close

साओमीका फाेन किन्नुअघि थाहा पाउनैपर्ने राम्रा र नराम्रा ५ कुरा

टेकपाना टेकपाना

मंसिर ११, २०७८ १४:१७

साओमीका फाेन किन्नुअघि थाहा पाउनैपर्ने राम्रा र नराम्रा ५ कुरा

काठमाडौं । स्मार्टफोनको बजारबाट एलजी बाहिरिसकेको छ र ह्वावे पनि अहिले बजार प्रतिस्पर्धाबाट केही पछाडि नै छ । अमेरिकामा मोटोरोलाले आश्चर्यजनक पुनरागमन गरेको छ ।

त्यस्तै ओप्पो र भिभोजस्ता ब्राण्ड विश्वव्यापी बजारहरूमा उकालो लाग्न सफल भएका छन् । विश्वको स्मार्टफोन बजारमा यो सबै उतारचढाव भइरहँदा साओमी भने विश्वको उत्कृष्ट पाँच स्मार्टफोन ब्राण्डका रुपमा टिकिरहेको छ ।

विश्वबजारमा अहिले साओमी र यस अन्तर्गतका अन्य ब्राण्डका स्मार्टफोनले पनि राम्रै स्थान ओगट्न सफल भएका छन् । यी सबैका बीच साओमी फोनको पनि आफ्नै केही राम्रा र नराम्रा पक्ष छन्  ।

अबको केही समयभित्रै साओमीको नयाँ स्मार्टफोनहरू बजारमा आउँदैछन् । यो समयमा यो ब्राण्डको राम्रा तथा नराम्रा पक्षहरू जान्न जरुरी छ, जसले तपाईंलाई फोन खरिद गर्नुअगाडि सहयोग गर्नेछ । 

साओमी स्मार्टफोनका राम्रा पक्षहरू 

१. उपयुक्त मूल्य 

साओमीका स्मार्टफोनको एउटा बलियो पक्षमध्ये एक मूल्य नै हो । विशेषगरी सुरुवाती दिनमा यसकाे कुनै पनि मोबाइल ब्राण्डले सामसङ र एप्पलको तुलनामा आधा रकमको स्मार्टफोन बनाउन सकेको थिएन ।

यही कुरालाई मध्यनजर गर्दै साओमीले बजारमा राम्रा फिचरसहित कम मूल्यमा स्मार्टफोन सार्वजनिक गरेपछि यसले बजारमा छिट्टै राम्रो स्थान बनाउन सफल भएको थियो ।

र, आज विश्वको ठूला स्मार्टफोन उत्पादनकर्ताहरूको सूचीमा साओमीले आफ्नो नाम बनाउन सफल भएको छ । सबै प्रकारका प्रयोगकर्ताको पहुँचले भ्याउने मूल्यको कारण पनि यो फोन चर्चित छ । 

२. चुनौतीपूर्ण नयाँ अनुसन्धानहरू 

सामसङ र एप्पलजस्ता ठूला स्मार्टफोन उत्पादकको बजार हिस्सा धेरै हुन सक्छ । यद्यपि उनीहरूको उत्पादनमा धेरै नयाँ परिवर्तन देख्न सकिदैँन । यी कम्पनीसँग पर्याप्त स्रोत पनि आफ्ना स्मार्टफोनका लागि नयाँ फिचरमा काम गरेको खासै देखिदैँन ।

यसको अर्थ हो, ठूला लगानीकर्ता आफ्ना उत्पादनमा नयाँ नयाँ परीक्षण गर्न डराउँछन् । किनकि उनीहरूका लागि प्रत्येक नयाँ उत्पादनले उत्तिनै नाफा कमाउन जरुरी छ ।

उदाहरणका लागि सामसङ, एप्पल, गुगलजस्ता ठूला कम्पनीले वर्षौंदेखि एकै प्रकारको चार्जिङ स्पिड आफ्नो फोनमा दिइरहेका छन् । साओमी यी कम्पनीहरू जस्तो ठूलो नभएपनि यसले प्रत्येक पटक आफ्नो फोनमा केही न केही नयाँ दिने प्रयास गर्दै आएको छ ।

जस्तो कि बजारमा ‘बेजललेस फोन’ ल्याउने पहिलो कम्पनी नै साओमी हो । त्यस्तै भिभो, ओप्पो लगायत ब्राण्डहरूमा पपअप क्यामेराको सुरुवात भएको थियो । सामसङ र ह्वावेले मात्र फोल्डेबल फोन सार्वजनिक गरेको बेला पनि साओमीले कत्ति पनि पछि नहटी फोल्डेबल फोन सार्वजनिक गरेको थियो ।

हुन त सबै फोनहरूले बजारमा राम्रो स्थान पाउन सकेन । यद्यपि यो कम्पनीले प्रत्येक पटक आफ्नो उत्पादनमा नयाँ प्रयोग गरेको पाइन्छ । 

