close

५९ सरकारी तथा सामुदायिक विद्यालयमा एनसेलले स्थापना गर्‍यो आईटी ल्याब

टेकपाना टेकपाना

पुस ९, २०७८ १३:५०

५९ सरकारी तथा सामुदायिक विद्यालयमा एनसेलले स्थापना गर्‍यो आईटी ल्याब

काठमाडौं । निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले देशका ५९ सरकारी तथा सामुदायिक विद्यालयमा आईटी ल्याब स्थापना गरेको छ । देशभरबाट कूल ६० ओटा स्कुल छनौट भएकोमा ५९ ओटा स्कुलमा आईटी ल्याब स्थापना गर्ने काम सम्पन्न भएको कम्पनीले जनाएको छ ।

सूचना प्रविधि सम्बन्धी पूर्वाधार नभएका सरकारी तथा सामुदायिक विद्यालयलाई लक्षित गर्दै एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत यो परियोजना अघि बढाएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरण र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सहकार्यमा सुरु भएको यो परियोजना दुई वर्ष अघि नै सुरु भएको थियो ।

‘दुई वर्ष अघि नै परियोजना सुरु भएको भएता पनि कोभिड–१९ का कारण आवश्यक सामग्री आपूर्तिमा समस्या हुँदा कार्यान्वयनमा केही ढिलाई हुन पुगेको हो,’ एनसेलले भनेको छ, ‘तर, अब भने यो परियोजना अन्तिम चरणमा छ । चाँडै सम्पन्न गरी सरकारलाई जानकारी गराउने छौँ ।’

सरकारको ‘डिजिटल नेपाल’ परिकल्पनालाई साकार पार्ने योजनाका साथ यो परियोजना अघि बढाइएको एनसेलले जनाएको छ । ‘यसमार्फत आईटी ल्याब स्थापना नभएका ६० सरकारी तथा सामुदायिक विद्यालयमा नयाँ प्रविधि युक्त आईटी ल्याब स्थापना गरी शिक्षाको गुणस्तर विकासमा मद्दत पुग्नेछ,,’ एनसेलले भनेको छ ।

यसले सरकारी तथा सामुदायिक विद्यालयको शिक्षण पद्धति परिवर्तन गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्न तथा डिजिटल विभेदलाई कम गर्न समेत मद्दत पुग्ने अपेक्षा कम्पनीको छ । कम्पनीका अनुसार सञ्चालित आईटी ल्याबमा हरेक विद्यालयलाई २४ ओटा कम्प्युटर, एक्सटर्नल हार्ड ड्राइभ, रेकर्डेवल डीभीडी, साउण्ड सिस्टम, बहुउपयोगी प्रिन्ट/कपी/स्क्यान, मल्टिमिडिया प्रोजेक्ट, इक्युपमेन्ट र्‍याक, नेटवर्क राउटर, अनलाइन यूपीएस जस्ता उपकरण उपलब्ध गराइएको छ ।

यसका साथै विद्युत नपुगेका स्थानमा सोलार सिस्टम समेत उपलब्ध गराइएको छ । आईटी ल्याबको उपयोग बढाउन विद्यालयमा कार्यरत एक जना शिक्षकलाई तालिम समेत प्रदान गरिएको छ ।

यसको सञ्चालन सञ्चार मन्त्रालयले तयार पारेको आईटी ल्याब २०७५ को कार्यविधि अनुसार नै हुने बताइएको छ । यसको अर्थ स्थानीय सरकार, दूरसञ्चार प्राधिकरण र विद्यालय स्वयम्ः यसका लागि जिम्मेवार हुनेछन् ।

यसबाट ३० हजार भन्दा बढी विद्यार्थी लाभान्वित हुने विश्वास एनसेलको छ । त्यस्तै, यसले डिजिटल साक्षरता बढाउन समेत मद्दत पुर्‍याउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२