close

केबल इन्टरनेट पायोनियर सुबिसुको २ दशक पुरा, अबको प्राथमिकता एफटीटीएच इन्टरनेट

टेकपाना टेकपाना

पुस १८, २०७७ २०:२७

केबल इन्टरनेट पायोनियर सुबिसुको २ दशक पुरा, अबको प्राथमिकता एफटीटीएच इन्टरनेट

काठमाडौं । आजभन्दा २० वर्ष अघिसम्म नेपालको इन्टरनेट कनेक्सनको परिदृश्यमा वायरलेस र डायलप कनेक्सनकै वर्चस्व थियो । तर दुवै प्रविधिमा ब्याण्डविथ नपुगेर इन्टरनेट सधैं स्लो हुने समस्या थियो । 

यसले नेपाली इन्टरनेटलाई वास्तविक ब्रोडब्याण्ड बनाउन निकै ठूलो चुनौती खडा गरेको थियो । भारतबाट इन्जिनियरिङको पढाई पुरा गरेर विनयमोहन साउद र सुधिर पराजुली भर्खर नेपाल फर्केका थिए ।

कमर्स पृष्ठभूमीका साथी सुरेन्द्र श्रेष्ठ मिलेर उनीहरुले केबल अर्थात् डक्सिस प्रविधिबाट यो समस्या निरुपण गर्न सकिने संभावना देखे । केबल इन्टरनेटका लागि नेपाल नेपाल दूरसञ्चार प्राधिकरणमा लाइसेन्सका लागि आवेदन दिए ।

तर तत्कालीन समयमा प्राधिकरणले वायरलेस, स्याटेलाइट र डायलप इन्टरनेटका लागि मात्र लाइसेन्स प्रदान गर्ने नीति रहेको भन्दै दुईपटकसम्म लाइसेन्स आवेदन नै खारेज गरिदियो । 

उनीहरु आवेदन दिन्थे, प्राधिकरण खारेज गर्थ्यो । तर उनीहरु थाकेनन् । चौथो वर्षमा आइपुग्दा अन्ततः तेस्रो पटकको आवेदन प्राधिरणले सदर गर्‍यो ।

सुधिर, विनय र सुरेन्द्रले तीनै जनाको नामको सुरुकाे अक्षरबाट कम्पनीको नाम ‘सुबिसु’ जुराए । नभन्दै उनीहरुले आफ्नो इन्टरनेट सेवा प्रदायक कम्पनीलाई देशकै पहिलो केबल ब्रोडब्याण्ड इन्टरनेट सेवाप्रदायकको रुपमा स्थापित गराउन सफल भए ।

नेपालमा केबल इन्टरनेटको जन्मदाता त्यही सुबिसुले शुक्रबार मात्र २० वर्ष पुरा गरेको छ । विगत २० वर्षदेखि इन्टरनेट सेवा लगायतका सूचना तथा सञ्चार प्रविधि सेवा प्रदान गर्दै आइरहेको सुबिसुले आफ्नो दुई दशकको यात्रामा धेरै उल्लेखनीय उपलब्धीहरु हासिल गरिसकेको छ ।

डायलप तथा वायरलेस कनेक्सनले तत्कालीन समयमा प्रदान गर्दै आइरहेको अधिकतम पाँचसय केबीपीएसलाई पछि पार्दै  सुबिसुले केबलमार्फत एक-दुई एमबीपीएसको इन्टरनेट प्रदान गर्थ थाल्यो । 

हाई ब्याण्डविथ र स्पिडले ‘युजर एक्सपिरियन्स’लाई पूर्ण रुपमा परिवर्तन गरिदियो । केबल इन्टरनेटमा जस्तै गरी सुबिसुले अन्य धेरै प्रविधिमा पहलकदमी लियो ।

अमेरिकामा सुरु भएको एउटै कोएक्स तारको माध्यमबाट टिभी र इन्टरनेट दिने प्रविधि पनि सन् २००४ तिर नेपालमै पहिलो पटक सुबिसुले नै सुरु गरेको हो । इन्टरनेट बाहेक केबल टिभी, इन्ट्रानेट तथा कर्पोरेट इन्टरनेट जस्ता विभिन्न सेवामा पनि सुबिसुले आफूलाई अब्बल सावित गरेको छ ।