३. हरेक प्रकारको प्रयोगकर्ताको लागि उपयुक्त 

साओमीको अर्को सबल पक्ष भनेको यसले उत्पादन गर्ने फोनको संख्या पनि हो । गत वर्षमात्र, यसले मि, रेड्मी र पोको ब्राण्डअन्तर्गत झन्डै ५० फोनहरू लन्च गरेको थियो ।

हुन त सबै देशहरूमा ती फोनहरू उपलब्ध हुदैनन्, यद्यपि साओमीको कुनै न कुनै ब्राण्ड विश्वका धेरै देशमा उपलब्ध छन् । साओमीले कुनै देश वा क्षेत्रलाई लक्षित गरेर फोन उत्पादन गर्दैन ।

उसका फोनहरू हरेक प्रकारका प्रयोगकर्तालाई लक्षित गरी बनाइएको छ । ताकि सबै खाले बजेटमा प्रयोगकर्ताले स्मार्टफोन प्रयोग गर्न पाउछन् ।

यदि तपाईंसँग राम्रो फिचर भएको साओमीको महँगो फोन किन्ने पैसा छैन भने यही कम्पनी अन्तर्गतको कम मूल्यमा राम्रो फिचर भएको रेड्मी वा पोको ब्राण्डका फोन पनि किन्न सक्नुहुन्छ ।

४. स्मार्टवाच र स्मार्टघर 

साओमी स्मार्टफोन उत्पादनकर्ताको रुपमा बजारमा आएको भएपनि यसका अन्य उत्पादनले पनि बजारमा उत्तिकै सफलता पाएको छ । आज अन्य ठूला टेक कम्पनीहरूले जस्तै यसले पनि स्मार्टवाचदेखि स्मार्ट टिभी र स्मार्ट भ्याकुम क्लिनरहरूसम्म इन्टरनेट-जडित उत्पादनहरू बजारमा ल्याएको छ ।

सबै उत्पादनमा साओमीकै नाम नरहे पनि साओमी अन्तर्गत नै विभिन्न ब्राण्ड ल्याएर हरेक प्रकारको उत्पादन प्रयोगकर्तामाझ पुगिरहेको छ । अर्को शब्दमा भन्नुपर्दा साओमीले आफ्ना उत्पादनको छुट्टै सञ्जाल बनाउँदैछ, जुन भविष्यमा एकअर्कासँग जोडिएर नै अगाडि बढ्नेछ । 

५. नयाँ पुस्ताको लागि नयाँ व्यवसायिक रणनीति 

साओमी मोबाइल उत्पादनकर्तामध्ये कान्छो कम्पनी हो, यसले आफ्नो सुरुवात पनि सानै लगानीबाट गरेको थियो । सुरुवाती समयमा साओमीसँग परम्परागत व्यवसायिक अभ्यासका लागि प्रयाप्त स्रोत र साधन थिएन । यद्यपि यतिले नै कम्पनीलाई रोकेन ।

साओमीले सुरुमा बिक्रीदेखि कस्टमर सपोर्टसम्मको कामहरू अनलाइनबाट नै सुरु गरेको थियो । पुराना उपभोक्ताका लागि यो अनावश्यक भएपनि अनलाइन कारोबारमा अभ्यस्त पुस्ताको लागि यो एउटा राम्रो अवसर बन्न पुग्यो, जसले साओमीलाई अगाडि बढ्न थप मद्दत गर्‍यो ।

आज अन्य मोबाइल कम्पनीहरूले पनि आफ्नो फोनहरू अनलाइनमार्फत बिक्री गर्ने गरेका छन् । 

साओमीको नराम्रो पक्ष 

१. कस्टमर केयर सर्भिस 

साओमीको कस्टमर केयर सर्भिसको गुणस्तरको बारेमा धेरै गुनासोहरू आउने गरेका छन् । ग्राहकका प्रश्नहरूको प्रतिक्रिया नआएको देखि लिएर मोबाइलको मर्मत समयमा नभएको वा नपाइएको सम्मका गुनासा आउने गरेका छन् ।

यसको अर्थ हो साओमीले अहिलेसम्म आफ्नो सबैभन्दा सबल पक्ष बनाउनुपर्ने कस्टमर केयर सर्भिसको राम्रो फाइदा लिन सकेको छैन ।

यद्यपि यो नितान्त कम्पनीको मात्र दोष हो भनेर भन्न सकिन्न । किनभने विभिन्न बजारहरूमा ग्राहक सेवाको व्यवस्थापन गर्ने विभिन्न कर्मचारी हुन्छन्, जसले गर्दा अनुभव फरक हुन सक्छन् । 

