close

डिजिटल वालेटका २५ वर्षे सीईओ

अर्पना आले मगर अर्पना आले मगर

पुस १, २०७८ १८:१०

डिजिटल वालेटका २५ वर्षे सीईओ

काठमाडौं । सीए (चार्टर्ड अकाउन्टेन्ट) पढ्ने विद्यार्थीको लक्ष्य के होला ? पक्कै पनि उत्कृष्ट अंक ल्याई परीक्षा उत्तीर्ण गर्ने, अनि कुनै राम्रो कम्पनीमा जागिर खाने । वा, फ्रिल्यान्सिङ काम गर्ने । तर भारतमा बसेर सीए पढिरहँदा पदम भट्टराईको छुट्टै योजना थियो ।

पढाइपछि कुनै ठूलो कम्पनीमा काम गरेर आफ्नो भविष्य सुरक्षित गर्ने उनको योजना थिएन । सीएको पढाइपछि आफ्नै केही गर्ने सपना सजाएका थिए ।

‘स्वदेशमै रोजगारी सिर्जना गर्ने, अनि यहाँको अर्थतन्त्रमा थोरै भएपनि केही परिवर्तन ल्याउने सोच राखेको थिएँ,’ उनले सुनाए ।

यही सोचका साथ आफ्नो पढाइ सकेर पदम २०१८ मा नेपाल फर्किए ।

‘भारतमा स-साना पसलदेखि ठूला-ठूला कारोबारमा क्यूआर कोड प्रयोग भएको देख्दा नेपालमा पनि यस्तै केही गर्न पाए हुन्थ्याेजस्ताे लागिरहेकाे थियाे,’ उनले सुरूवाती कथा सुनाउँदै भने, ‘पढाइ सकेर नेपाल फर्किने बेलासम्म अन्य कम्पनीले यो कामको सुरुवात गरिसकेका थिए । तर सुरु भइसकेको छ भनेर आफ्नो सपनालाई थाँती राख्न सकिनँ । त्यसैले नयाँ सोच र रणनीतिका साथ बजारमा आइयाे ।’

कम्पनी सञ्चालन गरेर आफ्नो नाफा/घाटाका लागि मात्र व्यवसाय गर्नेभन्दा पनि अर्थतन्त्रमै केही योगदान पुर्‍याउने उनकाे लक्ष्य छ । तर सधैं सबै कुरा सोचेजस्तो हुँदैन भनेझैं सीए पढेर, अनि अकाउन्टिङको काम छोडेर व्यवसायतिर लाग्दा उनले खासै प्रोत्साहन भने पाएनन् ।

‘जब आईक्यासको अवधारणा लिएर अगाडि बढेँ, प्रोत्साहन एकदमै कम पाइयाे । आफ्ना अग्रज दाइहरू, परिवार सबैजना म कुनै ठाउँमा राम्रो तलब खाएर सुरक्षित जागिर गरेर बसुँ भन्ने चाहन्थे । तर जागिर गरेर आफ्नो मात्र भविष्य सुरक्षित गर्नु थिएन मलाई । मलाई देशको डिजिटल अर्थतन्त्रमा योगदान दिनु थियो । त्यसैले आफ्नै अवधारणा लिएर अगाडि बढेँ,’ उनले सुनाए ।

भारतमा आफ्नो पढाइकै क्रममा केही कम्पनीमा फ्रिल्यान्सिङ काम गरी ‘कर्पोरेट कल्चर’ बुझेका उनले नेपाल फर्केर आफ्नै कन्सल्टेन्सी कम्पनी सुरु गरेका थिए । तर उनको लक्ष्य कतै अन्तै थियो ।

त्यसपछि दिपेन्द्र विष्टलगायत अन्य टिमको सहकार्यमा डिजिटल भुक्तानी सेवाप्रदायक ‘आईक्यास’ को जन्म भयो ।

‘याेजना पुरानै भएपनि बजारमा हामी आउन अलिक समय लाग्यो । यद्यपि हाम्रो लक्ष्य क्षणिक नाफाभन्दा पनि लामो समयसम्म डिजिटल अर्थतन्त्रमा प्रभाव पुर्‍याउनु हो,’ उनले भने ।

