close

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम, झण्डै साढे २३ करोडको पुरस्कार राशी

टेकपाना टेकपाना

पुस २१, २०७७ १७:१८

पब्जी ग्लोबल च्याम्पियनशिपको फाइनलमा नेपाली टिम, झण्डै साढे २३ करोडको पुरस्कार राशी

काठमाडौं । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनल आउँदाे जनवरी २१ देखि २४ सम्म सञ्चालन हुने भएकाे छ । च्याम्पियनशिपमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ उपाधिका लागि भिड्दै छ ।

विश्वभरका २४ टिम सहभागी सुपर विकेण्ड चरणबाट नेपाली टोली अन्तिम चरणमा पुग्दा नेपाली पब्जीप्रेमी उत्साहित छन् । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियाे ।

चार विकेण्डको अवधिमा जम्मा ४५ खेल खेलेको टोलिले कूल ३१२ अ‌ंक बटुलेको थियो । जसमा किल प्वाइन्ट १३२ र प्लेस प्वाइन्ट १८० हात पारेको थियो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’को उपाधि हात पार्दै एबरप्ट स्लेयर ग्लोबल च्याम्पियनशिपका लागि छानिएको थियो । साे टिमले उपाधिसँगै ४० हजार डलर अर्थात् नेपाली ४७ लाख ४० हजार रूपैयाँ हात पारेको थियो ।

तर दक्षिण एसियाबाट दोस्रो स्थान बनाउँदै ग्लोबल च्याम्पियनशिपमा प्रवेश गरेको अर्को नेपाली टोली ‘द रियल सोल्डर’ (डीआरएस) भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियाे । अंक तालिकाको २० औं स्थानमा रहेको डीआरएसले कूल ११४ अंक मात्र बटुल्न सक्याे ।

दुबईमा साे फाइनल खेल हुँदै छ । ग्लाेबल च्याम्पियनशिपकाे पुरस्कार राशी २० लाख अमेरिकी डलर अर्थात् झण्डै २३ कराेड ४४ लाख रूपैयाँ रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१