close

मिदास टेक्नोलोजीः जसले सित्तैमा कम्प्युटर, सफ्टवेयर र तालिम दिएर बजार बनायो

मेनुक्श मेनुक्श

मंसिर १९, २०७८ १०:२

मिदास टेक्नोलोजीः जसले सित्तैमा कम्प्युटर, सफ्टवेयर र तालिम दिएर बजार बनायो

काठमाडौं । भोजपुरमा जन्मिएका छत्र कार्कीले एसएलसीसम्मको पढाई काठमाडौंंको आनन्दकुटी विद्यापिठबाट पूरा गरे । सन् १९९४ मा  काठमाडौँ भ्याली क्याम्पसबाट कक्षा १२ को अध्ययन सकिएपछि उनी बाँकी पढाइको लागि अष्ट्रेलिया हानिए । 

अहिले त अध्ययनका लागि विदेश जाने प्रवृत्ति नौलो छैन । तर त्यसताका यति धेरै ‘ट्रेन्ड’को विषय बनिसकेको थिएन । यसैबीच अचानक र योजना विहीन रुपमा कार्कीको अस्ट्रेलिया यात्रा तय भयो ।

उनी आफू अस्ट्रेलिया जाँदाको सन्दर्भ सम्झिदै भन्छन्, ‘१८/२० वर्षको युवालाई भविष्यको के चिन्ता हुन्छ र योजना बनाउँछ ? साथीहरूको लहलहैमा यो गर्छु वा त्यो गर्छु भन्ने न हो ।’ आईएससी पढ्दा अष्ट्रेलिया गइन्छ भन्ने पनि उनलाई थाहा थिएन ।

मेकानिकल ईन्जिनियरिङमा वेस्ट मेलबर्न ईन्स्टिच्युट अफ टेक्नोलोजीबाट डिप्लोमा गर्ने भनेर इन्ट्रान्स परीक्षा दिन सर्टिफिकेटहरू साथमै बोकेर साथीहरूसँगै कलेज गएका थिए ।

त्यही क्रममा भेट भएका एक जनाले सर्टिफिकेट देख्ने बित्तिकै विश्वविद्यालयमा आवेदन पठाइदिए र सजिलै भिसा पनि पाए । ‘मैले खासै मेहनत पनि गर्नुपरेन । भिसा पाएर प्लेनको टिकेट काट्ने बेलामा मात्र बुवाआमालाई थाहा भयो,’ कार्की सम्झिन्छन् ।

त्यसो त उनका लागि अष्ट्रेलिया जानु खासै लहडको विषय पनि थिएन । त्यहाँ गएर उनले मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरे । डिप्लोमा कोर्ष सकिने बित्तिकै उनले मेलबर्न यूनिभर्सिटीबाट मेकाट्रोनिक्समा स्नातकोत्तर गरे । त्यहाँ गएको छ वर्षमा काम गर्दै पढाइ पूरा गरे । 

त्यहाँ रहँदा बस्दा खर्च धान्न मुस्किल हुन थालेपछि उनले आम्दानीका अन्य उपायहरू खोज्न थाले । त्यसबीच उनले  ट्याक्सी चलाउने काम गरे । त्यसैक्रममा कार्कीले अस्ट्रेलियामै मिदास नामक कम्पनी दर्ता गराए । उनले त्यसमार्फत विद्यार्थीका लागि अनलाइनबाटै कोठा मिलाइदिने गर्दथे । मिदासको कथाबाट प्रभावित भएर उनले यो नाम राखेका थिए ।

‘मिदास’ अर्थात् ‘गोल्डेन टच’ को अर्थ ग्रिक कथाको बालक पात्र, जसले जे छोयो, त्यो सुन बन्ने भन्ने हुन्छ । व्यापारिक धारणाले हेर्दा कार्कीले आफूले जहाँ हात हाल्यो, त्यो सुन अर्थात पैसा हुन्छ भन्ने सोचेर यो नाम जुराएका थिए ।

सबै चिज परिस्थितिले निम्त्याउने कुराहरू हुन् । सुरुवातमा तत्कालको समस्यालाई नै कसरी हल गर्ने भनेर सोचिएको हुन्छ । कार्की भन्छन्, ‘त्यतिबेला मलाई कसरी हुन्छ अष्ट्रेलियामा गुजाराको समस्याको हल खोजौँ भन्ने थियो । हुन त यो हिजो र आजको वास्तविकता हो ।’ 

भविष्यको बारेमा गहन रुपमा सोचेर कामको सुरुवात गर्ने एकदमै थोरै मात्र हुन्छन् । तर यस्तै र यही हुन्छ भन्ने कुरा त कसले पो ठम्याउन सक्छ र ! ‘बिल गेट्सले के काम सुरु गर्दा अहिले जहाँ छन्, त्यहाँ पुग्छु भनेर सोचेका थिए होलान् त ? यो गर्छु वा त्यो गर्छु भनेर भन्ने कुरा त मास्टर्सको किताबको सिद्धान्तमा पढ्न मात्र मजा आउँछ,’ कार्की भन्छन् ।

‘वास्तविक जीवनमा त्यस्तो कहिल्यै हुँदैन । कम्पनी चलाइरहेका जोसुकैले पनि यो योजना थियो । यस्तो गर्छु, उस्तो गर्छु भनेर गरिएको हुँदैन । यदि कसैले भन्छ भने त्यो सफलतापछि बनाएको कहानी सहितको भिजन मात्रै हो ।’

‘वास्तविकतालाई नै हेरौँ न ! जब २० वर्षको केटाले आफैँले खाना पकाएर, भाँडा माझेर, भाडा तिरेर, कलेजको फी सबै आफैँ तिर्नुपर्ने अवस्था हुन्छ, त्यस्तो अवस्थामा कसले २० पछि प्रविधिको विकास यस्तो होला र म यसो गर्छु भनेर सोचेको हुन्छ ?’ 

