close

इन्टरनेटमा ठूला प्याकेजको होडबाजीले साना ग्राहक मर्कामा

टेकपाना टेकपाना

पुस २६, २०७७ १५:२३

इन्टरनेटमा ठूला प्याकेजको होडबाजीले साना ग्राहक मर्कामा

काठमाडौं । प्रविधिले फड्को मारिरहेको अहिलेको अवस्थामा थोरै गतिको इन्टरनेटको विषय त्यति सन्दर्भिक नहोला । तर, पनि फिक्स्ड ब्रोडब्याण्डमा अझै ८० प्रतिशत जनसंख्याको पहुँच नपुगेको हाम्रो देशको हकमा भने यस्ता विषयले ठूलै अर्थ राख्छ नै ।

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार हाल नेपालको कुल जनसंख्याको ८०.०७ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । यसअन्तर्गत ५८.८३ प्रतिशत मोबाइल इन्टरनेटमा जोडिएका छन् भने, फिक्स्ड ब्रोडब्याण्डमार्फत २०.४८ प्रतिशतमात्रै जोडिएका छन् ।

यो हिसाबले हेर्ने हो भने द्रुत गतिको इन्टरनेटबाट अझै ८० प्रतिशत नेपाली बाहिर रहेको देखिन्छ । तर, इन्टरनेट सेवा प्रदायकले अहिले उपलब्ध गराइरहेको प्याकेजले भने नेपालीहरु इन्टरनेटमा ठूलो लगानी गर्न सक्षम भइसकेको देखाउँछ ।

सेवा प्रदायकले हाल उपलब्ध गराइरहेको इन्टरनेट प्याकेजमा सबैभन्दा कम गति भनेको २० एमबीपीएस हो । यदि कुनै ग्राहकले त्योभन्दा सस्तो मूल्यमा कम गतिको इन्टनेट जडान गर्छु भन्याे भने त्यो सेवा उपलब्ध छैन । यो हुँदा सस्तो मूल्यमा थोरै गतिको भएता पनि ब्रोडब्याण्ड इन्टरनेट जडान गर्छु भन्ने ग्राहक भने छुटिरहेका छन् ।

यदि त्यस्ता ग्राहकले इन्टरनेट जडान गर्नुपर्ने भएमा सेवा प्रदायकले उपलब्ध गराएको त्यही प्याकेज लिनुपर्ने हुन्छ । त्यो हुँदा आफूलाई आवश्यकभन्दा बढी गतिको इन्टरनेटमा आफूले धान्नेभन्दा बढी शुल्क तिर्नुपर्ने बाध्यता सिर्जना भइरहेको छ ।

यसको अर्थ के त ? कतै ठूला प्याकेज ल्याएर ग्राहकमार्फत ठूलो रकम लिने परिपाटी सेवा प्रदायकमा विकास भएको त हाेइन ?

याे प्रश्नको जवाफमा इन्टरनेट सेवा प्रदायकहरुको छाता संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपालका अध्यक्ष तथा सुबिसु केबल नेट प्रालिका अध्यक्ष सुधिर पराजुली भन्छन, ‘त्यस्तो पक्कै पनि होइन । साना प्याकेज र ठुला प्याकेजको मूल्यमा त्यती धेरै अन्तर नै पर्दैन । ’

उनी थप्छन्, ‘लागत, मर्मत लगायतका विषयलाई जोड्ने हो भने साना प्याकेज र ठूलो प्याकेजमा हुने मूल्यको अन्तर सय रुपैयाँ मात्रै हो । त्यसैले पनि ग्राहकलाई उच्च गतिको इन्टरनेट दिनकै लागि सेवा प्रदायकले धेरै गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइएका हुन् ।’

ग्राहकले साना प्याकेजमा इन्टरनेट चलेन भनेर गुनोसो गर्ने गरेकाे बताउँदै पराजुलीले ती गुनोसोलाई सम्बोधन गर्न पनि ठूलो प्याकेज अनिवार्य भएको तर्क गर्छन् ।

तर, ठूलासँगै साना प्याकेज पनि किन उपलब्ध नगराउने त ? यो प्रश्नको जवाफमा उनी भन्छन, ‘प्याकेज धेरै हुँदा ग्राहकमा अलमल अवस्था सिर्जना हुन्छ । त्यसैले सेवा प्रदायकले पुराना प्याकेजलाई बन्द गर्दै नयाँ प्याकेज ल्याउने गरेका छन् ।’

यदि कुनै ग्राहकले पुरानो प्याकेजको इन्टरनेट प्रयोग गरिरहेको छ भने पनि नवीकरणको समयमा उसलाई पनि नयाँ प्याकेजमा मै रुपान्तरण गर्ने गरिएको पराजुलीको भनाइ छ ।

यो विषयमा नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनाल भन्छन, ‘नेपालको ब्रोडब्याण्ड इन्टरनेट त्यति धेरै महंगो छैन । लागत, मर्मत लगायतका विषयलाई जोड्ने हो भने ठूलो र साना प्याकेजको मूल्य फरक नपर्ने भएकाले हामीले सेवा प्रदायकलाई मूल्य नबढ्ने गरी ठूला प्याकेज ल्याउन प्रोत्साहन नै गरिरहेका छौं ।’

यसले उच्च गतिको इन्टरनेटमा जोडिन सेवाग्राहीलाई अझ सहयोग पुगेको उनकाे भनाइ छ । खनाल भन्छन, ‘तर, यो भन्दैमा साना प्याकेज उपलब्ध नगराउने भन्ने होइन । सेवा प्रदायकले साना प्याकेज समेत उपलब्ध गराउनुपर्छ ।’

सेवा प्रदायकले प्राधिकरणबाट स्वीकृत लिएर गएको सम्पूर्ण प्याकेज सेवाग्राहीलाई उपलब्ध गराउनु पर्ने उनी बताउँछन् । यदि उक्त प्याकेज उपलब्ध नगराउने हो भने प्याकेज खारेज गरेको निर्णय प्राधिकरणलाई जानकारी गराउनुपर्ने उनकाे भनाइ छ ।

तर, सेवा प्रदायकले सानो गतिको प्याकेज उपलब्ध गराउन नसक्ने बताएका छन् नि भन्ने प्रश्नमा उनी भन्छन, ‘यो विषयमा हामी अध्ययन गर्छाै । यदि कुनै पनि सेवाग्राहीले प्राधिकरणबाट स्वीकृत लिएका साना प्याकेज उपलब्ध नगराएको पाइएमा आवश्यक कारबाही गरिने छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१