close

यसरी बन्द गर्नुहोस्, आफैं प्ले हुने वेबसाइटका भिडिओ

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १३:२०

यसरी बन्द गर्नुहोस्, आफैं प्ले हुने वेबसाइटका भिडिओ

काठमाडौं । इन्टरनेटमा कयौँ वेबसाइटले अटो प्ले भिडिओ अर्थात आफैँ भिडिओ बज्ने फिचर प्रयोग गरिरहेका हुन्छन् । सामान्यतयाः यस्ता भिडिओमा विज्ञापन हुने गर्दछ, जुन ती वेबसाइटको आम्दानीको स्रोत समेत हो ।

तर कतिपय समय यस्ता भिडिओले प्रयोगकर्तालाई हैरानी दिइरहेका हुन्छन् । तपाईंले पनि पक्कै कहिल्यै यस किसिमको समस्या सामना गर्नु भएकै होला ।

यदि तपाईं आफ्नो वेब ब्राउजरमा अटो प्ले भिडिओ रोक्न चाहनुहुन्छ भने आज हामी तपाईंलाई त्यसको सजिलो उपाय बताउँदै छौँ । जसबाट तपाईं गुगल क्रोम, फायरफक्स जस्ता ब्राउजरमा वेबसाइट खोल्दा हुने भिडिओको अटो प्ले बन्द गर्न सक्नुहुनेछ ।

गुगल क्रोममा यसरी बन्द गर्नुहोस् वेबसाइट भिडिओको अटो प्लेः

गुगल क्रोममा कुनै यस्तो फिचर छैन, जसबाट अटो प्ले भिडिओ बन्द गर्न सकियोस् । बरु यसको साटो तपाईंले भिडिओ म्युट गर्न सक्नुहुन्छ ।

भिडिओ म्युट गर्नका लागि सुरुमा गुगल क्रोम खोल्नुहोस् र दायाँतर्फ रहेको तीन ओटा थोप्ला भएको बटनमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्नुहोस् ।

अब साइट सेटिङमा जानुहोस् र एडिसनल कन्टेन्ट सेटिङमा क्लिक गर्नुहोस् । त्यसबाट ‘डन्ट अलाउ साइट्स टु प्ले साउन्ड’ गर्नुहोस् । यति गरेसँगै अटो प्ले हुने भिडिओको आवाज बन्द हुनेछ ।

अर्को तरिकाः

अटो प्ले भिडिओ बन्द गर्नका  लागि क्रोम वेब स्टोरमा जानुहोस् । त्यहाँ अटोप्लेस्टपर (Autoplaystopper) एक्स्टेन्सन सर्च गर्नुहोस् । अब उक्त एक्स्टेन्सनलाई इन्स्टल गर्नुहोस् ।

मोजिल्ला फायरफक्समा के गर्ने ?

मोजिल्ला फायरफक्सले आफ्ना प्रयोगकर्तालाई अटो प्ले बन्द गर्ने सुविधा दिन्छ । यदि तपाईं यस्ता भिडिओलाई रोक्न चाहनुहुन्छ भने सुरुमा फायरफक्स ब्राउजर खोल्नुहोस् ।

अब ह्याम्बर्गर मेनुमा जानुहोस् र सेटिङमा क्लिक गर्नुहोस् । त्यहाँ रहेको प्राइभेसी एन्ड सेक्युरिटी विकल्प चयन गर्नुहोस् ।

त्यसमा तलतर्फ स्क्रोल गर्नुहोस् र अटो प्लेमा जानुहोस् । अब त्यहाँ रहेको ब्लक अडियो ओर भिडिओमा क्लिक गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२