वास्तवमा कार्कीले पनि बिजनेस गर्छु र अहिले जसरी स्थापित हुन्छु भनेर कम्पनी सुरुवात गरेका भने थिएनन् ।  साधारण भाषामा उनलाई त्यस बेला कलेजको फी तिर्नु थियो । खानु बस्नु थियो ।

कताबाट पैसा आउँछ, बुद्धिले भ्याएसम्म उनले त्यही गरे । हो त्यसैको उपज स्वरूप सुरु भयो मिदास । कार्कीले वेबसाइट बनाउन जानेका थिए । प्रविधिसँग परिचित थिए । विभिन्न कम्पनीहरूको वेबसाइट बनाइदिन्थे । वेब डिजाइनको कामहरू गर्ने गर्थे । ती सबै काम गर्नका लागि पनि सुरुवात त कतै न कतैबाट थाल्नै पर्ने थियो । वेबसाइट बनाएर दुईचार सय डलर त आउँथ्यो ।

तर त्यसबाट उनलाई सम्पूर्ण खर्च धान्न मुस्किल थियो । त्यसैले बाँकी समय भाँडा माझ्ने, ट्याक्सी चलाउने काम पनि गरिरहे । हप्ताको छ दिन भ्याएसम्म र जानेसम्मका सबै काम गरिबस्थे । बिहीबार, शुक्रबार र शनिबार ट्याक्सी ड्राइभिङ गर्थे । जसबाट राम्रो पैसा आउँथ्यो । आइतबार, सोमबार र मङ्गलबार ग्राहकहरू खासै पाइँदैन थे, त्यो बेला उनी अरु काम गर्थे । 

समय बित्दै जाँदा सम्बन्धहरू पनि जोडिँदै जान्छन् । कलेजका साथीहरू र त्यहाँका स्थानीय केटाहरूलाई उनले आफूले गर्ने कामको बारेमा सुनाउँथे । त्यसपछि यिनै माध्यमबाट ग्राहकहरू आउन थाले । त्यस बेला उनले स्टुडेन्टसर्भिस डटकम नामक एउटा वेबसाइट चलाउन सुरु गरे । त्यसमा सेकेन्ड ह्यान्ड पुस्तकको किनबेच हुन्थ्यो । यो बेलामा आफूलाई आफ्नी प्रेमिका ज्योत्सना अधिकारी (हाल पत्नी) र अन्य साथीहरुले निकै सहयोग गरेको कार्की सम्झिन्छन् ।

साथै विद्यार्थीहरूलाई भाडामा कोठा मिलाइदिने कामहरू पनि त्यसैमार्फत गरिदिन्थे । सिनियरका किताब जुनियरले किन्ने र फर्निचरहरूको किनबेच हुने माध्यम पनि बने । 

मिदासको काम चाहिँ कार्कीको सौखको विषय थियो । यस बाहेक उनले सलललल डटकम सर्च इन्जिन पनि चलाउँथे । त्यस बेला नेपालबाट एकजना सचिव अस्ट्रेलिया गएका थिए ।

उनले नेपालको प्राकृतिक धरोहरको प्रचारप्रसार गर्नका लाग केही गर्नुपर्‍यो भनेपछि कार्कीले  त्यसैका लागि सलललल डटकम सुरु गरेका थिए । नेपाली कन्टेन्ट राखेर एउटा सर्च इन्ज‍िन त बनाए, तर खासै राम्रो चलेन । उनले यसरी थुप्रै डोमेन चलाए, तर लामो समय भने चल्न सकेनन् । 

मिदासको काम गर्दै जाँदा उनलाई नेपालबाट पनि केह‍ी कामहरू आइरहेका थिए । तिनै कामका लागि उनी नेपाल फर्किए । प्रोजेक्टहरू बढ्दै गएपछि एक्लैले धान्न गाह्रो पर्न थाल्यो । ‘पहिला नेपालमा रहँदा बजार कस्तो छ भन्ने थाहा थिएन । नेपाल फर्किएपछि भने यहाँ केही भएको रहेनछ भन्ने महसुस भयो,’ उनी सुनाउँछन् । 

सन् २००१ तिरको कुरा हो, नेपालमा प्रविधिको क्षेत्रमा खासै केही काम भएकै थिएन । बजारमा जनशक्ति पनि थिएनन् । अष्ट्रेलियामा जुन कुराको लागि प्रतिष्पर्धा गर्नुपर्थ्यो, नेपालमा त सबै क्षेत्र खाली नै खाली । त्यस्तो कुनै प्रतिस्पर्धाको स्थिति नै थिएन । फेरि अस्ट्रेलिया गएर त्यहाँको चर्को प्रतिस्पर्धामा होमिनु भन्दा त यहीँ नेपालमै शून्यबाट सुरु गर्दा राम्रो हुने ठानेर उनले मिदास टेक्नोलोजीको स्थापना गरे । 

विदेशमा ससाना कुराका लागि पनि धेरै प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यता जसले जे भने पनि पत्याउने अवस्था थियो । ‘अभाव हुनु भनेको नै अवसर हो नि !,’ उनी भन्छन्, ‘नेपालमा यदि कसैले बुद्धि पुर्‍याएर व्यापार गरेको छ भने उसले अरुले नगरेकै काम गरेको छ । जहाँ जे छैन, त्यही त गर्ने हो नि ! अर्काले जे गर्‍यो त्यही गर्ने मान्छे त कहीँ पनि पुग्न सक्दैन ।’ 

यहीँ बसेर काम गर्ने कम्पनी चलाउने भएपछि कार्कीले बिहानी समयमा काठमाडौं कलेज अफ म्यानेजमेन्ट र नेसनल ओपन कलेजमा पढाउन थाले । दिउँसोको समयमा सफ्टवेयरका लागि हस्पिटल, शिक्षण संस्था, मेनपावर कम्पनी, फ्याक्ट्री र रेस्टुरेन्टहरूमा  मार्केटिङ गर्न पुग्थे । त्यस बेला उनले जसलाई जुन सफ्टवेयर चाहिन्छ, त्यही सफ्टवेयर बनाउन थाले ।

‘सुरुमा कसैले दुई हजार दिए भने कसैले पाँचसात हजार पनि दिए,’ उनी सम्झिन्छन् । बजार विस्तार गर्नुपर्ने बेला थियो । कसैको काम त सित्तैमा समेत गर्नुपरेको कार्की बताउँछन् । उनले आफ्ना प्रायः सबैजसो काम सुरु गर्दा सित्तैमा उपलब्ध गराउँछन् ।

उनी भन्छन्, ‘प्रोग्रामिङको काम म आफैँ गर्न सक्थेँ । बाँकी कामको लागि मैले नेपाल टेलिकम र विद्युत प्राधिकरणमा काम गर्ने दुईतीन जना केटाहरूलाई पार्ट टाइम काममा लगाएको थिएँ ।’

