close

बिहीबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन फर्ममा कोटा प्रणाली हटाउने तयारी

टेकपाना टेकपाना

पुस २८, २०७७ १७:५३

बिहीबारदेखि ड्राइभिङ लाइसेन्सको अनलाइन फर्ममा कोटा प्रणाली हटाउने तयारी


काठमाडौं । सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को अनलाइन फर्ममा कोटा प्रणाली हट्ने भएको छ । यसका लागि सिस्टम परिमार्जनको तयारी भइरहेको जानकारी यातायात व्यवस्था विभागले दिएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले अब हरेकले चाहेको समयमा अनलाइन आवेदन दिनसक्ने गरी सिस्टम बनाउन लागिएको बताए । उनले सबै तयारी भए बिहीबारदेखि र त्यो दिन सम्भव नभए आइतबारदेखि औपचारिक रुपमा कोटा प्रणाली अन्त्य गरिने जानकारी दिए ।

अनलाइन फर्म सीमित हुँदा हाल सेवाग्राहीहरु निकै मर्कामा परेका छन् । बिहानको समयमा सर्भर डाउन हुने र दिउँसो कोटा नै सकिने समस्या भोगेको गुनासो सेवाग्राहीहरूको छ ।

अनलाइन फर्ममै सेवाग्राहीहरुले समस्या भोग्नुपरेपछि विभागले नयाँ व्यवस्था गर्न लागेको हो । अब जुनसुकै समयमा अनलाइन आवेदन भर्न पाइने भएपछि हजारौं सेवाग्राहीले लाभ पाउने विश्वास गरिएको छ ।

अनलाइन आवेदन दिने तरिका

त्यसका लागि सुरुमा यातायात व्यवस्था विभागको वेबसाइट (www.dotm.gov.np) खोल्नुहोस् । त्यसको भित्र दायाँ साइडमा रहेको ‘महत्वपूर्ण लिङ्कहरू’ भन्ने सेक्सनभित्र रहेको ‘अनलाइन सवारी चालक अनुमतिपत्र प्रणाली’ लिंकमा क्लिक गर्नुहोस् ।

त्यहाँ क्लिक गर्दा नयाँ विन्डोज खुल्नेछ । जसको सबैभन्दा माथि निलो रंगले लेखिएको ‘Online Driving License Registration’ मा क्लिक गर्नुहोस् ।

यसपछि आउने नयाँ विन्डो ‘सिटिजनसिप’ मा नेपाल छानेर New License मा अप्लाई गरी ‘Proceed मा क्लिक गर्नुहोस् ।

‘प्रोसिड’ मा क्लिक गरेसँगै त्यहाँ फारम खुल्नेछ । उक्त फारममा आवश्यक जानकारी भरी (त्यहाँ भएका ‘category ’ र  ‘mobile number ’ भर्नैपर्छ, एकपटक लेखेपछि मिलाउन पनि मिल्दैन ।) अन्त्यमा रहेको ‘submit’ मा क्लिक गर्नुहोस् ।

जब तपाईंले अनलाइन फारम भरेर ‘submit’ मा क्लिक गर्नुहुन्छ । तब, यदि तपाईं तोकिएको कोटाभित्र पर्नु भएको खण्डमा तपाईंको अनलाइन फारम विभागको सिस्टमले एक्सेप्ट गर्नेछ । यदि कोटाभित्र पर्नुभएन भने विभागले आजका लागि कोटा पुरा भएको जानकारी दिनेछ र तपाईंको फारम एक्सेप्ट हुनेछैन ।

यदि फारम एक्सेप्ट भएको खण्डमा त्यहाँ भरिएको पेपर प्रिन्ट गरी आफूसँग राख्नुपर्ने हुन्छ । उक्त पेपरमै तपाईंको बायोमेट्रिकका लागि समय उल्लेख गरिएको हुन्छ ।

उक्त तेकिएको समयमा तपाईं बायोमेट्रिकका लागि आवेदक फारम, आफ्नो नागरिकता र अन्य कागजातका साथमा सम्बन्धित यातायात कार्यालयमा पुग्नुपर्छ ।

बायोमेट्रिकमा आवेदकको फोटो खिच्ने, औंठाको छाप लिने लगायतका काम हुन्छ । साेही दिन तपाईंको लिखित परीक्षा दिने समय समेत तपाईंले कार्यालयबाट जानकारी प्राप्त गर्नु हुनेछ ।

लिखित परीक्षामा असफल भएको खण्डमा ९० दिनसम्म अर्को फारम भर्न पाइँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१