close

आईटी क्षेत्रका आकर्षक जागिर, कति होला तलब ?

टेकपाना टेकपाना

मंसिर १८, २०७८ ११:१०

आईटी क्षेत्रका आकर्षक जागिर, कति होला तलब ?

काठमाडौं । पेशाको रुपमा पछिल्लो समयमा सूचना प्रविधि क्षेत्र राम्रो आकर्षणको विषय बनेको छ । सूचना प्रविधिको क्षेत्रमा भइरहेको विकास र राम्रो आम्दानीको अवसरले गर्दा पनि यो क्षेत्रमा काम गर्न आकर्षित हुनेहरूको संख्या पनि बढ्दै गएको छ ।

यद्यपि सूचना प्रविधि क्षेत्रमा काम गर्नको लागि कसरी सुरुवात गर्ने भन्ने विषयमा सबैलाई जानकारी नहुन पनि सक्छ । अथवा यो क्षेत्रको दायरा कति छ भन्ने विषयमा अविज्ञ भएपनि यसप्रति आकर्षित हुनेहरूको संख्या धेरै छ ।

हुन त धेरैजसो सूचना प्रविधिसँग जोडिएका रोजगारीमा सम्बन्धित क्षेत्रको ज्ञान, सीप सँगै सिस्टम एनलाइसिस, स्नातक तह उत्तीर्ण गरेको पनि हुनुपर्छ । केहीले आफ्नो सीपको दायरालाई बढाउन बिजनेस पनि पढेका हुन्छन् । यद्यपि सूचना प्रविधिसँग जोडिएको क्षेत्रमा काम गर्नको लागि सो सँग सम्बन्धित पढाइ मात्र हुनुपर्छ भन्ने पनि छैन ।

यस क्षेत्रसँग सम्बन्धित सीप, ज्ञान र बुझाई हुनु एकदमै आवश्यक छ । नेपालमै धेरै यस्ता व्यक्तिहरू छन्, जसले फरक विषय पढेको भए तापनि सूचना प्रविधिको क्षेत्रमा अब्बल रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन् । 

सूचना प्रविधि क्षेत्रको आम्दानी 

विगत केही समयमा कम्प्युटर तथा आईटी क्षेत्रका रोजगारीले अन्य क्षेत्रको रोजगारीलाई छायाँमा पारेको छ, विशेष गरि पछिल्लो पुस्तामा । प्रविधिसँगै हुर्केको पुस्ता प्राविधिक क्षेत्रमा नै आफ्नो भविष्य बनाउने होडबाजीमा छ ।

झन् यसक्षेत्रको आम्दानीले उनीहरूलाई निकै आकर्षित र उत्साहित पनि बनाउने गर्छ । अन्तर्राष्ट्रिय स्तरमा हेर्ने हो भने सूचना प्रविधि क्षेत्रमा काम गर्ने मान्छेहरूको वार्षिक औसत तलब  करिब ९१ हजार २५० अमेरिकी डलर अर्थात् करिब एक करोड रुपैयाँ हाराहारीमा हुन्छ । 

नेपालमा भने सूचना प्रविधिको क्षेत्रमा काम गर्ने कर्मचारीहरूको तलब न्यूनतम ४०,००० रुपैयाँदेखि अधिकतम एक लाख रुपैयाँ भन्दा बढी हुने गरेको छ । स्यालरी एक्सप्लोररका अनुसार न्यूनतम तबल ४२,००० रुपैयाँ, औसतमा ८१ हजार १०० रुपैयाँ र अधिकतममा एक लाख ३२ रुपैयाँ रुपैयाँ तलब रहेको छ ।

आजभोलि सूचना प्रविधि सम्बन्धी बढ्दो चेतनाका कारण पनि निजीदेखि सरकारी कार्यालयहरूमा आईटी अधिकृतहरूको माग पनि बढेको छ । यसले गर्दा सूचना प्रविधि क्षेत्रमा जागिर गर्छु भन्नेहरूको लागि बजार निकै ठूलो छ । 