मिदासको सुरुको अफिस नयाँ बानेश्वरमा थियो । एउटा फ्ल्याटमा आफू बस्थे भने अर्को फ्ल्याटमा अफिस सेटअप गरेर काम थालेका थिए । विस्तारै उनले कम्पनी विस्तार गर्दै गए । एकल लगानीमा कम्पनी सुरु गरेका छ‍त्रलाई ज्योत्सनाले हरबखत् काममा सघाइन भने उनका काकाले छोराले मार्केटिङमा सहयोग गरे । उनलाई सुरुवाति लगानीका लागि आफ्ना साथीका अभिभावक, दाजुभाई, काका र काका साथीहरुले सहयोग गरेका थिए ।

व्यापारिक क्षेत्र आफैँले हेर्नसक्ने भएकाले उनले प्राविधिक कामका लागि स्टाफहरू राखेका थिए । उनले सुरुमा आफ्ना बुबाका साथीहरू र साथीका बुबाहरूको माध्यमबाट मार्केटिङ गरे । रघुनाथ ढुङ्गेलले प्रोग्रामिङमा साथ दिए । 

रघुनाथ तिनै हुन्, जसले बागचाल सफ्टवेयर बनाएर राजा वीरेन्द्रबाट पुरस्कृत भएका थिए । विस्तारै विस्तारै क्लाइन्टको सङ्ख्या बढ्दै गयो । यसैक्रममा एभरेस्ट कलेज शिक्षण संस्थामा उनको पहिलो क्लाइन्ट बन्यो । उनले कलेजका लागि म्यानेजमेन्ट सफ्टवेयर बनाएका थिए । त्यस बेला कम्प्युटर पनि सजिलै उपलब्ध थिएनन् । सफ्टवेयर त झन् सुनेकै वा बुझेकै थिएनन् ।

‘मसँग ठूलो मनिटर भएको कम्प्युटर थियो । स्कूलहरूबाट त्यही कम्प्युटर देखाउन बोलाउथेँ ।’ चिनजानका स्कुलहरूमा कम्प्युटर यस्तो हुन्छ भनेर देखाउन त थाले । तर उनलाई त्यसभित्र प्रयोग हुने सफ्टवेयर बिक्री गर्नु थियो । जुन उनीहरूका लागि कल्पना भन्दा पनि परको कुरा थियो । ‘त्यसपछि उनीहरूलाई तपाईं यस्तो भाँडो किन्नुहोस् र सफ्टवेयर चलाउन सजिलो हुन्छ ।

म सफ्टवेयर सित्तैमा राखिदिन्छु अनि चलाउनुहोस् भनेँ,’ उनी भन्छन्, ‘एक वर्ष चलाएपछि तपाईंलाई चित्त बुझ्यो, काम लाग्ने रहेछ जस्तो लाग्यो र तपाईंको दैनिकी सहज हुने जस्तो देखियो भने मात्रै पैसा तिर्नुहोला नत्र ठिकै छ भन्ने गर्थेँ ।’ यसरी सुरु भएको मिदास टेक्नोलोजीको स्कुल म्यानेजमेन्ट सफ्टवेयरका क्लाइन्ट अहिले चारसय को हाराहारीमा पुगेका छन् ।

यद्यपि अहिले कम्पनीको सेवाको दायरा स्कुलहरूमा खुम्चिएको छ । तर कलेजहरूमा भने बढ्दै गएको कार्कीले सुनाए । अहिले कम्पनीको ठूलो सफ्टवेयरमा साढे दुई सय जति क्लाइन्ट छन् । 

सुरुवाती दिन सम्झँदै कार्की सुनाउँछन्, ‘हिजोआज मान्छेले मेरो एप यति डाउनलोड भयो भनेर फुर्ती लगाए जस्तै मलाई पनि मेरा क्लाइन्ट यति छन् भनेर देखाउनु थियो । बजार लिनु थियो र सबै किसिमका क्लाइन्ट लिने गर्थेँ । प्रायः सबैलाई सित्तैमा सफ्टवेयर बाँडियो ।’

तर अहिले अवस्था फेरिएको छ । शिक्षा क्षेत्रसँगै मिदासले स्वास्थ्यको क्षेत्रमा पनि हात हालेको छ । वीर अस्पतालमा २०६० सालमै कम्पनीले सफ्टवेयर राखेको हो । ‘सफ्टवेयरका गफहरू आज गरिन्छ । तर प्रविधिमा यो नौलो भने होइन ।

हस्पिटलका सबैजसो कामहरू २०६० सालदेखि सफ्टवेयर बाटै भइरहेका छन् । सफ्टवेयर पहिलेदेखि नै भए पनि एपको क्रेज आज आएर बढेको हो । जसले गर्दा सर्वसाधारणले घरबाटै सुविधा लिन सम्भव भएको छ । 

सुरुसुरुमा वीर अस्पतालमा कम्प्युटरको माध्यमबाट विवरण राख्ने काम सम्भव होला भनेर कसैलाई विश्वास नभएको कार्की बताउँछन् । ‘म तपाईंलाई कम्प्युटर र आवश्यक सामग्री एक वर्षका लागि निःशुल्क उपलब्ध गराउँछु । पछि राम्रो लाग्यो भने पैसा तिर्नुहोला भनेको थिएँ । कुनैपनि क्षेत्रमा आफूले वर्चस्व जमाउनु छ भने सुरुमा त सम्झौता गर्नैपर्छ,’ बजार रणनीतिमा उनी प्रस्ट छन् ।

त्यसरी उनले चार वटा अस्पतालमा सफ्टवेयर जडान गराए । कम्प्युटरमैत्री जमाना नभएकाले उनले अस्पतालका कर्मचारीहरूलाई आफैँ कम्प्युटर सम्बन्धी तालिम पनि दिए । कर्मचारीहरूलाई सफ्टवेयर प्रयोग गर्ने सीप सिकाउन उनी आफैँले धेरै अस्पतालमा काउन्टर ब्वाइको रुपमा पनि काम गरे ।

अहिलेको समयमा पनि कर्मचारीहरूमा सफ्टवेयर चलाउने बानी बसिसकेको छैन, त्यतिखेर त झन् प्रयोगकर्तामा आत्मविश्वास जगाउनै चुनौतिपूर्ण थियो । आफू सँगै बसेर कर्मचारीहरूलाई गाइड गर्दै सिकाउँथे । उनीहरूले चलाउन सक्छु नभनुन्जेल उनको टिम अस्पतालमै रहन्थ्यो ।

