close

मेडिकल विद्यार्थीका लागि पहिलो पटक ‘सोसियो लर्निङ प्लेटफर्म’ सार्वजनिक हुँदै

टेकपाना टेकपाना

मंसिर १९, २०७८ १६:१८

मेडिकल विद्यार्थीका लागि पहिलो पटक ‘सोसियो लर्निङ प्लेटफर्म’ सार्वजनिक हुँदै

काठमाडाैं । चितवन मेडिकल कलेजका विद्यार्थीले सुरू गरेकाे स्टार्टअप कम्पनी मेडिकोज इन्टरनेसनलले ‘साेसियाे लर्निङ’ प्लेटफर्म ल्याउने भएकाे छ । यसअघि सार्वजनिक ‘मेडिकोज पीडीएफ’को परिमार्जित संस्करणका रूपमा कम्पनीले सोसियो लर्निङ एप ल्याउन लागेकाे हाे ।

हाल याे एपकाे परीक्षण अन्तिम चरणमा पुगेको कम्पनीले जनाएकाे छ । कम्पनीका संस्थापक सन्ताेष रिजालले बेटा भर्सनका रूपमा दुई साताभित्र एप सार्वजनिक हुने जानकारी दिए ।

यसपछि एपमा अन्य फिचर थप्दै जाने र दुई महिनासम्ममा पूर्णरुपमा एपमार्फत सेवा उपलब्ध गराउने तयारी भइरहेको उनले बताए ।

एकोहोरो प्रणालीबाट ‘कन्टेन्ट’ (चिकित्सा विज्ञान अन्तर्गत अध्ययन गरिरहेका विद्यार्थीका लागि शैक्षिक सामग्री) उपलब्ध गराइरहेको मेडिकोजले सोसियो लर्निङ प्लेटफर्म मार्फत विद्यार्थीहरूका कन्टेन्टलाई पनि स्थान दिने भएको हाे ।

चार वर्षदेखि मेडिकोज पीडीएफको रुपमा रहेको एपलाई अब सोसियो लर्निङ एपको रुप दिन लागेको उनले बताए । जसमा यसअघि मेडिकल कन्टेन्ट, समाचार, आर्टिकलहरू उपलब्ध थिए ।

अब भने मेडिकल ‘कन्टेन्ट’ चित्त नबुझेको खण्डमा अर्को विद्यार्थीले पनि थपघट गर्न सक्नेछन् । जसको वास्तविक भर्सन र पछि परिमार्जन गरिएका दुवै भर्सन एउटै प्लेर्टफममा छुट्टाछुट्टै हेर्न मिल्दछ ।

संस्थापक रिजाल भन्छन् ‘परम्परागत रुपमा सिनियरको नोट जुनियरले पढ्ने प्रवृत्ति थियो भने अब त्यही प्रणालीको नयाँ अर्थात डिजिटल प्रयत्न हो, सोसियो लर्निङ प्लेर्टफर्म ।’ 

यसमा भएका ३० हजारभन्दा धेरै स्लाइडहरूले एमबीबीएस, बीडीएस र नर्शिङ लगायत चिकित्साशास्त्रलाई समेट्न सक्ने रिजालले बताए ।

त्यसैगरी २० हजारभन्दा धेरै किताब, एक हजारभन्दा धेरै मेडिकलको रिसर्चमा आधारित आर्टिकल, १५ सयभन्दा धेरै मेडिकल जर्नल साथै एक हजारभन्दा माथि चिकित्साशाश्त्रमा आधारित समाचारहरू प्लेर्टफर्ममा उपलब्ध छन् । अहिले एड्मिन लेभलबाट नै आवश्यक साइटहरू लिङ्क गराउने काम गरिरहेका छन् ।

परिमार्जित भर्सनमा प्रयोगकर्ताले आफ्नो प्रोफाइल बनाएर शैक्षिक सामग्रीहरू शेयर गर्न र रिकमेन्ड गर्न सक्नेछन् । यसले सिनियर र जुनियर विद्यार्थीका बीचमा राम्रो सम्बन्ध स्थापित हुन सक्ने र सिकाइमा थप सहजता हुने अपेक्षा गरिएको छ ।

विद्यार्थीका लागि पढ्न सहयोगी हुने यस्ता प्लेर्टफर्म अहिलेसम्म उपलब्ध नभएकाले आफूहरू नै पहिलो भएको दाबी गरेका छन् । यसअन्तर्गत उपलब्ध हुने ‘कन्टेन्ट’ अर्थात शैक्षिक सामग्रीहरू तुलनात्मक रुपमा कोर्षभन्दा वृहत हुने रिजालले बताए ।

एकतर्फी कन्टेन्ट दिँदै आएको मेडिकोजको सोसियो लर्निङ प्लेटफर्ममार्फत अब ‘कन्टेन्ट’ आदानप्रदान गर्ने तयारी भइरहेको छ । यसरी सामग्रीहरू सबैले राख्न पाउने भएपछि आधिकारिकतामा प्रश्न उठ्ने हुनाले अकाउन्ट भेरिफिकेसनको प्रक्रिया अघि बढाउने रिजालले बताएका छन् ।

‘प्लेर्टफर्ममा जोडिने विद्यार्थी तथा प्रोफेसरको विज्ञताको आधारमा उनिहरूको अकाउन्टमा ‘टिक मार्क’ लगाएर भेरिफाई गरिनेछ,’ रिजालले भने ।

मेडिकोजका पढाइमा आधारित सेवा अहिले निःशुल्क उपलब्ध छन् । आगामी दिनमा कन्टेन्टको योगदानका आधारमा कन्टेन्ट उपलब्ध गराउने प्रयोगकर्तालाई केही रकम भुक्तानी गर्ने योजना रहेको छ । 

ज्ञान बचाउनका लागि होइन, बाँड्नका लागि हो भन्ने मूल ध्येय राखेको मेडिकोजले पहिलो सोसियो लर्निङ प्लेर्टफर्म जारी गर्न लागेको दाबी गरेको छ ।

अब वेब र आईओएसमा पनि उपलब्ध हुने लागेको मेडिकोजको सेवा धेरै खर्चिलो भएको र दक्ष जनशक्तिको अभावका कारण विस्तारमा ढिलाइ भएको संस्थापक रिजालले बताए ।

मेडिकोजका मेडिकोज मेडिसिन, मेडिकोज रेडियोलोजी, मेडिकोज सर्जरी, मेडिकोज पिडियाट्रिक, मेडिकोज एमसिक्यु, मेडिकोज ईसीजी, मेडिकोज पीडीएफ, मेडिकोज मटेरियल र मेडिकोज हिस्टोलोजी लगायतका एपहरूमा एन्ड्रोइड भर्सनमा मात्र चार लाखभन्दा धेरै नियमित प्रयोगकर्ता रहेका छन् ।

medicos app from nepali guys

जसमा डाक्टरहरू र विद्यार्थी गरी जम्मा आठ प्रतिशत नेपाली र बाँकी ९२ प्रतिशत विदेशी प्रयोगकर्ताहरू भएको रिजालले बताए । चिकित्सा विज्ञानका विद्यार्थीलाई कन्टेन्ट उपलब्ध गराउँदै आएको मेडिकोजले अन्य संकायलाई जोड्ने बारेमा भने सोचिनसकेको रिजालले बताए ।

अहिले मेडिकोजमा मेडिकल विद्यार्थी, सफ्टवेयर इन्जिनियर र मार्केटिङ गरी कुल नौ जना कार्यरत छन् । संस्थापक सन्तोष रिजाल र सह-संस्थापक अङ्कित श्रेष्ठ चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरिरहेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२