close

गलत मान्छेको हातमा हुनसक्छ तपाईंको फेसबुक, पत्ता लगाएर सुरक्षित राख्ने सजिलो तरिका

टेकपाना टेकपाना

पुस १४, २०७८ २२:१९

गलत मान्छेको हातमा हुनसक्छ तपाईंको फेसबुक, पत्ता लगाएर सुरक्षित राख्ने सजिलो तरिका

काठमाडौं । सामाजिक सञ्जाल फेसबुक विश्वभर धेरै प्रयोग हुने सामाजिक सञ्जाल हो । जसमा अनेक प्रकारका फिचरहरू छन्, जसको आधारमा प्रयोगकर्ताले आफ्नो सुरक्षा तथा गोपनीयता कायम राख्न सावधानी अपनाउन सक्छन् ।

फेसबुकमा तपाईँका अति गोप्य र संवेदनशील जानकारी हुनसक्छन् । तपाईं जस्ता प्रयोगकर्ताका यस्ता जानकारी सुरक्षित राख्न फेसबुकले पनि निकै प्रयास गरिरहेको छ ।

कम्पनीका अनेकौँ प्रयासका बावजुत ह्याकर तथा गलत मनसाय भएका व्यक्तिहरूले अनेक हतकण्डा अपनाएर प्रयोगकर्ताको सूचना तथा जानकारी चोरी गरिरहेका हुन्छन् । कम्पनीको कमजोरीले मात्र होइन, तपाईं स्वयम्‌को सानो असावधानीले पनि आफ्नो गोप्य जानकारी बाहिरिन वा गलत व्यक्तिको हात लाग्न सक्छ ।

कहिलेकाहीँ तपाईं हामी आफ्नो फेसबुक अकाउन्ट कतिपय ठाउँमा लग-ईनकै अवस्थामा छोडिदिन्छौँ । केही व्यक्तिहरूले त्यसको फाइदा उठाउँछन् ।

त्यसो त फेसबुकले आफ्नो प्रयोगकर्तालाई एउटा यस्तो फिचर उपलब्ध गराएको छ, जसको सहयोगमा तपाईं आफ्नो फेसबुक आईडी कुनकुन स्थानमा प्रयोग भइरहेको छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ । आज हामी तपाईंलाई यही फिचरको बारेमा बताउँदै छौँ ।

यसरी चेक गर्नुहोस् आफ्नो अकाउन्टको गतिविधि

-सबैभन्दा पहिला आफ्नो फेसबुक एपमा जानुहोस् र माथि दायाँ भागमा रहेको तीन धर्सा सहितको प्रोफाइल आइकनमा दबाउनुहोस् ।

-त्यसपछि तपाईंले माथि दायाँ कुनातर्फ सर्च आइकन देख्नुहुनेछ, अब त्यसमा दबाउनुहोस् ।

-जसमा ‘Activity Log’ टाइप गरेर सर्च गर्नुहोस् र त्यसमा दबाउनुहोस् ।

-त्यहाँ तपाईंले अनेकौँ विकल्प देख्नुहुनेछ । जसमध्ये लग्ड एक्सन्स एन्ड अदर एक्टिभिटी (Logged actions and other activity) मा जानुहोस् ।

-र त्यहाँ भित्र रहेको एक्टिभ सेसन (Active sessions)मा गएर आफ्नो फेसबुक अकाउन्ट कहाँ कहाँ प्रयोग भइरहेको छ भन्ने कुरा हेर्नुहोस् ।

-त्यस्तै अलिक पछाडि फर्केर लग्ड एक्सन एन्ड अदर एक्टिभिटी (Logged actions and other activity) भित्र रहेको लगइन्स एन्ड लग आउट्स (Logins and logouts) मा हेर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो फेसबुक आईडी लगईन तथा लगआउट भएको मिति र सम्बन्धित डिभाइसको आईपी एड्रेस देख्न सक्नुहुन्छ ।

अब सुरक्षित राख्ने कसरी ?

यदि तपाईंलाई एक्टिभ सेसन र लग्डईन एक्सन्स एन्ड अदर एक्टिभिटीमा कुनै गतिविधि शंकास्पद लाग्यो भने तुरुन्तै माथिको एक्टिभ सेसनमा गएर शंकास्पद डिभाइसको पछाडि रहेको तीन थोप्ला भएको बटनमा गएर लगआउट गर्नुहोस् र आफ्नो  फेसबुक अकाउन्टको पासवर्ड परिवर्तन गर्नुहोस् ।

साथै आफ्नो फेसबुक अकाउन्टलाई अन्य सबै स्थानमा लग-आउट गर्ने विकल्प चयन गर्न पनि नभुल्नुहोस् । यति गरेसँगै अन्य जुनसुकै स्थान र उपकरणमा तपाईंको फेसबुक आईडी लग-ईन रहेको भए पनि लग-आउट हुनेछ ।  

यदि कसैले तपाईंको फेसबुक आईडी चलाइरहेको रहेछ भने एक्टिभिटी लगभित्र तल पुछारमा रहेको ‘View Logged Action’ अथवा ‘View Activity Histry’ मा गएर आफ्नो आईडीबाट केके गरिएको रहेछ हेर्न र त्यसलाई डिलिट गर्न सक्नुहुन्छ ।

यदि तपाईंले भनिए अनुसारका सेटिङ फेला पार्न सक्नु भएन भने एप स्टोर वा प्ले स्टोरमा गएर आफ्नो फेसबुक एप अपडेट गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२