‘कतिपय अवस्थामा त चार महिनासम्ममा पनि पूरा हुँदैन थियो,’ उनी सुनाउँछन्, ‘आज पनि धेरै ठाउँमा हामी त्यसैगरी बस्ने गरेको हुन्छौँ ।’ विशेषगरी ग्रामीण भेगहरूमा यसरी समय दिनुपर्ने कार्कीको भनाई छ । उनले त्यसका लागि एक महिनासम्म फुल टाइम स्टाफ अस्पतालहरूमा  खटाइरहेका हुन्छन् । 

स्वास्थ्य क्षेत्रमा मिदासको सबैभन्दा पहिलो क्लाइन्ट नेपाल मेडिकल कलेज बन्यो । कुनै पनि अस्पतालमा म्यानेजमेन्ट सफ्टवेयर राम्रोसँग चलाउन त्यहाँको व्यवस्थापन शैली राम्रो हुन आवश्यक हुन्छ । त्यसैले उनी आफैँ नेपालमा हस्पिटल म्यानेजमेन्ट पढाउन थाले । अस्पतालको व्यवस्थापन सुधार गर्न कलेजहरूमा ब्याचलर इन हस्पिटल म्यानेजमेन्ट र मास्टर्स इन हस्पिटल म्यानेजमेन्ट पढाइ सुरु भयो ।

उनले त्यसका लागि पाठ्यक्रम बनाउने, परीक्षा लिने, प्रश्नपत्र बनाउने र नतिजा प्रकाशन गर्ने लगायतका कामको लागि सहयोग गरे । पहिलो प्रयास भएकाले उक्त कोर्षका लागि भारतबाट केही प्रोफेसरहरू पनि ल्याइएको थियो । त्यस बेला आफूले पढाएका धेरै विद्यार्थीहरू अहिले अस्पताल प्रमुख भएको कार्की सुनाउँछन् । अहिले आएर डाक्टरलाई बढुवाका लागि हस्पिटल म्यानेजमेन्ट पढ्नैपर्ने हुन्छ । 

इराकमा १२ जना नेपाली मारिएका बेला मेनपावर कम्पनीहरू धमाधम बन्द हुन थाले । मेनपावर कम्पनीसँग जोडिएका अन्य कम्पनी पनि बदनाम हुँदै गइरहेका थिए । फलस्वरूप सय भन्दा बढी मेनपावर कम्पनीलाई आफ्नो क्लाइन्ट बनाएको मिदासको सफ्टवेयर पनि बन्द हुन पुग्यो । 

काममा तालमेल नमिलेपछि रेस्टुरेन्ट क्षेत्रबाट पनि उनको कम्पनी बाहिरियो । त्यसबेला २०० भन्दा बढी रेस्टुरेन्ट मिदास टेक्नोलोजीको सफ्टवेयर प्रयोग भइरहेको थियो । 

अहिले कम्पनीको दायरा शिक्षा र स्वास्थ्य क्षेत्रमै सीमित छ । कोरोनाको महामारीपछि प्रविधिको प्रयोग व्यापक भएको छ । यद्यपि सन् २०१०/०१२ यता नै धेरैजसो क्षेत्रमा कम्पनीहरूले आफ्ना ग्राहकको विवरण राख्न सफ्टवेयर प्रयोगमा ल्याइसकेका थिए ।

स्कुलहरूमा पनि पहिलेदेखि नै कम्प्युटरमा जानकारी राख्ने काम सुरु भएको थियो । तर अभिभावकहरूले त्यस्तो प्रविधि बारे अहिले आएर मात्रै थाहा पाएको छत्र कार्कीको बुझाई छ । ‘थाहा नहुनुको कारण आवश्यकतामा निर्भर गर्दछ,’ उनी भन्छन् । 

अहिले भइरहेका प्राविधिक प्रयासहरू पुराना भइसकेका उनी बताउँछन् । ‘अहिलेका अनलाइन भुक्तानी, अनलाइन अपोइन्टमेन्ट र टेलिमेडिसन जस्ता प्रविधि महामारीले ल्याएकै होइन,’ उनी भन्छन्, ‘इन्टरनेटको विस्तार र अनलाइन भुक्तानीको विस्तारित प्रयोगले अहिले प्रचलन बढेको मात्र हो ।’

‘नेपालमा प्रयास भइरहेका प्रविधिहरू अन्य मुलुकमा यस अघि नै प्रयोगमा आइसकेका विषय हुन् । फरक यत्ति हो कि त्यो बेलामा नेपालको बजार तयार थिएन । कोरोनाले गर्दा अहिले बजार बनेको छ ।’ आफूले व्यापार सुरु गर्दा जहिले पनि इन्ड-टु-इन्ड सोलुसनलाई ध्यानमा राख्ने गरेको उनी बताउँछन् ।

अस्पतालमा सफ्टवेयर सुरु गर्दा देखि नै बिरामीहरूले कम्तिमा फोनबाट मात्रै भएपनि सामान्य सेवा लिन सकुन् भन्ने ठान्थे । ता कि ग्रामीण भेगका बिरामीहरूले अस्पताल जाने दिन कुर्दाकुर्दै उनीहरूको रोगले भयानक रुप नलेओस् ।

‘फोनबाटै भएपनि सामान्य परामर्श लिन सकेको खण्डमा धेरै राहत मिल्छ । म जहिले पनि ग्राहकको तहबाट सोच्ने गर्छु,’ उनी भन्छन्, ‘यदि अस्पतालबाट बिरामीले पाउने सेवा उचित हुँदैन भने मैले त्यहाँ सफ्टवेयर राख्नुको औचित्य नै रहँदैन ।’

त्यस बेला उनले अपोइन्टमेन्ट लिन सकिने, सामानको किनमेल एसएमएसबाट गर्न मिल्ने सिस्टम पनि बनाएका थिए । तर त्यतिखेर अहिलेको जस्तो इन्टरनेटको पहुँच विस्तार भइसकेको थिएन । अहिले प्रविधिमा परिवर्तन आए पनि अवधारणा भने बिल्कुलै नयाँ नभएको उनको बुझाई छ ।

‘प्रयोगकर्ताको प्रणाली मात्र परिवर्तन भएको हो । अहिले बजार तयार भएर पनि प्रयोगकर्ताले यसको महत्त्व बुझेका हुन्,’ उनी भन्छन् । उनको विचारमा प्रविधि माध्यममात्र भएकाले सेवालाई प्राथमिकतामा राख्नुपर्छ ।

देशका १६० वटा अस्पतालमा मिदासकै अग्रसरतामा अनलाइन अपोइन्टमेन्ट सुरु भइसकेको छ । तर बिरामी तथा परिवारका सदस्यले अझैपनि उस्तै सास्ती बेहोर्नुपरेको छ । एप बनाउनु मात्र महत्वपूर्ण कुरा होइन, कुन डाक्टरसँग परामर्श लिने भनेर ९९ प्रतिशत बिरामीलाई थाहै हुँदैन । यस्तोमा प्रविधिको के काम ? 

