close

आन्तरिक राजस्व कार्यालयको कर अब ईसेवाबाटै, यसरी गर्नुहोस् भुक्तानी

टेकपाना टेकपाना

पुस २४, २०७७ १६:४४

आन्तरिक राजस्व कार्यालयको कर अब ईसेवाबाटै, यसरी गर्नुहोस् भुक्तानी

काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व अब ईसेवाबाटै दाखिला (भुक्तानी) गर्न सक्ने भएका छन् । अबदेखि करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनै पनि राजस्व कार्यालयको भ्याट, सम्पत्ति कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क ईसेवाबाटै बुझाउन सकिने भएको हो ।

ईसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटको अन्त्य भएको छ । ईसेवा अकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन् । भने, ईसेवा अकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका ईसेवा जोन तथा ईसेवा पोइन्टबाट कर भुक्तानी गर्न सक्ने जनाइएको छ ।

‘सरकारले आफ्नो नीति तथा कार्यक्रममा सबै सरकारी क्षेत्रको भुक्तानीलाई नगदरहित बनाउने उद्देश्य राखेको थियो । सरकारको यो नीतिलाई हामीले कार्यान्वयन गर्ने अभियानमा छौं,’ ईसेवाका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले भने, ‘यसै सम्बन्धमा सबै सरकारी कार्यालयको भुक्तानीलाई पनि डिजिटल भुक्तानीको माध्यममा जोड्दै नगदरहित अभियानलाई अगाडी बढाएका हौं ।’

याेसँगै देशभर रहेको ईसेवा एजेन्ट नेटवर्क मार्फत देशको जुनसुकै कुनाबाट कर तिर्न सकिने भएको छ । यसबाट कर कार्यालयमा गएर लाइन लाग्नुपर्ने तथा अन्य प्रशासनिक झञ्झटबाट मुक्ति मिल्ने दावी कम्पनीको छ ।

हाल यो सेवा ईसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाइलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीको जनाएको छ ।

यसरी बुझाउनु होस ईसेवाबाट कर

ईसेवामार्फत कर तिर्नका लागि सुरुमा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा जानुपर्नेछ । त्यसपछि करदाताको पोर्टलमा गई बायाँतर्फ रहेको ‘जनरल’ मा क्लिक गरी ट्याक्स्पेयर लगइन (Taxpayer Login) मा क्लिक गर्नुहोस् ।

त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखी पेमेन्ट भौचरमा क्लिक गर्नुहोस् । अब रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक छनोट गर्नुहोस् । त्योसँगै अब आफूले बुझाउन चाहेको करको प्रकार, राजस्व शीर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेहुन्छ ।

उक्त विवरण भरेसँगै आर्थिक वर्ष छनोट गरी तल रहेको ‘जेनेरेट ट्रान्जेक्सन कोड’ मा क्लिक गर्नुहोस् । उक्त ट्रान्जेक्सन कोड आएसँगै इसेवामा क्लिक गरि ईसेवाको वेभसाइट खोल्नु पर्नेहुन्छ ।
त्यती गरेसँगै फाइनान्सियल कम्प्टोलर जनरल अफिस (Financial Comptroller General Office) मा क्लिक गर्नुहोस् ।

अब अघिको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरि कर भुक्तानी गर्नुहोस् । कर भुक्तानी भएपश्चात राजस्व कार्यालयको वेभसाइटमा गएर कर भुक्तानी भए नभएको हर्ने सक्नुहुनेछ । यदि भुक्तानी सफल भएको खण्डमा त्यहाँ पुरा भएको (Complete) भनेर देखिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१