आईक्यासको अवधारणा सहर केन्द्रित सेवामात्र नभएर ग्रामीण क्षेत्रमा पनि डिजिटल भुक्तानीको विषयमा सचेत गराएर यसको प्रयोग ग्रामीण क्षेत्रमा वृद्धि गर्ने रहेको उनकाे भनाइ छ ।

‘सहरी क्षेत्रमा त डिजिटल भुक्तानी सामान्य बन्दै गएको छ, तर ग्रामीण क्षेत्रमा सुविधा भएर पनि यसबारे चेतना हुन नसक्दा यसले त्यति गति लिन सकेको छैन । त्यसैले हाम्रो मुख्य निशाना भनेको ग्रामीण क्षेत्रमा यसको प्रयोग बढाउनु हो,’ २५ वर्षीय यी सीईओले याेजना सुनाए ।

उनकाे कम्पनीले सुदूरपश्चिम र मध्यपश्चिमका जिल्लामा डिजिटल अर्थतन्त्रको प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरिरहेको छ ।

‘ग्रामीण भेगको एक स्थानमा २५ जना मात्रलाई पनि चेतना दिन सकियो र उनीहरूले डिजिटल भुक्तानीलाई प्रयोगमा ल्याउन सके हाम्रो लागि त्यो ठूलो उपलब्धि हुनेछ,’ पदमले टेकपानासँग भने ।

यसबाट डिजिटल भुक्तानी रकमको कारोबार बढ्ने उनकाे विश्वास छ । साउनदेखि बजारमा आएको आईक्यासले हालसम्म २४ वटा बैंकसँग सहकार्य गरेर डिजिटल कारोबारको सेवा दिएको छ ।

वेब र मोबाइल एप दुवैमा उपलब्ध आईक्यासमार्फत अन्तरबैंकिङ कारोबार, युटिलिटी पेमेन्ट, सरकारी भुक्तानी, हवाई टिकटलगायतका भुक्तानी सेवा लिन सकिन्छ ।

‘हाल आईक्यासबाट बत्ति, खानेपानी, ल्यान्डलाइन, टिभी, स्कुल/कलेज फि, क्रेडिट कार्ड पेमेन्ट, ब्रोकर फि, ट्राभल, अनलाइन बैंकिङ, मोबाइल बैंकिङ, शेयरको ब्रोकरलाई दिइने भुक्तानी लगायतका कारोबारहरू गर्न सकिने व्यवस्था छ,’ उनले भने ।

‘बजारमा थुप्रै स्थापित डिजिटल वालेटहरू छन्, जुन हाम्रा लागि ठूलो चुनौती हो । तर यही नै हाम्रो अवसर पनि हो । विद्यमान सेवाप्रदायकले भन्दा थप सहज र फरक सेवा कसरी दिन सकिन्छ भन्ने विषयमा हामी काम गर्नेछौं,’ उनी भन्छन्, ‘सरकार आफैंले पनि डिजिटल कारोबारलाई प्रोत्साहन गरिरहेको समयमा हामीले यस अभियानलाई ग्रामीण क्षेत्रसम्म पुर्‍याउने लक्ष्य राखेका हौं ।’ ‍

नेपालमा विस्तारै डिजिटल परिवर्तन आइरहेका छन् । यही कुरालाई प्रोत्साहन गर्दै क्यासलेस नेपालको अवधारणालाई मुर्तरूप दिन आईक्यासले महानगरमा मात्र नभएर गाउँपालिकाहरूमा पनि प्रविधिको प्रयोग बढाउन योगदान दिने याेजना ल्याएकाे छ ।

प्रत्येक नेपालीमाझ वित्तीय साक्षरता बढाउन आईक्यासले सेवामा मात्र होइन, फिल्डमै गएर प्रयोगकर्ताका लागि काम गर्ने बताए ।

‘देशमा २७ वटा डिजिटल वालेट छन् । यद्यपि यी सबैमध्ये आईक्यासको भिजन फरक छ । हाम्रा लागि हाम्रो लगानीभन्दा पनि हामी देशको अर्थतन्त्रको लागि दीर्घकालीन रणनीति लिएर अगाडि बढेका छौं । यसैले हामी बजारमा अहिले नै आक्रमक भएर आएका छैनौं,’ पदमले भने ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२