अनलाइन एप बनाउने कम्पनी दर्जनौँ छन् । तर प्रभावकारी सेवा दिन सकिरहेका भने छैनन् । वीर अस्पतालमा पनि यसअघि छ वटा कम्पनीले प्रयास गरिसकेका थिए । तर सम्भव भएन । 

अहिले मिदासले हटलाइन नम्बर राखेर ३० जना नर्सलाई फुल टाइम खटाएको छ । मिदासको टेलि मेडिसिन सेवा लिन बिरामीले सबैभन्दा पहिला नर्ससँग कुरा गरेर आफ्नो समस्या राख्छन् र कुन डिपार्टमेन्ट वा डाक्टरलाई सम्पर्क गर्ने भनेर नर्सले नै भनिदिन्छन् । अनिमात्र अपोइन्टमेन्ट लिने काम सुरु हुन्छ । 

नियमित एमडी डाक्टर, चार जना मेडिकल अफिसर डाक्टरलाई पनि मिदासले आफ्नो प्राविधिक स्वास्थ्य सेवाका लागि जागिरमा राखेको छ । मिदासले बिहान सात बजेदेखि बेलुका नौ बजेसम्म सोलुसन दिने गरेको कार्कीले बताए । 

अनलाइन टिकेट काटेपछि पनि अस्पतालमा लाइन बस्नुपरे अनलाइन अपोइन्टमेन्टको औचित्य नुहुने कुरा उनले राम्रैसँग बुझेका छन् । डिजिटल भुक्तानी गरेर मात्रै उपभोक्ता सन्तुष्ट पक्कै हुन सक्दैनन् । वीर अस्पतालमा मात्र मिदासका पाँच जना नियमित स्टाफ छन् । जसले अनलाइन अपोइन्टमेन्ट गराएका बिरामीको बुक प्रिन्ट गरिदिएर डाक्टर भएको ठाउँमा पुर्‍याउँछन् ।

‘त्यहाँ आन्तरिक बिलिङ सिस्टम तथा रेकर्ड किपिङमा हाम्रै सफ्टवेयर भएकाले मात्र त्यो सम्भव भएको हो,’ उनी भन्छन् ।  सामान्यतया एउटा डाक्टरले दैनिक औसत ३० जना बिरामीको परीक्षण गर्छ । अनलाइनबाट २० वटा टिकेट बिक्री भयो भने लाइन लाग्ने मध्येबाट त १० जनाले मात्र टिकट पाउने अवस्था रहन्छ ।

अब त्यहाँ लाइनमा बसेको बिरामीले १० जनाको लागि मात्र टिकट बाँकी छ भनेर कसरी थाहा पाउने ? त्यसका लागि एउटै कम्पनीको सिस्टम सफ्टवेयर र अपोइन्टमेन्ट लिने एप हुन जरुरी हुन्छ । नेपालका ७० प्रतिशत अस्पतालमा मिदासको सफ्टवेयर चलिरहेको कार्कीको दाबी छ ।

यसमा २० वर्षदेखिको सङ्‌घर्षको कथा जोडिएको छ । ‘यो त्यसै सम्भव भएको कुरा होइन । मैले सन् २००१ मा नै अनलाइन अपोइन्टमेन्टको बारेमा सोचेको थिएँ,’ उनी भन्छन्, ‘त्यसैका लागि सफ्टवेयर सित्तैमा बाँडेको हुँ । म पूर्ण समाधान दिन चाहन्थेँ । अस्पतालको बिलिङ मात्र मेरो सेवाको दायरा थिएन । तर अफशोच ! यो दिन देख्न मलाई २० वर्ष कुर्नु पर्‍यो ।’ 

स्वास्थ्य क्षेत्रमा मिदासले मेचीदेखि महाकालीसम्म नेपालभर आफ्नो नेटवर्क बनाइरहेको छ । मेडिकल रिपोर्ट, ल्याब रिपोर्ट, औषधीको विवरण मिदासको एप ‘मेरो डाक्टर’मा हेर्न मिल्छ ।

मिदासको सिस्टमबाटै फार्मेसीमा औषधी भए नभएको, बिरामीले कस्तो उपचार पाइरहेको छ, सबै निगरानी राख्न मिल्छ । सबै फार्मेसीलाई मिदासको मर्चेन्ट अकाउन्ट नम्बर दिइएको छ । त्यसैबाट उपभोक्ताले भुक्तानी गर्नेदेखि समस्याको हल प्राप्त गर्ने सम्मको काम गर्न सक्छन् । 

प्रदेश नं १ मा एउटा आईएनजीओ सँग मिलेर कम्पनीले १०० वटा अस्पताललाई सित्तैमा ल्यापटप दिइरहेको छ । ता कि ग्रामीण भेगका किसानले अस्पताल जाने चाँजोपाँजो मिलाउँदा मिलाउँदै रोगको सिकार हुनु नपरोस् । बेलैमा उपचार पाउन सकुन् ।

अहिलेका लागि सित्तैमा विशेषज्ञ डाक्टरबाट परामर्श लिन र उपचार गर्न पाउँछन् । सिस्टममा अपडेट आएपछि ५० प्रतिशत बिरामीले पैसा तिर्नुपर्ने र बाँकी ५० प्रतिशतको मिदासले नै भुक्तानी गरिदिने कार्की बताउँछन् । 

यो एपमा औषधी खानुपर्ने समय, औषधी पाइने फार्मेसी, डाक्टरको जानकारी लगायतका सम्पूर्ण फिचर समावेश छन् । बिरामीलाई चाहिने सम्पूर्ण सुविधा टेलिमेडिसिनमार्फत लामो समयदेखि उपलब्ध गराइरहेको भएपनि कोभिडपछि मात्रै धेरैले थाहा पाएको उनको भनाई छ ।

सुरुवाती समयमा मिदास ई-क्लासको सीडी क्यासेटहरू थिए । स्कुलमा म्यानेजमेन्ट सफ्टवेयर मात्र चलाएर पनि भएन । स्कुल केका लागि खुलेको र यसमा सम्बन्धित सरोकारवाला कोको हुन सक्छन् त भनेर सोच्नु पनि आवश्यक थियो । विद्यालयहरू त पक्कै पनि विद्यार्थीकै लागि खोलिएका हुन्छन् ।