आईटीका कार्यक्षेत्रहरू 

आईटी क्षेत्र सुन्दा सानो लागे पनि यसको दायरा निकै नै फराकिलो छ । सूचना प्रणाली व्यवस्थापनदेखि लिएर साइबर सुरक्षा, सफ्टवेयर डेभलपमेन्ट जस्ता कामहरू यसअन्तर्गत पर्दछ । यद्यपि यस क्षेत्र अन्तर्गत पनि विश्वले राम्रो मानेका केही कार्यपदहरू रहेका छन् । जसको विषयमा आज हामी चर्चा गर्नेछौं ।  

कम्प्युटर एण्ड इन्फर्मेसन सिस्टम म्यानेजर 

कम्प्युटर एण्ड सिस्टम म्यानेजर कम्पनीको सम्पुर्ण आईटी विभागको जिम्मेवारी पाउने पद हो । अन्य आईटी अफिसरहरूको काम बाडँफाड, टिम व्यवस्थापनदेखि लिएर संस्थाको अन्य प्राविधिक समस्याहरूको विषयमा जाँच गर्ने, कम्पनीको तर्फबाट अन्य कम्पनीहरूसँग छलफल सहित बैठकहरूमा सहभागी हुने लगायतका जिम्मेवारी म्यानेजरको हुन्छ ।

टिमले नेटवर्क सुरक्षा, सफ्टवेयर व्यवस्थापन लगायतका कामहरू गर्ने गर्छन् । सामान्य रुपमा यस्तो कर्मचारीलाई आईटी म्यानेजर अथवा चिफ इन्फर्मेसन कम्युनिकेसन अफिसर भन्ने गरिन्छ ।

यस्ता कर्मचारीको तलब सामान्य रुपमा ५५ हजार रुपैयाँ देखि एक लाख ५० हजार रुपैयाँ सम्म हुनेगर्छ । स्यालरी स्केलले भने न्यूनतम ५२ हजार रुपैयाँदेखि एक लाख ३२ हजार रुपैयाँ सम्म हुने बताएको छ ।

यद्यपि यो औसत रकम मात्रै हो । कम्पनीको स्तर हेरेर यो पदमा तीन लाखदेखि चार लाख रुपैयाँ सम्म पनि तलब हुने गर्छ । 

कम्प्युटर एण्ड इन्फरमेसन रिसर्च साइन्टिस्ट 

सामान्य भाषामा भन्नु पर्दा कम्प्युटर एण्ड इन्फरमेसन रिसर्च साइन्टिस्टले विशेषगरी प्रविधि सम्बन्धी समस्याहरू पत्ता लगाएर त्यसको सामाधान खोज्ने काम गर्दछन् । त्यस्तै उनीहरूले नयाँ प्रविधि लगायत नयाँ कम्प्युटिङ भाषाहरू प्रतिपादन गर्ने कामहरू पनि गर्नुपर्ने हुन्छ ।

उनीहरूको मुख्य काम भनेको कम्प्युटिङ समस्याहरू सामाधान गर्ने नै हो । यो पदको लागि सम्बन्धित विषयमा कम्तिमा पनि स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्छ । अन्तर्राष्ट्रिय स्तरमा यो पदको लागि वार्षिक तलब करिब एक लाख २६ हजार ८३० अमेरिकी डलर अर्थात करिब डेढ करोड रुपैयाँ भन्दा बढी हुन्छ । 

कम्प्युटर नेटवर्क आर्किटेक 

कम्प्युटर नेटवर्क आर्किटेकहरूले कम्पनीको लागि कम्युनिकेसन नेटवर्कहरू डिजाइन गर्ने काम गर्दछन् । सानो नेटवर्कदेखि क्लाउड कम्प्युटिङ प्लेटफर्मसम्मको लागि उनीहरूले डेटा कम्युनिकेसन सिस्टम बनाउने काम गर्ने गर्दछन् ।

