close

फिचर फोनमा समेत एचडी भ्वाइस सेवा परीक्षण गर्दै नेपाल टेलिकम

टेकपाना टेकपाना

पुस १९, २०७७ १२:५०

फिचर फोनमा समेत एचडी भ्वाइस सेवा परीक्षण गर्दै नेपाल टेलिकम

काठमाडौं । नेपाल टेलिकमले फिचर फोनहरुमा समेत फोरजीमा आधारित एचडी भ्वाइस सेवा परीक्षण गर्ने भएको छ । टेलिकमले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भ्वाइस ओभर एलटीई) सेवा फिचर फोनमा परीक्षणका लागि प्रक्रिया अघि बढाएको हो ।

त्यसका लागि कम्पनीले इच्छुक मोबाइल ब्राण्डहरुलाई परीक्षणमा सहभागी हुन आग्रह गर्दै टेण्डर जारी गरेको छ । आइतबार गोरखापत्रमा टेण्डरका लागि सार्वजनिक सूचना जारी गर्दै टेलिकमले फोन आपूर्तिकर्ताहरुलाई जीएसएम फिचर फोन उपलब्ध गराउनुपर्ने जनाएको हो ।

टेलिकमले हाल देशभर विस्तार गरिरहेको फोरजी एलटीई परियोजना अन्तर्गत एचडी भ्वाइस सेवाको परीक्षणलाई समेत अघि बढाएको छ । केही दिन अघिमात्रै टेलिकमले फोरजी ब्याण्ड ३ (१८०० मेगाहर्ज), ब्याण्ड २० (८०० मेगाहर्ज) र भीओएलटीई सम्बन्धी प्राविधिक परीक्षणका लागि स्मार्टफोन आपूर्तिकर्ता तथा बिक्रेतालाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको थियो ।

स्मार्टफोनका साथ फिचर फोनमा पनि यो सेवाको परीक्षणका लागि सार्वजनिक टेण्डर जारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार परीक्षण पश्चात फोरजी एलटीई तथा भ्वाइस ओभर एलटीई सेवा सपोर्ट गर्ने मोबाइल सेटको मोडल टेलिकमको वेबसाइटमा राखिने उल्लेख छ ।

कम्पनीका अनुसार हालको फोरजी सेवामा इन्टरनेट डेटा मात्रै चल्ने गरेको छ भने भ्वाइस कलका लागि थ्रीजीमै फलब्याक हुनेगर्छ । तर अब भिओएलटीईमा भने भ्वाइस कल समेत फोरजीमै चल्नेछ ।

यसको मतलव अब भ्वाइस कल समेत फोरजी इन्टरनेटमै हुनेछ । भिओएलटीईमा हालको थ्रीजीको तुलनामा गुणात्मक रुपमा नै उच्च गुणस्तरमा अर्थात प्राकृतिक आवाजमै कुराकानी गर्न सकिने टेलिकमले जनाएको छ ।

फिचर फोनको हकमा गुणस्तरमा अर्थात प्राकृतिक आवाजका लागि परीक्षण गर्न लागिएको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०