विद्यार्थीको पठनपाठनलाई प्रभावकारी बनाउनु आफ्नो उद्देश्य रहेको कार्की बताउँछन् । ‘तसर्थ सुरुमा मैले म तपाईंलाई ‘इको सिस्टम’ दिन्छु भनेर गएको हुँ । विद्यार्थी र शिक्षक दुवैलाई कन्टेन्ट उपलब्ध गराउने लक्ष्य राखेको थिएँ,’ उनी सम्झन्छन् ।

स्वास्थ्य र शिक्षा क्षेत्रसँगै मदास कृषि क्षेत्रमा समेत आफ्नो उपस्थिति बलियो बनाउने दिशामा केन्द्रित हुँदै गएको छ । 

मिदास ई-क्लासको सन्दर्भ

मिदास चाहिँ विद्यार्थीलाई चाहिने कन्टेन्टहरूको प्याकेज भएको कार्की प्रस्ट्याउँछन् । ‘आज विद्यालयले स्कुल बस ट्रयाक गरिराखेका छन्,’ उनी भन्छन्, ‘यो कुरा सन् २००४ तिरकै प्रयास हो । हामीले बेलैमा प्रविधिको विकास गर्‍यौँ, स्कुलमा पनि गयौँ । तर समयमा प्रयोगमा आउन सकेन । त्यसो हुँदा हामी अरु क्षेत्रमा लाग्यौँ ।’

अहिले जो बजारमा छन्, उनीहरू सही समयमा बजारमा आएको र सजिलै स्थापित भएको उनी बताउँछन् । अब भने मिदास ई-क्लासको नयाँ भर्सनका लागि कम्पनी जुटेको छ । 

मिदास ई-क्लासको भिडिओ अवधारणाको पछाडि कार्की कार्कीका आफ्नै भोगाइ छन् । उनी अष्ट्रेलियामा छँदा कामले गर्दा पूरा कक्षा लिन पाउँदैन थे । पढाइ धेरै छुट्ने हुँदा उनी लाइब्रेरीमा बसेर छुटेका कक्षाहरूको भिडिओ हेर्ने गर्थे । आफ्नो त्यही सहजताले गर्दा उनले पढाइमा प्रसस्त समय छुट्याउन नसक्ने विद्यार्थीलाई राहत मिलोस् भन्ने सोचेर मिदास ई-क्लास सुरु गरे । 

‘अहिले शिक्षकले पढाएको भिडिओ खिचेर प्रसारण गर्नुलाई नै धेरैले अनलाइन कक्षाको बुझिरहेका छन् । गाईले बच्चा जन्माएको देखाएर त्यसको लाइभमा बसेर विश्लेषण गर्न सक्नु पो अनलाइन कक्षा हो,’ उनी आफ्नो विमती प्रकट गर्दै भन्छन् ।

‘तर यहाँ त शिक्षकले पढाएको भिडिओ खिचेर अथवा कम्प्युटर अगाडि स्क्रिनमा देखिएर कुनै कुराको व्याख्या गर्दैमा कन्टेन्ट बन्यो र त्यसैलाई अनलाइन क्लास भनिदिए पुग्छ भन्ने बुझाई छ । अनलाइन कन्टेन्ट/क्लासमा त वास्तविक अथवा एनिमेसन गरिएको भिडिओ कन्टेन्टको लाइभमा व्याख्या हुनुपर्दछ ।’

छत्र कार्कीको बुझाइमा अहिलेका कन्टेन्टहरू वास्तविक अनलाइन क्लासका कन्टेन्ट होइनन् ।  सुरुमा सरकारी तवरमा रहेका र आफूले भेटेका जतिलाई उनले आफ्नो धारणा सुनाए । तर सबैले यहाँ त्यस्तो सम्भव छैन भनेर फर्काइदिए ।

‘त्यतिबेलै मैले पाँच कक्षाको विज्ञान विषयको पुरै पाठ्यक्रम आर्ट एनिमेसन गरेर भिडिओ बनाएँ । जसका लागि विद्यार्थीहरूलाई कम्प्युटर चलाउन र ट्याब्लेटमा ड्रइङ गर्न सिकाएँ,’ उनी भन्छन् ।

तापमा कसरी अक्सिजन आउँछ र कसरी जान्छ भन्नेमा एनिमेसन गरेर बनाएको भिडिओ उनले नेपाल सरकारका अधिकारीहरूलाई देखाएका पनि थिए । तर कसैले पनि समर्थन गर्ने छाँट देखाएनन् । त्यसपछि उनले मार्केटिङ पार्टनरको रुपमा एकता बुक्ससँग सहकार्य गरे । एकता बुक्सले मिदासका सीडीहरू बेच्न थाल्यो ।

सरकारले नमानेपछि सबै कक्षाको विशेषगरी विज्ञान र गणित विषयका भिडिओ कन्टेन्ट निर्माण गर्न थालेको उनले बताए । सुरुका वर्षमा आठ १० हजारको अनुपातमा बिक्री भएका सीडी विस्तारै लाखौँको सङ्ख्यामा बिक्री हुन थाले । सन् २००६ सम्म त उनले अभिभावकलाई सीडी बेच्थे । तर विद्यालयले भने लिँदैन थे ।

किन भने शिक्षकलाई नै कम्प्युटर चलाउन नआउने चुनौति थियो । त्यसपछि उनले नेपाली भाषामा शिक्षकहरूलाई लक्षित गरी कम्प्युटर गुरू नामक सफ्टवेयर बनाए ।  विन्डोज १९९७ लाई लिएर बनाएको उक्त सफ्टवेयरमा कम्प्युटरको आधारभूत ज्ञान सम्बन्धी श्रृङ्खलाबद्ध अडियो भिजुअल कन्टेन्ट समावेश गरिएको थियो ।

पछि उक्त कन्टेन्टलाई स्काईशपले लिएर टेलिभिजनबाट प्रसारण गर्न थाल्यो । सन् २०१०/११ बाट विन्डोज १९९७ चल्न छोडेपछि त्यो प्रोडक्ट पनि बिक्न छोड्यो । युट्युब प्रचलनमा आएपछि अनलाइन सिकाइका सामग्रीहरू छ्यापछ्याप्ती आउन थाले । त्यसपछि कार्कीले मिदास ई-क्लासको प्रोडक्ट बन्द गरे । त्यति मात्र नभएर पछि आउने कम्प्युटरले मिदासको सीडी सपोर्ट गर्न छोडेको थियो ।

