close

बिक्री गरेको ५ लाख वटा कार फिर्ता लिंदै टेस्ला, यस्तो छ कारण

टेकपाना टेकपाना

पुस १६, २०७८ ११:११

बिक्री गरेको ५ लाख वटा कार फिर्ता लिंदै टेस्ला, यस्तो छ कारण

काठमाडौं । विद्युतीय कार निर्माता टेस्लाले बिक्री गरेको ५ लाख वटा कार फिर्ता लिने भएको छ । टेस्लाले सन् २०१७ देखि २०२० सम्ममा बिक्री गरेको मोडल थ्री र मोडल एसका ५ लाख यूनिट कार फिर्ता लिने घोषणा गरेको हो । आफूले बिक्री गरेको कारको डिकीमा समस्या देखिन सक्ने भन्दै कम्पनीले यस्तो निर्णय गरेको हो ।

उक्त अवधिमा बिक्री गरिएको मोडल थ्री र मोडल एसका केही कारको डिकीमा प्राविधिक समस्या देखिन सक्ने भन्दै कम्पनीले यस्तो घोषणा सार्वजनिक गरेको हो । ईच्छुक कार धनीले स्वस्फुर्तरुपमा कार फिर्ता गर्न सक्ने कम्पनीले जनाएको छ ।

टेस्लाका अनुसार मोडल थ्रीका कारमा डिकी खोल्दा र बन्द गर्दा पछाडिको क्यामेरा जोडिएको तार बिग्रिने सम्भावना देखिएको छ । तार बिग्रिदा पछाडिको क्यामेराले काम गर्न छाड्ने कम्पनीले जनाएको छ । मोडल एसका केही कारमा भने डिकी नलाग्ने सम्भावना देखिएको कम्पनीले जनाएको छ ।

अमेरिकाको नेशनल हाइवे ट्राफिक सिस्टम प्रशासनलाई कम्पनीले बुझाएको कागजात अनुसार ४ लाख ७५ हजार तीन सय १८ वटा कारमा समस्या देखिन सक्नेछ । कम्पनीले तीन लाख ५६ हजार तीन सय नौं वटा मोडल थ्री र एक लाख १९ हजार एक सय नौं वटा मोडल एसका कार फिर्ता लिने घोषणा गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२