close

जासुसी गर्ने सफ्टवेयर ‘पेगासस’ बन्द गर्दै एनएसओ ग्रुप

टेकपाना टेकपाना

मंसिर २८, २०७८ १२:४४

जासुसी गर्ने सफ्टवेयर ‘पेगासस’ बन्द गर्दै एनएसओ ग्रुप

काठमाडौं । इजरायली कम्पनी एनएसओ ग्रुपले जासुसी गर्न बनाएकाे सफ्टवेयर पेगासस बन्द गर्ने तयारी गरेकाे छ । व्यक्तिको निगरानीका लागि सरकार, सरकारी निकाय तथा सुरक्षा निकायलाई एनएसओ ग्रुपले यो सफ्टवेयर बिक्री गर्दै आएको थियो ।

यसमार्फत धेरै व्यक्तिको फोन कल ट्यापिङ गरी उनीहरूले गर्ने कुराकानी सुन्ने गरेको पाइएको थियो । हुन त कम्पनीले यो काम आफैंले भने नगर्ने दाबी गर्दै आएको छ ।

कम्पनीले आफूले सफ्टवेयर निर्माण  गर्ने र त्यो सरकार तथा सुरक्षा निकायको आग्रहमा मात्रै उपलब्ध गराउने गरेको बताउँदै आएको छ ।

तर, पनि यसरी व्यक्तिको फोन ट्यापिङ गर्नसक्ने सफ्टवेयर निर्माण गरी बिक्री गर्नु र त्यसबाट व्यक्तिको निगरानी हुनु मानव अधिकारीभन्दा बाहिरको विषय रहेको भन्दै आवज उठिरहेको छ ।

अर्कोतर्फ अमेरिकी धेरै नागरिकको यसको शिकार बनेसँगै अमेरिकाले एनएसओ ग्रुपलाई नै कालोसूचीमा राखेको छ । यसरी अमेरिकी सरकारले कम्पनीलाई कालोसूचीमा राखेसँगै कम्पनी ५०० मिलियन अमेरिकी डलर अर्थात् ६० अर्बभन्दा बढी ऋणमा गएको बताइएको छ ।

यसरी कम्पनी ऋणमा जाने अवस्थामा पुगेसँगै कम्पनीले आफ्नो पेगासस युनिट नै बिक्री गर्ने तयारी गरिरहेको उल्लेख गरिएको छ । हुन त कम्पनीले हालसम्म यस विषयमा कुनै जानकारी दिएको छैन ।

तर, बैठकमा संलग्न व्यक्तिलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम ‘फाइनान्सियल टाइम्स’ ले यस विषयमा जानकारी सार्वजनिक गरेको हो । यसअघि सन् २०१९ मा पेगासस कम्पनीको भ्यालु एक बिलियन अमेरिकी डलर अर्थात् एक खर्ब २१ अर्बभन्दा बढी गरिएको थियो ।

यस्तोमा हाल बिक्री भएको खण्डमा यो कम्पनी कतिमा बिक्री हुनेछ भन्न विषय सबैका लागि चासोको विषय हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२