close

नेपालमा साइबर हमला रोक्न सिस्टम बनाउँदै सरकार

टेकपाना टेकपाना

पुस १२, २०७८ १८:२४

नेपालमा साइबर हमला रोक्न सिस्टम बनाउँदै सरकार

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले देशमा हुनसक्ने साइबर हमलालाई रोक्न सिस्टम निर्माण गर्ने भएको छ ।

प्राधिकरणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट हुनसक्ने साइबर हमलालाई रोक्न आवश्यक पूर्वाधारको तयारीका लागि अध्ययन प्रक्रिया अघि बढाउन लागेको हो ।

त्यसका लागि प्राधिकरणले सोमबार एक सूचना जारी गर्दै परामर्श सेवाप्रदायक कम्पनीहरूसँग आशयपत्रको माग गरेको छ । इच्छुक कम्पनीले १५ दिन अर्थात् आउँदो जनवरी ९ तारिखको राति १२ बजेसम्म आवेदन दिन सक्नेछन् ।

यो अवधिमा आएको आवेदनमध्येबाट उत्कृष्ट एक कम्पनी छनोट गरी उक्त कम्पनीलाई सिस्टम निर्माण गर्न कस्तो स्रोत, पूर्वाधार र कति लागत आवश्यक पर्छ भन्ने विषयको अध्ययन गर्न जिम्मा दिइनेछ ।

पछिल्लो समय नेपालमा साइबर हमलाका घटना बढिरहेको सन्दर्भलाई मध्यनजर गर्दै यो प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ । ‘यो अध्ययनमा इन्टरनेसनल इन्टरनेट गेटवे र डोमेस्टिक (नेसनल) दुवै नेटवर्क समेटिने छ,’ प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘नेटवर्क सेवाप्रदायकले इन्टरनेट गेटवेको विषयमा ध्यान नदिने हुँदा त्यसलाई सुरक्षित गर्ने योजना प्राधिकरणले बनाएको हो ।’

उनका अनुसार नेटवर्क सेवाप्रदायकले बाहिरबाट इन्टरनेट भित्र्याउँदा इन्टरनेट गेटवे राख्ने गरेको भएता पनि त्यसबाट हुनसक्ने जोखिमको विषयमा ध्यान पुगेको छैन । बाहिरबाट आउने ब्याण्डविथसँगै भाइरस, अट्याकहरु समेत भित्रिएको हुन्छ ।

यस्तो नेटवर्कभित्र पनि कमजोरी हुनसक्ने बताउँदै उनले भने, ‘कतिपय अवस्थामा नेपालमा प्रोक्सी अट्याक भइरहेको हुन्छ । यसको अर्थ यथार्थमा नेपालभित्रैबाट अट्याक भइरहेको हुन्छ, तर देखिँदा चीन, रसियाबाट भइरहेको देखिन्छ । यस्ता किसिमका घटनाबाट राष्ट्रिय पूर्वाधारलाई समेत जोगाउन आवश्यक छ । यसका लागि कस्तो स्राेत र पूर्वाधार, कति लागत आवश्यक पर्छ भन्ने विषयको अध्ययनका लागि यो तयारी गरिएको हो ।’

यसबाट भोलिका दिनमा प्राधिकरणलाई यो परियोजनामा लगानी गर्ने/नगर्ने भन्ने विषयमा समेत निर्णय लिन सहयोग पुग्ने रोय बताउँछन् ।

BID-DOCUMENT-20211227-6

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२