close

आफ्नै महिला साथीको अनुहार अश्लील तस्वीरमा जोडी ब्ल्याकमेल गर्ने पक्राउ

टेकपाना टेकपाना

मंसिर २९, २०७८ ११:५३

आफ्नै महिला साथीको अनुहार अश्लील तस्वीरमा जोडी ब्ल्याकमेल गर्ने पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत आफ्नै महिला साथीको अनुहार अन्य अश्लील तस्वीरमा जोडेर महिलाको आफन्तलाई ब्ल्याकमेल गरेको अभियोगमा एक भारतीय नागरिक काठमाडौंबाट पक्राउ परेका छन् ।

भारतको उत्तर प्रदेश कोपागञ्ज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालिमलाई आइतबार काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।

सालिमले वैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्वीरमा जोडी उक्त अश्लील फोटो सामाजिक सञ्जाल फेसबुक र ह्वाट्सएपमार्फत महिलाको आफन्तलाई पठाएर ब्ल्याकमेल गरेकाे प्रहरीले जनाएकाे छ ।

साथै उनले पीडितको नामबाट नक्कली फेसबुक आईडी बनाएर त्यसमा अश्लील फोटो पोष्ट पनि गरेका थिए । सोही घटनाको आधारमा महिलाको चरित्रहत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२