close

अवैध माेबाइल रोक्ने सफ्टवेयर यही महिनाभित्रै लागू हुने प्राधिकरणको दाबी

टेकपाना टेकपाना

मंसिर १५, २०७८ १३:४४

अवैध माेबाइल रोक्ने सफ्टवेयर यही महिनाभित्रै लागू हुने प्राधिकरणको दाबी

काठमाडौं । यही महिनाको अन्त्यबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रुपमा कार्यान्वयनमा आउने नेपाल दूरसञ्चार प्राधिकरणले दाबी गरेको छ । आयोजित नेपाल मोबाइल बितरक संघको दोस्रो राष्ट्रिय महाधिवेशनमा बुधबार बोल्दै नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले एमडीएमएसको तयारीबारे जानकारी दिएका हुन् ।

‘संस्थाको कानूनी अधिकारभित्र रहेर यही महिनाभित्र एमडीएमएस लागू गरी मोबाइल बजार व्यवस्थित गर्ने हामी प्रतिबद्ध छौं,’ उनले भने, ‘अबैध फोन आयातलाई रोक्न एमडीएमएस लागू गर्ने अन्तिम तयारी भइरहेको छ । कोरोना भाइरसका कारण सिस्टम लागू गर्न ढिलाइ भयो । यही महिनाको अन्तिममा यसलाई हामीले पूर्ण रुपमा लागू गर्छौ ।’

यसअघि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले गत साउनदेखि अनधिकृत मोबाइल नियन्त्रण गर्न एमडीएमएस सञ्चालनमा ल्याएको थियो । सिस्टम सञ्चालनमा आएकाे भए पनि आईएमईआई दर्ता भन्दा बाहेक अन्य काम सुरु हुन सकेको छैन ।

सर्भर सिस्टम तयार नभएको, कतिपय सामान अझै विदेशबाट आउनै बाँकी रहेकाले आईएमईआई नम्बर दर्ता नभएका मोबाइल नचल्ने बनाउन सक्ने गरी सिस्टमले काम गरेको छैन ।

यसैबीच, गएको भदौमा एमडीएमएस अन्तर्गत आयात मोड्युल (मोबाइल आयातकर्ताको सिस्टममा पाउने पहुँचको विषय) थप भएको थियो ।

एमडीएमएस सिस्टममा नियामकसँगै भन्सार, प्रहरी, मोबाइल सेवाप्रदायक र आयातकर्ता कम्पनीको पहुँच हुनेछ । त्यसमध्ये आयात मोड्युल सञ्चालनमा आएपनि अन्य मोड्युलको काम भइरहेको छ । यो सबै मोड्युल सञ्चालनमा ल्याएर सिस्टम यही महिनाको अन्त्यबाट पूर्ण रुपमा सञ्चालनमा आउने निर्देशक अर्यालले बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२