close

गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १३:१६

गुगल क्रोम प्रयोग नगर्न माइक्रोसफ्टको चेतावनी

काठमाडौं । विण्डाेजमा हुने आफ्नै डिफल्ट वेब ब्राउजर ‘माइक्रोसफ्ट एज’ को प्रयोग बढाउन माइक्राेसफ्टले नयाँ उपाय रचेकाे छ । कम्पनीले विण्डाेज प्रयोगकर्तालाई गुगल क्रोम र अन्य ब्राउजर डाउनलाेड नगर्न चेतावनीमूलक सन्देश दिन थालेकाे छ ।

इन्टरनेट एक्सप्लोररलाई विस्थापित गर्दै माइक्रोसफ्टले सन् २०१५ मा माइक्रोसफ्ट एज प्रचलनमा ल्याएको हाे ।  हुन त यो ब्राउजर पनि प्रयोगकर्ताबीच उत्तिकै चर्चित छ ।

यद्यपि इन्टरनेट ब्राउजरको बजारमा ५० प्रतिशतभन्दा बढी हिस्सा गुगल क्रोमको छ । क्रोमको बजार चिर्न माइक्रोसफ्टले एज प्रयोगकर्तालाई अन्य ब्राउजर डाउनलोड नगर्न सुझाव दिन थालेको छ ।

अन्य ब्राउजरभन्दा एज बढी भरपर्दो र उपयुक्त भएकाे माइक्रोसफ्टको दाबी छ ।

अहिले यदि तपाईं विन्डोज १० वा विन्डोज ११ प्रयोग गर्नुहुन्छ भने माइक्रोसफ्ट एजमा गएर ‘डाउनलोड गुगल क्रोम’ भनेर टाइप गर्दा स्क्रिनको माथि नै ‘देर इन नो निड टु डाउनलोड न्यु वेब ब्राउजर’ अर्थात ‘नयाँ वेब ब्राउजर प्रयोग गर्न जरूरी छैन’ भन्ने सन्देश देखिन्छ ।

सो सन्देश भएको बक्समा छिटो, सुरक्षित र आधुनिक वेब अनुभवका लागि माइक्रोसफ्ट नै उपयुक्त भएको उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२