close

घरमा बत्ति गएर इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस १६, २०७८ ९:४९

घरमा बत्ति गएर इन्टरनेट नचल्ने समस्या छ ? यसो गर्नुहोस्

काठमाडौं । यतिबेला नेपालमा फाइबर इन्टरनेटको विस्तार द्रुत रुपमा भइरहेको छ । यस्तोमा तपाईंले घरमा फाइबर इन्टरनेट जडान गर्नुभएको छ होला । फाइबर इन्टरनेट त कनेक्ट छ, तर जाडोयाम सुरु भएसँगै विद्युत खपत बढ्दा बत्ति आउने जाने गरिरहेको हुन्छ ।

यस्तोमा बत्ति जाने बित्तिकै इन्टरनेट पनि जाने हुँदा समस्या हुनसक्छ । हुन त कतिपय अवस्थामा राउटरमै पावर ब्याकअप पनि हुन्छ । त्यस्ता राउटरले एक घण्टाभन्दा बढिसम्म काम गर्नसक्छ । जुन नेपालको हकमा सेवाप्रदायकले प्रयोगमा ल्याएका छैनन् ।

सेवाप्रदायकबाट उपलब्ध नहुँदा सेकेन्डरी राउटरको हकमा ब्याकअप राखेर पनि काम हुँदैन । किनभने प्राइमरी राउटरमा लाइन नआउँदासम्म सेकेन्डरी राउटरले काम गर्दैन ।

त्यसैले यहाँ हामी तपाईंहरूलाई केही सहज विकल्पको विषयमा जानकारी दिँदै छौं । जसले तपाईंलाई इन्टरनेटसँग निरन्तर कनेक्ट राख्न मद्दत पुग्नेछ ।

पावर बैंक प्रयोग गर्नुहोस्
सबैभन्दा सहज उपाय भनेको तपाईंसँग भएको पावर बैंक प्रयोग गर्नु नै हो । यदि तपाइसँगै एसी प्लग सकेट युक्त पावर बैंक छ भने यो सम्भव छ । किनभने राउटरका लागि धेरै पावर आवश्यक पर्दैन । त्यो हुँदा पावर बैंकले राउटरलाई धान्न सक्छ ।

तर, त्यसका लागि राउटरमा जोडिन एसी प्लग युक्त यूएसबी केबल आवश्यक पर्छ । त्यो भएको खण्डमा पावर बैंकबाट राउटरको एसी प्लगमा कनेक्ट गराउन सकिन्छ । जुन तपाईंले बजारमा सहजै खरिद गर्न सक्नुहुनेछ । यसो गर्दा दुई तीन घण्टासम्मका लागि सहजै राउटर चल्न सक्छ ।

सानो यूपीएस खरिद गर्नुहोस्
यदि तपाईंसँग पावर बैंक छैन र राउटर निरन्तर चलाउने विकल्प खोज्दै हुनुहुन्छ भने सानो क्षमताको यूपीएस त्यसको समाधान हुनसक्छ । यूपीएसलाई थोरै समयका लागि ब्याट्री ब्याकअप दिने हुँदा यसलाई राउटरमा ब्याट्रीको रुपमा प्रयोग गर्न सकिन्छ ।

कतिपय अवस्थामा यो पावर बैंकभन्दा पनि सस्तो पर्न जान्छ । सस्तो अनि धेरै एसी प्लग हुने हुँदा यसलाई राम्रो विकल्पको रुपमा लिइन्छ ।

त्यतिमात्रै नभएर यूपीएसले स्वतः पावरको काम गर्ने हुँदा राउटर अफ हुने, बत्ति गएपश्चात् राउटरलाई यूएसपीमा कनेक्ट गराउनुपर्ने जस्ता झन्झट रहँदैन । यसले एकदेखि दुई घण्टाभन्दा धान्न भने सक्दैन । साथै आवाज आउने लगायतका समस्या चैं आउनसक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२