close

ट्रायल पास गरेकै दिन क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स

टेकपाना टेकपाना

पुस १४, २०७८ ७:४३

ट्रायल पास गरेकै दिन क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स

काठमाडौं । सरकारले सवारी चालक अनुमति पत्रको परीक्षा उत्तीर्ण गरेका चालकलाई सोही दिन परीक्षणकालीन लाइसेन्स वितरण गर्ने भएको छ ।

मंगलबार यातयात व्यवस्था विभागमा आयोजित एक कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले चालकलाई ट्रायल पास गरेकै दिन क्यूआर कोड सहितको परीक्षणकालीन लाइसेन्स दिने तयारी भइरहेको बताएकी छन् ।

योसँगै स्मार्ट लाइसेन्सको झन्झट कम हुने मन्त्री यादवको भनाइ छ ।

नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि विभागले परीक्षणकालीन लाइसेन्स प्रयोगमा ल्याएको छ । विभागले भदौदेखि ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएकाहरूलाई क्यूआर कोडसहितको एउटै किसिमको पीभीसी कार्ड प्रयोगमा ल्याएको हो ।

ट्राफिकले क्यूआर कोडका आधारमा चालकको लाइसेन्स जाँच गर्ने विभागले जनाएको छ । कार्डमा चालकको सम्पूर्ण आवश्यक विवरण ट्राफिकले आफ्नो मोबाइल फोनमार्फत थाहा पाउनेछन् ।

यस्तो कार्डले ट्राफिक उल्लघंन घट्ने विश्वास विभागको छ । ट्राफिकले कार्डमा ५ वटाभन्दा बढी प्वाल पारे एक वर्षपछि स्मार्ट ड्राइभिङ नदिने र पुनः लाइसेन्सको परीक्षा दिनुपर्ने व्यवस्था ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२