भने यदि कुनै कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोलफ्री नम्बर उपलब्ध गराएको छ भने उसका एनसेल तथा स्मार्ट सेल प्रयोग गर्ने ग्राहकले उक्त टोल फ्रीमा कल गर्न पाउँदैनन् । 

त्यसो भए यो कस्तो टोल फ्री ? प्राधिकरणका निर्देशक अम्बर स्थापित भन्छन्, ‘अहिले हाम्रोमा जुन किसिमको टोल फ्रीको प्रचलन छ, त्यो वास्तवमा टोल फ्री नै होइन ।

किनभने हाल कुनै एउटा कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोल फ्री नम्बर उपलब्ध गरायो भने टेलिकमका ग्राहकले मात्रै प्रयोग गर्न पाउँछन्  । एनसेल र स्मार्टसेलका ग्राहकले त्यसमा कल गर्न नपाउने अवस्था छ ।’

एनसेलले ९८ बाट सुरु भएको १० नम्बर रेञ्जमै टोलफ्री नम्बर उपलब्ध गराएकाले टेलिकमबाट फोन त लाग्न सक्छ । तर, त्यसको लागि ग्राहकको सिमबाटै पैसा काटिन्छ ।

कसैकोमा कल नलाग्ने अनि कसैकोमा कल लागिहाले पनि पैसा लाग्ने भएपछि यस्तो सिस्टम वास्तवमा टोल फ्री नै नभएको उनको तर्क छ ।स्थापित अगाडि भन्छन्, ‘टोल फ्रीका लागि टेलिकमले १६६० बाट सुरु भएको ११ अङ्कमा आधारित नम्बर उपलब्ध गराउँदै आएको छ ।

त्यस्तै एनसेलले अङ्कको नम्बर वितरण गरिरहेको छ  । यसरी सेवा प्रदायक अनुसार टोल फ्री नम्बर समेत फरक नहुनु पर्ने हो । त्यसैले हामीले टोल फ्रीलाई व्यवस्थित गर्न शर्टकोड कार्यविधिबाट टोल फ्री नम्बर १० अङ्ककै हुने पर्ने र त्यसको सुरुवाती अङ्क १८०० हुनुपर्ने व्यवस्था गरेको थियौँ ।’

यसले १८०० बाट सुरु भएका सबै नम्बर टोल फ्री नम्बर हुन् भनेर पहिचान् गर्न पनि सहज हुन्छ भन्ने प्राधिकरणको उद्देश्य हो । साथै त्यस्ता नम्बरमा नेपालका सबै सेवा प्रदायकबाट फोन लाग्नुपर्ने प्रावधान पनि राखिएको छ । तर, प्रस्तावित नयाँ नम्बरमा नेपाल टेलिकमले भने केही प्रश्न उठाएको छ ।

स्थापित भन्छन्, ‘टेलिकमले हाल ११ अङ्कको टोल फ्री नम्बर प्रयोग गर्दै आएले नयाँ नम्बरमा जाँदा समस्या हुने बताएको छ । साथै अन्तर्राष्ट्रिय स्तरमा समेत ११ अङ्ककै टोल फ्री नम्बर प्रयोगमा रहेको पाइयो ।’

‘यसो हुँदा टेलिकमले केही परिमार्जनका लागि आग्रह गरेको हो । टेलिकमले गरेको उक्त आग्रहकै आधारमा हामी शर्टकोड कार्यविधिमा केही संशोधनको तयारीमा अघि बढेका छौँ । त्यसैले हाल यो कार्यविधि कार्यान्वयनमा आउन नसकेको हो ।’

कार्यविधि संशोधनका लागि प्रक्रिया अघि बढिसकेकाले बढीमा दुईतीन महिनाभित्रै यी सबै कुराको सम्बोधन हुने उनी बताउँछन् ।

‘अहिले पनि कार्यविधिमा एउटा सेवा प्रदायकले उपलब्ध गराएको टोल फ्री नम्बरमा अर्को सेवा प्रदायकको नेटवर्कबाट कल गर्दा लाग्ने गरि इन्टरकनेक्सन लागू गर्नुपर्ने प्रावधान रहेको छ । सँगसँगै रिभर्स इन्टरकनेक्सन पनि लागू गर्नुपर्ने व्यवस्था रहेको छ ।’

रिभर्स इन्टरनकनेक्सन अर्थात यदि नेपाल टेलिकमलबाट कुनै कम्पनीले आफ्ना ग्राहकलाई टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उक्त टोल फ्रीमा एनसेलका प्रयोगकर्ताको कल आउँदा हुने आम्दानीको केही हिस्सा टेलिकमले एनसेललाई उपलब्ध गराउनु पर्छ भन्ने हो ।

यसो हुँदा जुनसुकै टोल फ्री नम्बरमा कल गर्दा प्रयोगकर्ताको सिमबाट कुनै पैसा लाग्ने छैन । ‘रिभर्स इन्टरकनेक्सन सोचे जस्ता सहज नभएको राय सेवाप्रदायकबाट आइरहेको छ,’ स्थापित भन्छन्, ‘तर, हामीले कुनै पनि हालतमा यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने भनिरहेका छौँ । जब नयाँ नम्बर र नम्बर रेञ्ज तय हुन्छ, तब यी सबै कुरा समाधान हुनेछन् ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२