close

स्मार्ट मिटरका लागि विद्युत प्राधिरकणले माग्यो निःशुल्क फ्रिक्वेन्सी

टेकपाना टेकपाना

पुस २६, २०७७ १९:५९

स्मार्ट मिटरका लागि विद्युत प्राधिरकणले माग्यो निःशुल्क फ्रिक्वेन्सी

काठमाडौं । ग्राहकको घरमा स्मार्ट मिटरका जडानका लागि नेपाल विद्युत प्राधिकरणले सरकारसँग निःशुल्क फ्रिक्वेन्सी माग गरेको छ । स्मार्ट मिटरमा राखिएका विद्युतीय चिप्समार्फत मिटरको तथ्यांक प्राधिकरणको डेटा सेन्टरमा ल्याउन फ्रिक्वेन्सी आवश्यक पर्ने भन्दै प्राधिरकणले सरकारसँग नि:शुल्क फ्रिक्वेन्सी उपलब्ध गराउने आग्रह गरेको हो ।

प्राधिकरणले ३९५ देखि ४०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सीका लागि उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यो विषयमा छलफल अघि बढेको जनाएको छ ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालका अनुसार यो विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा धेरै पटक छलफल भइसकेको छ । भने, सोमाबार पनि यसै विषयमा छलफलको तालिका रहेको छ ।

यसअघि भएको छलफलको क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले करिब ९८ हजार स्मार्ट मिटरमा उक्त फ्रिक्वेन्सी प्रयोग गर्दा वर्षको १ अर्ब ९७ करोड भन्दा बढी शुल्क लाग्ने बताएको थियो । भने, डिभाइस थपिँदै जाँदा मूल्य पनि थपिँदै जाने दूरसञ्चार प्राधिकरणले जानकारी दिएको सिलवालले बताए ।

उनका अनुसार डिभाइसको संख्या अनुसार फ्रिक्वेन्सी दस्तुर थप हुँदै जाने हो भने उक्त फ्रिक्वेन्सीको मूल्य पनि ग्राहकबाट लिनु पर्नेहुँदा ग्राहकलाई विद्युत शुल्क बढाउनुपर्ने हुन्छ ।

त्यसैले सरकारसँग निःशुल्क फ्रिक्वेन्सीका लागि आग्रह गरिएको हो । यो विषयमा भएको छलफल अहिलेसम्म सकारात्मक भइरहेकाले सरकारले नि:शुल्क रुपमा फ्रिक्वेन्सी उपलब्ध गराउने आशा रहेको समेत उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१