close

सामसङका स्मार्टफोनमा नयाँ सफ्टवेयर अपडेट, यस्ता छन् आकर्षक फिचर

टेकपाना टेकपाना

मंसिर १६, २०७८ १८:४०

सामसङका स्मार्टफोनमा नयाँ सफ्टवेयर अपडेट, यस्ता छन् आकर्षक फिचर

काठमाडौं । सामसङले आफ्ना स्मार्टफोनका लागि नयाँ सफ्टवेयर अपडेट ल्याएको छ । डिजाइन, गोपनीयता र सुरक्षासम्बन्धी नयाँ फिचर समावेश गर्दै कम्पनीले ‘वान यूआई ४’ सार्वजनिक गरेको हो ।

यसको स्टेबल भर्सन केही समय अघिमात्रै सार्वजनिक भएको थियो । जुन ग्यालेक्सी एस २१, ग्यालेक्सी एस २१ प्लस र ग्यालेक्सी एस २१ अल्ट्रा सिरिजमा पहिलो चरणमा उपलब्ध हुनेछ ।

यीमध्ये केही डिभाइसमा अहिले नै उपलब्ध भइसकेको छ । भने, डिसेम्बरभित्र ‘एस’ सिरिजका सम्पूर्ण स्मार्टफोनमा उपलब्ध हुने जनाइएको छ ।

प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न र उनीहरूको गोपनीयतालाई मध्यनजर गर्दै कम्पनीले यूआई ४ सार्वजनिक गरेको हो । जसमा धेरै नयाँ फिचर उपलब्ध भएका छन् ।

वान यूआई ४ ले प्रयोगकर्तालाई आफ्नो मनपर्ने कलरसँग खेल्ने अवसर प्रदान गर्दछ । यसको अर्थ तपाईंले कुनै वालपेपर परिवर्तन गर्नुभयो भने मोबाइलको होमस्क्रिनदेखि आइकनहरु, मेन्यु, बटन र पृष्ठभूमि सबै सोही कलरको हुनेछ ।

त्यतिमात्रै नभएर तपाईंले म्यानुअल रुपमा कलर छनोट गर्ने विकल्प पनि रहेको छ ।

यो हुँदा तपाईंले बोक्ने मोबाइल र अन्य प्रयोगकर्ताले बोक्ने एउटै मोबाइलमा फरक देखिने छ । यसका साथै सामसङ किबोर्डमा पनि उल्लेख्य परिवर्तन भएको छ ।

अब तपाईंले सामसङको किबोर्डमार्फत दुई फरक इमोजीलाई जोडेर एकैपटक पठाउन सक्नुहुन्छ । त्योभन्दा पनि महत्वपूर्ण फिचर भनेको ‘लक स्क्रिन’ हो ।

अब तपाईंले स्क्रिन लक भएको समयमा पनि गीत परिवर्तन गर्न, बज्दै गरेको गीत फरवार्ड र ब्याकवार्ड गर्न, स्क्रिन लक भएकै समयमा साउण्ड रेकर्ड गर्न, मोबाइलबाटै गीत सुन्ने की एयरफोन अथवा एयरबर्डबाट गीत सुन्ने छनोट गर्न समेत सकिने भएको छ ।

यसका साथै नयाँ यूआईसँगै सामसङका मोबाइलमा ‘डाइनामो’ फिचर पनि उपलब्ध भएको छ । यसमार्फत प्रयोगकर्ताले मोबाइलमा केही समस्या छ वा छैन ? समस्या भएको खण्डमा कुन पार्टमा समस्या छ भनेर पनि सहजै हेर्न सक्नेछन् । सँगै प्रोटेक्ट ब्याट्री फिचर पनि उपलब्ध भएको छ ।

यो फिचर अन गरसँगै तपाईंले रातभर मोबाइल चार्जमा राख्दा पनि ८५ प्रतिशत भन्दामाथि चार्ज हुँदैन । यसले मोबाइलको ब्याट्री ओभर चार्ज भएर बिग्रिने जस्ता समस्या नआउने दावी कम्पनीको छ ।

साथै नयाँ यूआईमा डार्क मोडलाई अझ प्रभावकारी बनाइएको छ । यो सँगै यदि तपाईंले मोबाइलमा डार्क मोड अन गर्नुभएको खण्डमा मोबाइलमा उपलब्ध एपको लाइट पनि स्वतः कम हुनेछ ।

क्यामेरामा इन्स्ट्यान्ट भिडिओ फिचर उपलब्ध भएको छ । यसको अर्थ अब तपाईंले फोटो खिच्दाखिच्दै बीचमा भिडिओ समेत लिन सक्नुहुनेछ । भने, जुम फिचरमा पनि नयाँ फिचर उपलब्ध भएको छ । 

गोपनीयता 

सामसङ यूआई ४ मा गोपनीयताका लागि नयाँ फिचर उपलब्ध गराइएको छ । हाल तपाईंलाई मोबाइल प्रयोग गर्दै गर्दा कतै म मेरै क्यामेराबाट निगरानीमा छु कि ? मैले बोलेको कुरा मेरा मोबाइलको माइक्रोफोनबाट कसैले सुनिरहेको छ कि भन्ने पनि लाग्न सक्छ ।

यस्तोमा प्रयोगकर्ताको गोपनियताको लागि नयाँ यूआई ४ मा कुन एपले तपाईंको क्यामेरा वा माइक्रोफोनमा काम नपर्दा पनि पहुँच राखिरहेको छ भन्ने जानकारी दिन्छ । त्यसमार्फत तपाईंले एपलाई क्यामेरा वा माइक्रोफोनमा पहुँच दिने/नदिने नियन्त्रण गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२