२०७९, ५ जेष्ठ बिहिबार   |  
Thursday 19th May 2022

अब हरेक टोल फ्रीमा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने

काठमाडौं । अब हरेक ‘टोल फ्री’ मा जुनसुकै सेवा प्रदायकबाट निःशुल्क फोन गर्न सकिने भएको छ । दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले टोल फ्री नम्बरलाई प्रभावकारी बनाउने उद्देश्यका साथ शर्टकोड कार्यविधिमा परिमार्जन गर्दै नयाँ व्यवस्था लागू गर्न लागेको हो ।

नयाँ कार्यविधिमा सबै सेवाप्रदायकको नेटवर्कबाट टोल फ्री नम्बरमा निःशुल्क फोन लाग्नुपर्ने व्यवस्था समेटिने छ । हालसम्म नेपालमा टोल फ्री नम्बर कुन कम्पनीले उपलब्ध गराएको छ भन्दा पनि कुन टेलिकम सेवाप्रदायकको नेटवर्कबाट लिइएको हो भन्ने विषयले महत्व राख्दै आएको छ ।

किनभने यदि कुनै कम्पनीले आफ्ना ग्राहकको सहजताका लागि नेपाल टेलिकमबाट टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उसका एनसेल तथा स्मार्टसेल प्रयोग गर्ने ग्राहकले उक्त टोल फ्री नम्बरमा कल गर्न पाउँदैनन् ।

एनसेलले ९८ बाट सुरु भएको १० नम्बर रेञ्जमै टोल फ्री नम्बर उपलब्ध गराएकाले टेलिकमबाट फोन त लाग्न सक्छ । तर, त्यसका लागि ग्राहकको सिमबाटै पैसा काटिन्छ ।

कसैकोमा कल नलाग्ने, अनि कसैकोमा कल लागिहाले पनि पैसा लाग्ने भएपछि यस्तो सिस्टम वास्तवमा टोल फ्री नै नभएको तर्क दिँदै आएको प्राधिकरणले अब भने यसलाई व्यवस्थित गर्ने भएको हो ।

‘अहिले हाम्रोमा जुन किसिमको टोल फ्रीको प्रचलन छ, त्यो वास्तवमा टोल फ्री नै थिएन,’ प्राधिकरणका निर्देशक अम्बर स्थापित भन्छन्, ‘त्यसैले पनि हामीले शर्ट कोडको कार्यविधिलाई परिमार्जन गरेर टोल फ्री नम्बरमा एकअर्को नेटवर्कबाट कल लाग्नुपर्ने व्यवस्था गर्न लागिएको हो ।’

कार्यविधि परिमार्जनको काम यही हप्ताभित्र सम्पन्न गरी प्राधिकरण बोर्ड पठाउने योजना रहेको समेत उनले बताए । प्राधिकरण बोर्डबाट पास भएर आएसँगै सेवाप्रदायकलाई निर्देशन दिएर यसलाई अनिवार्य गरिने जनाइएको छ ।

स्थापितका अनुसार हालसम्म शर्टकोडमा देखिएका केही प्राविधिक चुनौतीका कारण यो व्यवस्था लागू गर्न सकिएको थिएन ।

‘हाल टोल फ्रीका लागि टेलिकमले १६६० बाट सुरु भएको ११ अङ्कमा आधारित नम्बर उपलब्ध गराउँदै आएको छ । भने एनसेलले १० अंककै आफ्नै नम्बरमार्फत यो सेवा दिइरहेको छ,’ उनले भने, ‘यसरी सेवाप्रदायक अनुसार टोल फ्री नम्बर फरक नहुनुपर्ने हो ।’

त्यसैले टोल फ्रीलाई व्यवस्थित गर्न यसअघि प्राधिकरणले शर्ट कोड कार्यविधिबाट टोल फ्री नम्बर १० अंककै हुनुपर्ने र त्यसको सुरुवाती अंक १८०० हुनुपर्ने व्यवस्था गरेको थियो ।

तर, १८०० मा नेपाल टेलिकमले केही प्रश्न उठाएको थियो । टेलिकमले हाल ११ अंकको टोल फ्री नम्बर प्रयोग गर्दै आएकाले नयाँ नम्बरमा जाँदा समस्या हुने भन्दै प्रश्न उठायो ।

त्योसँगै प्राधिकरणले टोल फ्रीको विषयमा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत अध्ययन गर्‍यो र अब ११ अंककै टोल फ्री नम्बर प्रयोगमा ल्याउने गरी तयारी गरिरहेको छ ।

यो हुँदा सबै नेटवर्कबाट कल लाग्नेछ । साथै ग्राहकले कुनै पनि टोल फ्री नम्बरमा कल गर्दा कुनै शुल्क नलागोस् भनेर ‘रिभर्स इन्टरकनेक्सन’ को व्यवस्था गरिएकाे छ ।

‘रिभर्स इन्टरकनेक्सन’ अर्थात् यदि नेपाल टेलिकमबाट कुनै कम्पनीले आफ्ना ग्राहकलाई टोल फ्री नम्बर उपलब्ध गराएको छ भने उक्त टोल फ्रीमा एनसेलका प्रयोगकर्ताको कल आउँदा हुने आम्दानीको केही हिस्सा टेलिकमले एनसेललाई उपलब्ध गराउनुपर्छ भन्ने हो । यसो हुँदा जुनसुकै टोल फ्री नम्बरमा कल गर्दा प्रयोगकर्ताको सिमबाट कुनै पैसा लाग्नेछैन ।

Logo
© 2019, All Rights Reserved with TechPana Media Pvt. Ltd.

टेकपाना मिडिया प्रा‍‍. लि.

अनामनगर, काठमाडौ
Email:  [email protected]
Web: techpana.com
फोनः  +977-01-5244861
सूचना विभाग दर्ता नं.  १५४१/७६-७७

सम्पादकः गोपाल साउद

विज्ञापनका लागि:
[email protected]
मोबाइलः ९८५१०४४४५८

Contact us | Our Team