close

ट्वीटरले बन्द गर्‍यो चिनियाँ सरकार समर्थित २ हजार बढी अकाउन्ट

टेकपाना टेकपाना

मंसिर १७, २०७८ १९:०

ट्वीटरले बन्द गर्‍यो चिनियाँ सरकार समर्थित २ हजार बढी अकाउन्ट

काठमाडौं । ट्वीटरले दुई हजारभन्दा बढी चिनियाँ प्रयोगकर्ताको अकाउन्ट बन्द गरेकाे छ । सरकारी वा राज्यसम्बद्ध जानकारीलाई प्रोपगान्डाको रुपमा फैलाएकाे भन्दै ट्वीटरले ती अकाउन्ट सधैका लागि बन्द गरिदिएकाे हाे ।

यसरी अकाउन्ट बन्द हुनेमा चीनबाहेक अन्य पाँच देशका प्रयोगकर्ता छन् । बिहीवार सूचना जारी गर्दै ट्वीटरले चीन, मेक्सिको, रूस, तान्जानिया, युगान्डा र भेनेजुयलाका कुल ३,४६५ प्रयोगकर्ताको अकाउन्ट बन्द गरेकाे जानकारी दिएको हो ।

यसमध्ये २,१६० चिनियाँ प्रयाेगकर्ताकाे अकाउन्ट बन्द भएकाे छ । चिनियाँ कम्युनिस्ट पार्टीले सिनजियान सहरमा गरेको सार्वजनिक स्वास्थ्यसम्बन्धी कार्यक्रमको प्रचारप्रसार गरेकाले २,०४८ जना प्रयोगकर्ताको अकाउन्ट बन्द भएको छ ।

त्यस्तै सिनजियाङको क्षेत्रीय सरकारद्धारा संरक्षित निजी कम्पनी चाङ्ग्यु संस्कृति (वाइन खाने संस्कृति) को बारेमा सामग्रीहरू पोस्ट गरेको भन्दै ११२ अकाउन्ट बन्द भएको छ ।

मेक्सिकोका २७६ प्रयोगकर्ताको अकाउन्ट राजनीतिक दलको समर्थनमा सामग्री पोस्ट गरेका कारण बन्द गरिएको छ । ती अकाउन्ट अनधिकृत पनि भएको ट्वीटरको भनाइ छ ।

त्यस्तै ट्वीटरले रूसका ६६ जनाको अकाउन्ट बन्द गरिदिएको छ । अफ्रिकी सरकारको सूचना प्रोपगान्डाको रुपमा फैलाउन खोजेको भन्दै रुसका १६ प्रयोगकर्ताको अकाउन्ट ट्वीटरले बन्द गरेको हाे ।

त्यस्तै रुसकै ५० प्रयोगकर्ताको अकाउन्ट रूसको भू-राजनीतिक स्थितिको समर्थनमा आवाज उठाउँदै लिबिया र सिरियाको सरकारको विरुद्धमा लक्षित गरी सामग्री पोस्ट गरेको भनेर बन्द गरिएको छ ।

तान्जिनियाका २६८ वटा अकाउन्ट ‘फिचुआतान्जानिया’ र यसको संस्थापकका सदस्य र समर्थकलाई लक्षित गर्दै ट्वीटरको विषयमा समेत गलत रिपोर्ट पेस गरेको भनेर बन्द गरिएको छ ।

त्यस्तै ट्वीटरले राष्ट्रपतिलाई समर्थन गर्न प्रयोग भएका युगान्डाका ४१८ वटा अकाउन्ट बन्द गरेकाे छ भने भेनेजुएलाका २७७ जनाको अकाउन्ट सरकारी गतिविधिलाई बढावा दिन ह्यासट्याग तथा छलफलहरू सुरु गरेको भन्दै बन्द गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२