close

अब बसभित्रै आईसीटी कक्षा, प्रयोगशाला निर्माणको तयारीमा नास्ट

टेकपाना टेकपाना

पुस २१, २०७७ १५:४

अब बसभित्रै आईसीटी कक्षा, प्रयोगशाला निर्माणको तयारीमा नास्ट

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले बसमै सूचना प्रविधिका साथै विभिन्न विधा समेटेर कक्षा निमार्ण गर्ने भएको छ । दक्षिण कोरियाली सरकारको सहयोगमा इन्फरमेसन एक्सेस सेन्टर अन्तर्गत आईसीटी मोबाइल ल्याबोरेटोरीको रुपमा नास्टले उक्त परियोजना अघि बढाएको हो ।

यो सेवा नयाँ वर्ष २०७८ काे सुरूवातदेखि सञ्चालनमा आउने उल्लेख गरिएको छ । ‘आउँदो वैशाखसम्म यसलाई सञ्चालन ल्याउने गरी काम अघि बढेको छ,’ नास्टका प्रविधि संकाय प्रमुख रविन्द्र ढकालले भने, ‘यसका लागि यसअघि नास्टले कोरियाको सञ्चार मन्त्रालयलाई प्रस्ताव बुझाएको थियो । सोही प्रस्तावको आधारमा हाल अहिले काम अघि बढेको हो ।’

उक्त परियोजना अन्तर्गत कोरियाली सरकारले नास्टमा बनेको नयाँ टेक्नोलोजी भवनभित्र एउटा इन्फरमेसन एक्सेस सेन्टर समेत निर्माण गर्नेछ । त्यसका लागि नास्टले एउटा फ्लोर नै छुट्याइसकेको ढकालले बताए ।

ढकालका अनुसार कोरियन डिजाइनमा तयार पारिने उक्त सेन्टरमा आईसीटी क्लासका लागि आवश्यक पर्ने ल्याव, लबी, कन्फ्रेन्स हल लगायतका सम्पूर्ण सुविधा हुनेछ । जहाँ बसेर अध्ययन तथा अनुसन्धानका साथै अध्यापन समेत गर्न सकिनेछ ।

सोही परियोजना अन्तर्गत कोरियाली सरकारले नै ठूलो मोडलको बसमा आईसीटीको कक्षा बनाएर नास्टलाई उपलब्ध गराउने छ । जसलाई आवश्यक परेको खण्डमा देशका जुनसकुै स्थानमा लिएर गई कक्षा सञ्चालन गर्न सकिनेछ ।

उक्त बसमा कृषि, स्वास्थ्य, विज्ञान लगायतका आवश्यक अनुसारको विधालाई समेट्ने गरी पूर्वाधार तयार पारिनेछ । ढकालका अनुसार कुन कुन विधालाई समेट्ने भन्ने विषयमा भने अहिले छलफल भइरहेको छ । तर, प्रविधि र विज्ञान भने प्रमुख प्राथामिक्ताका विषय हुनेछन् ।

यसमार्फत आवश्यक पर्दा विद्यार्थीलाई अभिमुखीकरण गर्ने, कक्षा सञ्चालन गर्ने र साक्षरता बढाउन लगायतका काम हुनेछ । ढकालका अनुसार बसमा २५ भन्दा बढी विद्यार्थी बसेर अध्ययन गर्न सक्नेछन् । जहाँ इन्टरनेट पहुँच, विद्यार्थिका लागि आवश्यक कम्प्युटर, ल्याब लगायतका पूर्वाधार उपलब्ध हुनेछ ।

त्यस्तै शिक्षकलाई सहजीकरण गर्न आवश्यक प्रविधि पनि त्यहीँ उपलब्ध हुने ढकालले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१