close

टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून, तीन वर्षमै ५७.३७ प्रतिशत गिरावट

टेकपाना टेकपाना

पुस १४, २०७८ १६:२१

टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून, तीन वर्षमै ५७.३७ प्रतिशत गिरावट

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमको प्रति शेयर आम्दानी १४ वर्षयताकै न्यून देखिएको छ । ११६.५६ रुपैयाँ रहेको टेलिकमको प्रति शेयर आम्दानी बिदा हुने तरखरमा रहेका वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीको कार्यकालमा ५७.३७ प्रतिशतले घटेर ४९.६९ प्रतिशतमा झरेको हो । 

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा अधिकारी प्रबन्ध निर्देशक नियुक्त हुनु अघि अर्थात् २०७४/०७५ मा कम्पनीको प्रति शेयर आम्दानी इतिहासकै उच्च विन्दुमा रहेको थियो । तर उनको तीन वर्षे कार्यकाल सुरु भएसँगै त्यस्तो आम्दानीमा लगातार गिरावट देखिएको हो । 

स्रोतः नेपाल टेलिकमको वित्तीय प्रतिवेदन

नेपाल टेलिकमको वित्तीय प्रतिवेदन अनुसार अधिकारीको कार्यकालको पहिलो वर्ष (२०७५/०७६) मा ६५.०५ रुपैयाँमा झरेको प्रति शेयर आम्दानी दोस्रो वर्ष (२०७६/०७७) मा ६४.९९ रुपैयाँ र तेस्रो वर्ष (२०७७/०७८) मा ४९.६९ रुपैयाँमा खुम्चिएको छ । कम्पनीको आम्दानी र नाफा दुवैमा गिरावट आउँदै गएपछि त्यसको असर कम्पनीको प्रति शेयर आम्दानीमा समेत परेको हो । 

कम्पनीमा नेपाल सरकारको ९१.५० प्रतिशत, सर्वसाधारणको ८.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत शेयर स्वामित्व रहेको छ । वर्तमान प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी आफ्नो तीन वर्षे कार्यकाल पूरा गर्दै यही पुस २२ गते बाहिरिँदैछन् ।

रिक्त रहने टेलिकम प्रमुख नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको छ । जसका लागि नौ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । चार वर्षे नयाँ कार्यकालका लागि कम्पनीको बिग्रिँदो वर्तमान आर्थिक परिसूचक र बजार सुधार गर्नुपर्ने चुनौती सामना गर्न त्यति सहज हुनेछैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२