close

५ दिनदेखि एनसेल डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द, पश्चिम नेपालको मोबाइल सेवा प्रभावित हुनसक्ने

टेकपाना टेकपाना

पुस २३, २०७७ १९:५०

५ दिनदेखि एनसेल डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द, पश्चिम नेपालको मोबाइल सेवा प्रभावित हुनसक्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले पोखरामा रहेको एनसेल डेटा सेन्टरको लाइन काटेपछि सेवा प्रभावित हुनसक्ने देखिएको छ । आइतबारदेखि विद्युत नहुँदा ब्याकअपबाटै सेवा सञ्चालन भइरहेको भन्दै कम्पनीका कर्मचारीले जुनसुकै बखत डेटा सेन्टर बन्द हुनसक्ने जनाए । 

देशभर सेवा सञ्चालनका लागि भूकम्पिय जोखिम क्षेत्रको आधारमा कम्पनीका काठमाडौं, हेटौंडा र पोखरामा गरी तीन वटा डेटा सेन्टर रहेका छन् । डेटा सेन्टर दूरसञ्चार सेवाको मूख्य पुर्वाधार हो ।

आपतकालिन समयमा प्रयोग गरिने ब्याकअपले लामो समयसम्म धान्न सक्दैन । जसका कारण पोखरामा रहेको डेटा सेन्टर बन्द भएको खण्डमा अन्य डेटा सेन्टरमा भार पर्ने र पश्चिम नेपाल क्षेत्रमा कम्पनीको सेवा प्रभावित हुनसक्ने जोखिम बढेको छ ।

नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल बक्यौता रहेको भन्दै १९ गते कम्पनीको डेटा सेन्टरको डेडिकेटेड फिडर लाइन काटिदिएको थियो । तर एनसेलले भने आफ्नो बक्यौता नरहेको दाबी गर्दै आएको छ । 

प्राधिकरणले अदालतको आदेशको अवहेलना गर्दै लाइन काटेको कम्पनीले बताएको छ । यसले गर्दा अत्यावश्यक सेवाका रुपमा रहेको दूरसञ्चार सेवाबाट उपभोक्ताहरु बन्चित हुन सक्ने अवस्थाको सिर्जना भएको छ ।

मिटर जडानमा गडबडी रहेको कारण एनसेल डेटा सेन्टरमा मिटर जडान भएकै मिति २०६९ साल भदौ २३ देखि नै छूट बिल कायम भएको जनाउँदै प्राधिकरण कम्पनीको नाममा १३ करोड ८० लाख बक्यौता देखाएको छ । ताकेता गर्दा समेत बिल भुक्तानी नगरेको भन्दै प्राधिकरणले गत आइतबार बिहानदेखि डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द गरेको हो । 

प्राधिकरणले जारी गरेकै मिटर रिडिङ बिलका आधारमा सेवा शुल्क भुक्तानी गर्दै आएको एनसेलले बताउँदै आएको छ । प्राधिकरणले जडान गर्ने मिटर सधैं सिलबन्दी रहने भएकोले उपझोक्ताले आफखुसी मिटरमा तोडमोड गर्न सक्दैनन् । 

सुरुमा ६३० केभीएको फिडर लाइन लिएको एनसेलले २०७२ पुसमा क्षमता वृद्धि गरी १५०० केभीए पुर्‍याएको थियो ।

त्यतिखेर प्राधिकरणको पोखरा कार्यालयले आफ्नै परिसरभित्र जडित मिटर रिप्रोग्रामिङ गरी डेटा सेन्टरमा विद्युत जडान गरिदिएको एनसेलको भनाई छ । मिटरमा कुनै कैफियत नहुँदा समेत गत असारमा प्राधिकरणले पुरानो मिटर बदली गरेको एनसेलको भनाई छ । 

के हो विवादको कारण ?

प्राधिकरणले छूट बिल तिर्न अन्यथा डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द गराउने भन्दै दबाब दिएको थियो । यस्तो अवस्थामा एनसेलले आफ्नो सेवा प्रवाहमा असर पर्ने जिकिर गर्दै मंसिर २३ गते कास्की जिल्ला अदालतमा छूट बिल भुक्तानीको निर्णय बदरका लागि अन्तरिम आदेशको माग राख्दै मुद्दा दायर गरको थियो ।

उक्त मुद्दामा दुवै पक्षबीच बहस समेत भएको थियो । जसमा प्राधिकरण पक्षले लाइन काट्ने, सेवा अवरुद्ध गर्ने कुनै मनसाय नरहेको भन्दै अदालत समक्ष बयान दिएको बताइएको छ । 

सोही आधारमा अदालतले तत्काल लाइन काट्ने वा कुनै अतिरिक्त जरिवाना लगाउने मनसाय नदेखिएको भन्दै पुस १४ गते अन्तरिम आदेश जारी गरिरहनु नपर्ने आदेश जारी गरेको थियो । तर पुस १६ गते पुनः प्राधिकरणले छूटबिल भुक्तानीका लागि ताकेता गरेपछि एनसेलले पुस १७ गते यो विषय अदालतमा विचाराधीन रहेको भन्दै जवाफ पठाएको थियो । 

आफ्नो ताकेता अनुसार बिल भुक्तानी नगरेपछि प्राधिकरणले पौष १९ गते आइतबारदेखि डेटा सेन्टरमा विद्युत आपूर्ति बन्द गरेको थियो । त्यसपछि एनसेलले सोमबार पुनः कास्की जिल्ला अदालतमा पुनः मुद्दा दायर गरेको छ । अदालतले मंगलबार अन्तरिम आदेशका लागि छलफल गर्न प्राधिकरणलाई सक्कल फाइल सहित ७ दिनभित्र उपस्थित हुन आदेश दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१