जसले गर्दा कम्पनीप्रति ग्राहकमा नराम्रो छाप पार्ने सम्भावना थियो । उनी भन्छन्, ‘बजारमा हजार वटा सीडी राम्रो चलिरहँदा १० वटा मात्र पनि चलेन भने त इमेज नै बिग्रन्छ । १० वटा चलेन भने हल्ला हुन्छ र बाँकी ९९० चल्यो भनेर कसैले भन्दैन । त्यसकारण सन् २०१५ बाट मिदासको सीडी बेच्न बन्द गरिदिएँ ।’

कम्पनीले त्यसैलाई एसडी कार्ड र पेनड्राइभमा पनि ल्याएको थियो । तर युट्युब तथा इन्टरनेटको पहुँचका कारण त्यो खासै प्रभावकारी भएन र असफल हुन पुग्यो । अहिले इन्टरनेटमा भएका असीमित कन्टेन्टका अगाडि सीडी, पेन्ड्राइभ, वा एसडी कार्डमा भएका कन्टेन्ट मिल्ने किसिमको र पर्याप्त हुने कुरै भएन । त्यसैले ती पुराना अध्ययन सामग्री बन्द  गरेर कम्पनीले मोबाइल एप ल्यायो । 

‘अहिले विद्यार्थीहरूका लागि कन्टेन्टको आवश्यकता नै छैन । शिक्षकले भट्याएका अडियो भिजुअल सामग्रीको पनि जरूरत छैन । विद्यार्थीले दिनभर विद्यालयमा रहेर त्यही शिक्षकले पढाएको सुनेका हुन्छन्,’ कार्की अगाडि भन्छन् ।

‘गृहकार्य गर्नका लागि मात्रै भएपनि उनीहरूले किताबका अनुच्छेदहरू हेरेका हुन्छन् । मन लागेपनि नलागे पनि शिक्षकको कुरा त सुनेकै हुन्छन् । बाध्य भएर होमवर्क गरेकै हुन्छन् । जस्तै नजान्ने विद्यार्थीले पनि किताब त हेरेकै हुन्छ । यस्तोमा फेरि अतिरिक्त सिकाइका लागि बनाइने सामग्री पनि उस्तै प्रकारका भएपछि विद्यार्थीको रुचि त घट्ने नै भयो नि !’ 

अहिले बजारमा ई-लर्निङका लागि भनेर लागेकाहरूले पनि त्यही कुरा दोहोर्‍याइ रहेको देख्दा उनी त्यति सन्तुष्ट सुनिँदैनन् । ‘सबैलाई प्रविधिको कुरा थाहा छ । उहाँहरू अरु सबै विद्यार्थीहरूलाई ब्याचलर्स/मास्टर्सको विद्यार्थी जस्तो सोच्नुहुन्छ र विद्यार्थीहरूका लागि अनलाइनमा केही पनि छैन भन्ने ठान्नुहुन्छ,’ कार्की भन्छन्, ‘यसो हेर्दा साथीहरूले आधारभूत कुराहरू नै बिर्सिएको जस्तो लाग्छ ।’

सिकाइ भनेको अनुभव हो । किताब पढ्नु मात्र सिकाइ होइन । यही बुझाइले गर्दा मिदासले सुरुका दिनदेखि नै परीक्षा केन्द्रित सिकाइलाई महत्त्व नदिएको उनी बताउँछन् । त्यसैअनुरूप मिदासका शैक्षिक सामग्रीमा परीक्षाका प्रश्नपत्र कहिल्यै सामेल भएनन् ।

‘विद्यार्थीलाई प्रश्नोत्तर घोकाएर धेरै नम्बर ल्याउनसक्ने बनाउनपर्छ भन्ने सोच ममा कहिल्यै आएन,’ कार्की भन्छन्, ‘त्यसरी प्राप्त गरेको अङ्कले विद्यार्थीको सिकाइ मापन गर्नसक्छ जस्तो लाग्दैन ।’ 

अहिले एपमा भने प्रश्नोत्तरलाई सन्दर्भ सामग्रीको रुपमा राखिएको छ । परीक्षामा लेख्ने तौर तरिका र छुटाउन नहुने कुराहरूको भिडिओ सामग्री पनि एपमा समावेश छन् । करिब तीन वर्ष लगाएर तयार गरिएको मिदासको नयाँ भर्सन २.० मा दुईसय भन्दा धेरै अनुभवी शिक्षक तथा विशेषज्ञ व्यक्तिको संलग्नता छ । 

‘सानो छँदा हामी नयाँ किताब पाउनासाथ सरसर्ती पल्टाउँदै चित्र हेर्थ्यौँ । विस्तारै नौलो लाग्न छोडेपछि फर्केर पनि हेरिँदैन थियो । अहिले विद्यार्थीका लागि कन्टेन्ट त्यस्तै हुन् । एकदेखि तीन दिनसम्म काम लाग्ला । तर चौथो दिनबाट काम लाग्दैन । किन कि इन्टरनेटको पहुँचमा हुने विद्यार्थीका लागि कन्टेन्ट फालाफाल छन् । यस्तोमा मैले बनाएको कन्टेन्ट विद्यार्थीलाई के काम ? जब कि उसले नयाँ कुरा केही पाउँदैन ।’

सामान्यतया सरकारी विद्यालयहरूलाई निन्दा गरिन्छ । तर त्यहाँका शिक्षकहरू पढाउनका लागि हाजिर भएका हुन्छन् । सकेसम्म राम्ररी सिकाउन तत्पर पनि हुन्छन् । उनीहरू स्वयम्‌लाई नयाँ तौरतरिका थाहा नहुनु अलग कुरा हो । तर विद्यार्थी नराम्रो भएर निस्किउन् भनेर उनीहरूले चाहेका हुँदैनन् होला !