२. अनिश्चितता 

चिनियाँ ब्राण्डको रूपमा, साओमी चिनियाँ सरकारसँगको सम्बन्धका कारण अमेरिकाको राष्ट्रिय सुरक्षाको लागि खतरा भएको आरोपबाट अछुतो छैन । यसले गर्दा साओमीका धेरै प्रयोगकर्ताका लागि यो खतराको संकेत हुनसक्छ ।

किनभने अमेरिकाले साओमीलाई पनि जुनसुकै बेला प्रतिबन्ध लगाइदिन सक्छ । यो कुराले अमेरिकाभन्दा बाहिरका साओमीका प्रयोगकर्तालाई पनि चिन्तित बनाउन सक्छ ।

त्यसमाथि चिनियाँ सामग्रीहरू धेरै टिक्दैनन् र खराब गुणस्तरका हुन्छन् भन्ने विचारहरू पनि बजारमा पाइन्छ ।

जबकि विश्वका अधिकांश विद्युतीय सामग्रीहरूको उत्पादन चीनमा नै हुन्छ । यो गलत चित्रण पनि हुनसक्छ । यद्यपि आफ्नो उत्पादनलाई भरपर्दो बनाउन चिनियाँ कम्पनीहरुले बजारमा मिहिनेत भने गर्नैपर्छ । 

३.  धैरै विकल्प

कहिलेकाहिँ धेरै विकल्पहरू दिँदा कम्पनीलाई नै हानी गर्नसक्छ । केही मानिसका लागि धेरै विकल्पको अर्थ हुन्छ, कम्पनीले आफ्नो एउटा निश्चित बाटो बनाउन नसक्नु ।

अर्थात जस्तो पनि, अनि जुन पनि सामान उत्पादन गर्दा कम्पनीको छविमाथि नै प्रश्न उठ्न सक्छ । यसले गर्दा केही ग्राहकले कस्तो उत्पादन लिने भन्ने निर्णय लिन पनि असहज हुनसक्छ ।

साओमीले केही महिनाभित्रै धेरै मोडेलका स्मार्टफोनहरू सार्वजनिक गर्नुको अर्थ हो, ती फोनहरू एकअर्का भन्दा धेरै फरक हुँदैनन् । यसले कहिलेकाहिँ ग्राहकलाई पछुतो लाग्न सक्छ ।

किनभने एउटा किनेको केही महिनामा नै अर्को स्मार्टफोन थप फिचरसहित आउँदा ग्राहकलाई पश्चात्ताप हुनसक्छ । हुन त यो एक रणनीति हो, जसले साओमीका लागि अहिलेसम्म काम गरेको छ । तर सधैंभरी यसले मात्र काम गर्छ भन्ने हुँदैन । 

४.  सफ्टवेयर व्यवस्थापन 

साओमीको एउटा नराम्रो पक्ष भनेको यसको सफ्टवेयर व्यवस्थापन पनि हो । सामसङको ‘मियूआई’ लाई केही हदसम्म आईओएसकै रुपमा हेरिएको थियो । तर केही समयअगाडि देखि मात्र मियूआईले बजारमा आफ्नै परिचय विकास गर्न थालेको छ ।

यद्यपि अझै पनि एन्ड्रोइडको स्तरसम्म यो अझै पुग्न सकेको छैन । यद्यपि हल्का एन्ड्रोइड  मन पराउनेहरूको लागि भने यसले ओप्पो र भिभो ब्राण्डका फोनहरू बजारमा ल्याएको छ ।

अर्को कुरा भनेको साओमीले एन्ड्रोइडको अपडेटहरू समयमै दिन सक्दैन । अहिले आएर भने कम्पनीले आफ्नो नयाँ फोनहरूमा एन्ड्रोइड १२ उपलब्ध गराउने घोषणा गरेको छ । 

५. अमेरिकी बजार 

साओमीका धेरै ब्राण्डका धेरै फोनहरू विश्वका विभिन्न देशहरूमा उपलब्ध भएपनि यसले अझै अमेरिकी बजारमा भने आफ्नो स्थान बनाउन सकेको छैन । गुगलका पूर्वकार्यकारी ह्युगो बर्रालाई नियुक्त गरेपछि साओमी अमेरिकी बजारमा भित्रिने अनुमान गरिएको थियो ।

यद्यपि त्यो कहिले पनि हुन सकेन । अमेरिकामा आधिकारिक रूपमा प्रवेश गर्न साओमीलाई अहिले पनि सहज छैन । यद्यपि साओमीका विभिन्न ब्राण्डका फोनहरू अहिले पनि त्यहाँ विभिन्न माध्यमबाट भने उपलब्ध छन् ।

औपचारिक प्रवेशका लागि अमेरिका र साओमीबीच समय-समयमा छलफल भएपनि निश्चित निर्णय भने अझै हुन सकेको छैन । 

स्ल्याश गियरबाट ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२