यस्ता आर्किटेकहरू विशेष गरी कम्प्युटर साइन्स, इन्फर्मेसन सिस्टम, नेटवर्क सेक्युरिटी, डेटाबेस एड्मिनिस्ट्रेसन तथा सिस्टम एडमिनिस्ट्रेसन लगायतका विषयहरू पढेका हुन्छन् । अन्तर्राष्ट्रिय स्तरमा उनीहरूको तलब वार्षिक रुपमा करिब एक लाख १६ हजार अमेरिकी डलर भन्दा माथि हुने गर्छ । 

सफ्टवेयर डेभलपर 

सामान्यतया यो हामीले सुनिरहेकै काम हो । सफ्टवेयर डेभलपरहरूले कम्पनी तथा आफ्नो क्लाइन्टको आवश्यकता अनुसार सफ्टवेयरहरू बनाउने काम गर्छन् । सफ्टवेयर डेभलपरहरू विशेषगरी सफ्टवेयर इन्जिनियर, टेस्टर तथा प्रोग्रामरहरूसँग नजिक रहेर काम गर्छन् ।

सफ्टवेयर मेन्टेनेन्स लगायत अपडेटका कामहरू पनि यस अन्तर्गत पर्ने गर्छन् । अन्तर्राष्ट्रिय स्तरमा सफ्टवेयर डेभलपरहरूको वार्षिक रुपमा औषत आम्दानी एक लाख १० हजार अमेरिकी डलर अर्थात करिब एक करोड ३० लाख रुपैयाँदेखि माथि हुने गर्छ । 

सफ्टवेयर क्वालिटी अस्योरेन्स एनालिस्ट एण्ड टेस्टर 

सफ्टवेयर क्वालिटी अस्योरेन्स एनलिस्ट एण्ड टेस्टरले सफ्टवेयर प्रोग्रामहरूको समीक्षा गर्ने तथा समस्याहरू पत्ता लगाउने काम गर्छन् । सफ्टवेयरको गुणस्तर जाँच गरेर त्यसमा भएको समस्याको बारेमा सफ्टवेयर डेभलपर अथवा सफ्टवेयर इन्जिनियरहरूलाई रिपोर्ट गर्ने काम टेस्टरको हुन्छ । अन्तर्राष्ट्रिय बजारमा यो काम गर्ने कर्मचारीहरूले वार्षिक रुपमा एक लाख अमेरिकी डलरभन्दा माथि कमाउने गर्दछन् । 

इन्फरमेशन सेक्युरिटी एनालिस्ट

इन्फरमेसन सेक्युरिटी एनालिस्टले महत्त्वपूर्ण डेटाहरूलाई साइबर आक्रमणबाट जोगाउनको लागि सुरक्षा प्रणालीमा काम गर्ने गर्दछन् । उनीहरूले भविष्यमा आइपर्ने साइबर आक्रमणहरूबाट बच्नको लागि पनि सुरक्षा चुनौतीहरूको अध्ययन, अनुसन्धान तथा विश्लेषण गर्छन् ।

साइबर विज्ञको हिसाबले उनीहरू साइबर सुरक्षाको नयाँ ट्रेन्ड लगायत सेक्युरिटी अपडेटहरूको विषयमा जानकार हुन आवश्यक हुन्छ । यस्ता कर्मचारीहरूको अन्तर्राष्ट्रिय स्तरमा न्यूनत वार्षिक एकलाख अमेरिकी डलर भन्दा बढी आम्दानी हुने गर्दछ । 

यी लगायत यो क्षेत्रमा डेटाबेस एड्मिनिस्ट्रेटर, कम्प्युटर सिस्टम एनलिस्ट, कम्प्युटर प्रोग्रामर, नेटवर्क एण्ड कम्प्युटर सिस्टम एड्मिनिस्ट्रेटर लगायतका पदमा पनि आकर्षक जागिर पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२