गाउँघरमा जस्तो जनशक्ति छ त्यही उपलब्ध हुने न हो । विद्यालय निर्माणको क्रममा कार्की केही समय अघि रुकुमको आठबिसकोट पुगेका थिए ।

‘गाउँमा जस्तो जनशक्ति छ त्यसैबाट नै काम चलाउनुको विकल्प थिएन । जब शिक्षक नै कमजोर छ भने विद्यार्थीले के सिक्ने ? होला उसले नराम्रो नसिकाउला, तर राम्रो पनि त सिकाउन सक्दैन नि ! काठमाडौंको मान्छेले त रुकुममा गएर पढाएर बस्दैन ।’ 

त्यसकारण शिक्षकलाई पनि प्रविधि अनुसारको तालिम उपलब्ध गराएर दक्ष बनाउने विषयलाई समेत उनले मिदासको उद्देश्य बनाएका छन् ।ग्रामीण भेगका शिक्षकहरूले पनि सान्दर्भिक ज्ञान दिन सक्ने हुँदा उनीहरूको क्षमता र दक्षताको फरक ढङ्गले पहिचान गरेर उपयोग गर्ने मिदास ई-क्लासको कार्ययोजना छ ।

अबको समयमा आदर्श शिक्षकको पहिचान गरी उनीहरूलाई हिरो बनाउन मिदासले जोड दिने कार्कीले सुनाए । मिदास ई-क्लासको भर्सन २.० विद्यालय तहमा मात्रै सीमित नभएर विश्वविद्यालयका विद्यार्थीलाई समेत उपयोगी हुनेछ ।

त्यसका लागि बीबीएस र एमबीएसका विद्यार्थीलाई  लक्षित गरेर कम्पनीले आवश्यक कन्टेन्ट बनाइरहेको छ । उच्च तहमा अध्ययन गर्ने विद्यार्थीले खर्चका लागि काम गर्दै पढ्ने हुँदा उनीहरूलाई भने भिडिओ कन्टेन्ट तथा लाइभ क्लास आवश्यक रहेको कार्कीको तर्क छ । आगामी दिनमा शिक्षा शास्त्र संकाय र मानविकीमा पनि प्रवेश गर्ने योजना उनले बनाएका छन् । 

धेरैजसो विद्यार्थी रुचि लागेर पढ्ने गर्दैनन् । पाठ्यक्रमभन्दा बाहिरका कुराहरू, जसले विद्यार्थीको क्षमता वास्तवमै विकास गर्छ । कम्पनी त्यस्तै सिकाइमा तल्लिन रहेको कार्की बताउँछन् ।

‘राम्रो शिक्षा उपलब्ध गराउन उपयुक्त जनशक्तिको अभाव छ । चाहेर पनि धेरै विद्यालयले यस्तो शिक्षा दिनसक्ने अवस्था नै छैन । एउटा विद्यालयले एक पटकमा दुई सय जना विद्यार्थीलाई उपलब्ध गराउन नसकेको सुविधा हामीले वेबको माध्यमबाट त सजिलै दिन सक्छौँ । विद्यालयका लागि महङ्गो पर्न आए पनि हाम्रो लागि त त्यस्तो हुँदैन ।’ 

विद्यालयका लागि जुन सुविधा उपलब्ध गराउन चुनौतिपूर्ण हुन्छ, त्यही काम धेरै विद्यार्थीका लागि तयार गर्न मिदासले सक्ने उनको भनाई छ । विद्यालयले चाहेर पनि विद्यार्थीलाई दिन नसकेको सुविधा मिदासले अनलाइनबाट उपलब्ध गराउने योजना बनाएको छ । ‘समय सापेक्ष र प्राविधिक शैक्षिक क्रियाकलापहरू ग्रामीण भेगका शिक्षकहरूले गराउन सक्दैनन् ।’

‘जसका लागि मिदासले नै उचित तालिम दिएर आवश्यक शिक्षक तयार पारिरहेको छ,’ उनले भने, ‘यति मात्र होइन, शिक्षकहरूले रचनात्मक शैक्षिक क्रियाकलाप र सिकाइ सामग्री सम्बन्धी भिडिओ बनाएर मिदासको एपमा राख्न सक्नेछन् ।’

‘त्यस्ता सामग्रीमा आउने भ्युजको आधारमा शिक्षकहरूले भुक्तानी पाउनेछन् । यस्ता सामग्री शिक्षकहरूले आफैँ भिडिओको रुपमा पठाउन सक्ने र त्यसलाई आवश्यक सम्पादनको कार्य पूरा गरेपश्चात् प्लेटफर्ममा राखिने छ ।’

यसो गर्दा शिक्षकलाई हौसला प्राप्त हुने र शैक्षिक गुणस्तर वृद्धि हुने मिदासको विश्वास छ । यद्यपि मिदासका अनलाइन कक्षाहरू विद्यालयमा प्रत्यक्ष सञ्चालन गरिने कक्षाहरू जस्तो नहुने भन्दै संस्थापक छत्र कार्कीले वैकल्पिक कक्षाको रुपमा उपयोगी हुने बताए । 

ती कक्षाहरू बिहान र बेलुकाको समयमा सञ्चालन हुने कम्पनीले जनाएको छ । सन् २०२३ तिर सञ्चालनमा ल्याउने तयारी रहेको मिदास भर्सन २.० कोभिड महामारीका कारण चाँडै ल्याउनु परेको कम्पनीले जनाएको छ । 

मिदास ई-क्लासको सेवा लिन चाहने विद्यार्थीहरूले आफ्नो विद्यालयमार्फत वा सोझै सब्स्क्रिप्सन लिन सक्नेछन् । तर व्यक्तिगत तवरबाट अभिभावकले सदस्यता लिनुभन्दा विद्यालयले सदस्यता लिनु सस्तो पर्नेछ । 

यसका साथै मिदास ई-क्लासको नयाँ भर्सनमा सिनियर विद्यार्थीले समेत आफूभन्दा जुनियर विद्यार्थीलाई पढाउने अवसर समेत प्राप्त गर्न सक्नेछन् । यसमा सहभागी हुने विद्यार्थीका लागि  ‘लर्न एन्ड अर्न’ फिचर रहनेछ । 

मिदास ई-क्लासमा पढ्ने बाहेकका अन्य धेरै उपयोगी फिचर समेत छन् । यसरी मिदास ई-क्लास किताबभन्दा बाहिरका कुरा सिकाउने माध्यम हुनुका साथै शिक्षण सिकाइको मार्केट प्लेसकै रुपमा आउँदैछ । 

मिदास ई-क्लासका कक्षाहरू सुरुको एक महिना परीक्षण स्वरुप सञ्चालन हुनेछन् । जसका लागि कुनै शुल्क लाग्ने छैन । त्यसपछि भने प्याकेज अनुसार मासिक एक डेढ सयदेखि छ सय रुपैयाँसम्म पर्ने कम्पनीले जनाएको छ । ‘मिदास सकेसम्म शिक्षालाई सर्वसुलभ बनाउन प्रयत्नरत छ,’ कार्की भन्छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२