तर नेपालमा ऊर्जाको चुनौती र रेडियो फ्रिक्वेन्सीमा काम गर्न सक्ने विज्ञताको कमीका कारण पछिल्लो केही वर्षयता इन्टरनेट सेवा केबलबाट एफटीटीएच अर्थात् फाइबर ट द होमतिर सिफ्ट भइरहेको छ ।

एफटीटीएच नै अबको भविष्य भएको महसुस गर्दै सुबिसु अब पूर्णरुपमा केबल र वायरलेसलाई छाडेर देशैभरी एफटीटीएच इन्टरनेट विस्तार गर्न जुटेको सह संस्थापक तथा सीईओ विनयमोहन साउद बताउँछन् । 

नेपालको इन्टरप्राइज तथा कर्पोरेट इन्टरनेट सेवामा अग्रस्थानमा रहेको सुबिसु रिटेल सर्भिसमा भने दोस्रो स्थानमा छ । हाल देशभर  सात हजार ७५९ वायरलेस, २९ हजार ७५६ केवल र एक लाख २३ हजार ३१६ अप्टिकल फाइबर गरी सुबिसुका कूल एक लाख ६० हजार ८३१ भन्दा बढी ग्राहक रहेका छन् । 

कम्पनी  ब्रोडब्याण्ड तथा आईपीटिभीमा गुणस्तर सुधार तथा कर्पोरेट सेवामा नयाँ प्रविधि ल्याउने तयारीमा रहेको साउदले टेकपानालाई बताए । 

२० वर्ष पार गर्दैगर्दा गत नोभेम्बरमा मात्र सुबिसुले घरमै बसेर थिएटरको मनोरञ्जन लिन सकिने गरी मुभी अन डिमाण्ड फिचर पनि ल्याएको छ । हाल सुबिसुले उपत्यका बाहिर र भित्र गरी दशैभर १५ सय भन्दा धेरै व्यक्तिहरुलाई रोजगारी प्रदान गर्दै आइरहेको छ ।

चार जना कर्मचारीबाट सुरु भएको सुबिसुले यस अवधिमा देशका ७५ जिल्लामा आफ्नो सेवा विस्तार गर्न सफल भइसकेको छ । चाहना हुँदाहुँदै पहाडी जिल्लामा ब्याक बोन नेटवर्क नहुँदा एफटीटीएच लैजान नसकिएको कम्पनीका सहसंस्थापक तथा अध्यक्ष सुधीर पराजुली बताउँछन् ।

‘आफ्नै खर्चमा पहाडी जिल्लामा अप्टिबल फाइबर विच्छ्याएर लैजान मुस्किर रहेको र लागत समेत बढी पर्ने पर्ने अवस्था छ,’ उनी भन्छन्, ‘यस हिसावले हामीले त्यस क्षेत्रमा वायरलेस रुपमा भए पनि इन्टरनेट सेवा सुचारु राख्ने योजना बनाएका छौं ।’

ग्रामीण दूरसञ्चार विकास कोषबाट भुकम्प प्रभावित जिल्लाहरु मध्ये गोरखा, धादिङ र मकवानपुरमा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरेको सुबिसुले सोही कोषको परियोजनाबाट प्रदेश २ मा एफटीटीएच नेटवर्क विस्तार गरेर आफूलाई उदाहरणीय रुपमा स्थापित गरेको छ ।

कम्पनी हाल बाग्मती, गण्डकी र प्रदेश नम्बर ५ का तराईमा पर्ने जिल्लामा समेत नयाँ परियोजना अगाडि बढाएको छ । ग्राहकको माया र सन्तुष्टिले नै यहाँसम्म आइपुगेको सहसंस्थापक सुधिर बताउँछन् ।

‘हामी ग्राहकको यही माया र सन्तुष्टीलाई कायम राख्ने चुनौतिका साथ आगामी दिनमा अगाडि बढ्छौं,’ उनी भन्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०