close

ट्वीटरमा हाम्रा नेता, को कति लोकप्रिय ?

टेकपाना टेकपाना

माघ १, २०७७ १४:४८

ट्वीटरमा हाम्रा नेता, को कति लोकप्रिय ?

काठमाडौं । माइक्रोब्लगिङ र सोसल नेटवर्किङमा ट्वीटर विश्वव्यापी रुपमै लोकप्रिय छ । विश्वभर ट्वीटरका ३४ करोड प्रयोगकर्ता छन् । एक दिनमा मात्रै ५० करोडकाे हारहारीमा ट्वीट हुने गर्छ ।

नेपालमा पनि ट्वीटरको प्रयोग हरेक दिन बढिरहेकाे छ । विशेषगरी आफ्ना विचार सटिक रुपमा शेयर गर्न ट्वीटर प्रभावकारी बन्ने गरेको छ । अझ नेतृत्व तहमा रहेका मानिसका लागि ट्वीटर फलदायी हुने गरेको छ ।

ट्वीट गरेकै भरमा आमनागरिकले उसका विचार बुझ्ने अवसर पाउँछन् । साथै कतिपय ट्वीटहरु समाचारका हेडलाइन नै बन्ने गर्छन् । त्यस्तै ट्वीटरभित्रै अन्तर्क्रिया र बहस पनि चल्ने गर्छ ।

यसर्थ ट्वीटर आफ्नो विचार अभिव्यक्त गर्ने गतिलो माध्यम हो । यो माध्यमलाई नेपालका राजनीतिज्ञले कसरी प्रयोग गरिरहेका छन् त ? सर्सर्ती हेर्दा धेरै नेता ट्वीटरमा जोडिएका छन् ।

तर ट्वीटरलाई नियमित प्रयाेग गर्ने सवालमा धेरै नेता पछि छन् । कतिपय नेताहरू थाेरै फलाेअर भएपनि नियमित ट्वीटर प्रयाेग गर्ने गर्छन् । यहाँ भने हामी ट्वीटरमा धेरै फलाेअर भएका ५ नेताका बारेमा चर्चा गर्दैछाैं ।

डा. बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेपालमै सबैभन्दा बढी ट्वीटर फलोअर हुने नेता हुन् । उनी समकालीन नेतामध्ये धेरै ट्वीटर प्रयोग गर्ने गर्छन् । उनका ट्वीटकै आधारमा नियमित समाचार बन्ने गरेकाे छ ।

Image

उनी आफ्ना आधिकारिक कुरा राख्न अन्य मिडियाको तुलनामा ट्वीटरलाई प्राथमिकता दिन्छन् । उनको भेरिफाइड ट्वीटर अकाउन्ट @brb1954 लाई हालसम्म १३ लाखले फलो गरेका छन् भने भट्टराईले ७८३ जनालाई फलो गरेका छन् । उनले हालसम्म १२ हजार १ सय ट्वीट गरिसकेका छन् ।

गगन थापा

पूर्व मन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापा पनि ट्वीटरमा छाउने नेता हुन् । तर पछिल्लाे समय ट्वीटरमा उनकाे सक्रियता घटेकाे देख्न सकिन्छ । उनको भेरिफाइड ट्वीटर अकाउन्ट @thapagk लाई हालसम्म ११ लाखले फलो गरेका छन् भने उनले ११६४ जनालाई फलो गरेका छन् ।

Image

उनले लामाे समयदेखि ट्वीटरबाट राजनीतिक विचार सम्प्रेषण गरिरहेका छन् । उनले हालसम्म २९६० ट्वीट गरेका छन् ।

रविन्द्र मिश्र

विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र पनि ट्वीटरमा धेरै समय बिताउने नेतामा पर्छन् । उनी र उनको पार्टीले सामाजिक सञ्जाललाई सकेसम्म धेरै प्रयोग गर्ने गरेको पाइन्छ ।

Image

उनको ट्वीटर अकाउन्ट @RabindraMishra हालसम्म भेरिफाइड भने भएकाे छैन । हालसम्म उनलाई ९ लाख ९३ हजार ५ सयले फलाेअर गरेका छन् भने उनले ४९८ जनालाई फलाे गरेका छन् । त्यस्तै हालसम्म उनले १६ हजार ६ सय ट्वीट गरेका छन् ।

कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापा पनि ट्वीटरमा अभ्यस्त छन् । उनकाे भेरिफाइड अकाउन्ट @KTnepal बाट हालसम्म ६८२४ वटा ट्वीट भएकाे छ । कतिपय अवस्थामा समकालीन नेताहरुसँग ट्वीटरमा उनकाे आरोपप्रत्यारोप पनि गर्ने गरेको छ ।

Image

हालसम्म उनलाई ट्वीटरमा ७ लाख ५२ हजार ७ सयले फलो गरेका छन् । त्यस्तै उनको अकाउन्टबाट १७४ जनालाई फलो गरिएको छ ।

केपी शर्मा ओली

ट्वीटरमा नेताको कुरा गर्दा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकाे पनि नाम आउँछ । उनको नामको भेरिफाइड अकाउन्ट @kpsharmaoli लाई हालसम्म ६ लाख ८१ हजार ८ सयले फलाे गरेका छन् ।

Image

उनले भने ७८ जनालाई फलाे गरेका छन् । तर उनी भने ट्टवीटरमा त्यति व्यस्त छैनन् । उनकाे अकाउन्टमा सहयाेगीले नै बेलाबेला ट्वीट गर्ने गरेका छन् । हालसम्म उनकाे अकाउन्टबाट १५१९ ट्वीट भएकाे छ ।

यो सूचीबाहेक अन्य नेताहरु पनि ट्वीटरमा जोडिएका छन् । तर धेरैले ट्वीटर प्रभावकारी रुपमा प्रयोग गर्न सकेको देखिँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१