close

आज अन्तर्राष्ट्रिय ओलम्पियाड हुँदै

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १२:१९

आज अन्तर्राष्ट्रिय ओलम्पियाड हुँदै

काठमाडौं । बौद्धिक क्षेत्रको ओलम्पिक मानिने ओलम्पियाडलाई सबैमाझ अझ परिचित गराउने उद्देश्यसहति आज दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ओलम्पियाड सम्मेलन २०२१ हुने भएको छ ।

स्टेम फाउण्डेसन नेपालको आयोजना तथा नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्ठान, नास्ट साथै विज्ञान शिक्षक समाज नेपाल (स्टान) को सहकार्यमा याे सम्मेलन हुन लागेकाे हाे ।

नेपालमा अझै पनि ओलम्पियाडको प्रचारप्रसार भइनसकेको र सो सम्बन्धी अन्योलता हटाउन यस सम्मेलनले प्रभावकारी भूमिका खेल्ने फाउण्डेसनका संस्थापक अध्यक्ष सर्जन बीसीले बताए ।

यस कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल प्रमुख आतिथिको रुपमा रहनेछन् भने विभिन्न प्रदेशबाट समेत शिक्षा, सामाजिक विकास मन्त्रीहरु सहभागी हुनेछन् ।

विभिन्न अन्तर्राष्ट्रिय ओलम्पियाडका अध्यक्षहरुको विशेष प्रस्तुति रहने कार्यक्रम पूर्ण फलदायी रहने र विज्ञान शिक्षकहरुका लागि ओलम्पियाडको यस्तो सम्मेलनले अन्तर्राष्ट्रिय पाठ्यक्रमसँग साक्षात्कार गर्न मौका प्रदान गरेको विज्ञान शिक्षक समाज नेपालका केन्द्रीय सचिव मनोज आचार्यले बताए ।

सन् २०२२ का लागि समेत लगभग सबैजसो अन्तर्राष्ट्रिय ओलम्पियाडको रजिस्ट्रेसन खुल्ला गरिएको जानकारी सम्मेलनमार्फत सम्पूर्ण विद्यार्थी, शिक्षक, विद्यालय, अभिभावक, पत्रकार र सरोकारवालालाई आयोजकले गराउन लागेको छ ।

‘हाम्रो उद्देश्य भनेको कुनै पनि विद्यार्थीले आर्थिक अवस्था वा भूगोलको कारण यो विशेष अवसरबाट वञ्चित हुन नपरोस् भन्ने हो,’अध्यक्ष बीसीले भने ।

सम्मेलनमा देशभरबाट विज्ञानकर्मी, शिक्षक, विद्यार्थीहरु तथा प्याब्सन, एनप्याब्सन, हिसान लगायत विभिन्न सरोकारवाला संस्था, विद्यालय र कलेजका प्रतिनिधिको सहभागिता रहने आयोजकले बताएका छन् ।

खेलकुदको क्षेत्रमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई ओलम्पिक भनेजस्तै बौद्धिक क्षेत्रमा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धालाई अन्तर्राष्ट्रिय ओलम्पियाड भनिन्छ ।

विद्यालयको माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरुको विभिन्न विज्ञान विषयहरुमा हुने अन्तर्राष्ट्रिय ओलम्पियाड हरेक वर्षको जुलाईदेखि डिसेम्बर महिनासम्ममा फरक फरक राष्ट्रहरुमा आयोजना हुने गर्दछ ।

कोभिड १९ का कारण सन २०२१ को सम्पूर्ण कार्यक्रमहरु अनलाइन तथा हाइब्रिड मोडलमा नै भइरहेका छन् भने सन् २०२२ को तयारी सुरु भइसकेको छ ।

हरेक अन्तर्राष्ट्रिय ओलम्पियाडमा विद्यार्थीको सहभागिताको लागि उक्त देशको राष्ट्रिय ओलम्पियाडमा प्रतिस्पर्धा गरी उत्कृष्टको छनोटभित्र पर्नुपर्ने हुन्छ ।

परीक्षा चरण पार गरेपछि, आयोजक संस्थाका प्रतिनिधि, विशिष्ट प्रध्यापक, विज्ञ, वैज्ञानिक एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रतिनिधिको टोलिले राष्ट्रिय टोली छनोट गर्ने गर्छ ।

स्टेम फाउण्डेसन नेपालले नेपालमा ९ वटा अन्तर्राष्ट्रिय ओलम्पियाडको संयोजन गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२