close

यी दुर्गम क्षेत्रमा पुग्यो टेलिकमको मोबाइल सेवा, हेलिकोप्टरबाटै उपकरण ढुवानी

टेकपाना टेकपाना

मंसिर १२, २०७८ १७:११

यी दुर्गम क्षेत्रमा पुग्यो टेलिकमको मोबाइल सेवा, हेलिकोप्टरबाटै उपकरण ढुवानी

काठमाडौं । मुलुकका अत्यन्तै दुर्गम तथा विकट स्थानमा रहेका बस्तीहरूमा दूरसञ्चार र सूचना प्रविधिको पहुँच पुर्‍याउन नेपाल टेलिकमले हेलिकोप्टर प्रयोगमा ल्याउने गरेको छ । त्यसैअनुरूप कम्पनीले चालु आर्थिक वर्षमा अति दुर्गम तथा विकट आठ स्थानमा जीएसएम टुजी तथा फोरजी सेवा प्रवाह गरिएको जनाएको छ ।

सोलुखुम्बु जिल्लाको लुक्ला, स्याङबोचे (एयरपोर्ट), नाम्चेबजार र ताक्सिन्दुका साथै गोरखा जिल्लाको छेकम्पार, बिही (गज्र्याङ डाँडा) र न्याकमा हेलिकोप्टर मार्फत उपकरण ढुवानी गरी सेवा सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

यसका साथै मनाङ जिल्लाको ओडार भ्यु–प्वाइन्टमा समेत हेलिकोप्टरबाट उपकरणहरू ढुवानी गरी नयाँ टावरबाट सेवा सञ्चालन गरिएको छ ।यी टावरबाट कम्पनीले सेवाग्राहीलाई टुजी र फोरजी सेवा उपलब्ध गराएको छ ।

सोलुखुम्बुको लुक्ला साइटबाट खुम्बु पासाङल्हामु गाउँपालिकाका वडा नम्बर २ र ३ मा पर्ने लुक्ला, सुर्के, मुसे, नाजिपाङ, चौरीखर्क, स्याङमा र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा टुजी र फोरजी सेवा उपलब्ध भएको छ । स्याङबोचे एयरपोर्ट साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का बस्तीहरू र नाम्चेबजार साइटबाट वडा नम्बर ३ र ५ का नाम्चे, कोङदे, जोरसल्लो लगायतका क्षेत्रमा सेवा उपलब्ध भएको छ ।

त्यसैगरी टाक्सिन्दु साइटबाट वडा नम्बर १ का नुनथला, खरिखोला, थामडाँडा, बुप्सा, पान्गोम र सगरमाथा पदमार्ग लगायतका क्षेत्रमा दूरसञ्चार सेवा उपलब्ध भएको उल्लेख छ । कम्पनीका अनुसार गोरखाको छेकम्पार साइटबाट चुमनुब्री गाउँपालिका वडा नम्बर ४ अन्तर्गतका छेकम्पार, छोकाङसहित छिमेकी राष्ट्र चीनसँग जोडिएका पर्यटकीय क्षेत्रहरूमा सेवा उपलब्ध भएको छ ।

गोरखाकै बिही (गज्र्याङ डाँडा) मा रहेको नयाँ साइटबाट सोही गाउँपालिकाको वडा नम्बर ५ अन्तर्गत क्वाकडाँडा, बिही गाउँ, सराङ गुम्बा ल्हो, प्रोक, सामा, लार्केपाससहित मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्र र न्याक साइटबाट वडा नम्बर ३ अन्तर्गत न्याक, लिक्पा, डेंग, सिर्दिबास फिलिम, भान्सिङ र मनास्लु ट्रेकिङ रुटलगायतका क्षेत्रहरूमा पनि मोबाइल सेवा पुगेको छ ।

यस्तै मनाङको ओडार भ्यु प्वाइन्ट साइटबाट न्यासो गाउँपालिका अन्तर्गत ओडार, नाचे, थोंचे, धारापानी, तिल्चेलगायतका क्षेत्रमा कम्पनीको सेवा उपलब्ध भएको छ । यसैगरी अन्य तीन दुर्गम तथा विकट स्थानहरूमा हेलिकोप्टरबाटै सामान ढुवानी गरी निकट भविष्यमा नेपाल टेलिकमले टुजी र फोरजी सेवा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिकाको फाक्दिङ र नाचिपाङ, दार्चुला जिल्लाको व्यास गाउँपालिकाको छाङरु साइटमा टावर स्थापना गरी सेवा सञ्चालन गरिने टेलिकमले जनाएको छ ।

हाल यी स्थानहरूमा संरचना निर्माण भइरहेको छ र निकट भविष्यमै टुजी तथा फोरजी सेवा सञ्चालनमा आउने छ । सेवा सञ्चालनमा आए पश्चात यी क्षेत्रका सेवाग्राहीले गुणस्तरीय भ्वाइस तथा ड]टा सेवा प्रयोग गरी लाभ लिन सक्नेछन् ।

तुलनात्मक रुपमा लगानी बढी हुने तर व्यावसायिक रुपले प्रतिफल प्राप्त नहुने यस्ता अति दुर्गम र विकट स्थानहरूमा समेत नेपाल टेलिकमले दूरसञ्चार सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।                                                                                                                         

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२