close

राष्ट्र बैंकले लियो यूके एडले बनाएको आरटीजीएस र मोडुलर डेटा सेन्टर

टेकपाना टेकपाना

माघ २, २०७७ २१:४७

राष्ट्र बैंकले लियो यूके एडले बनाएको आरटीजीएस र मोडुलर डेटा सेन्टर

काठमाडौं । अन्तर्राष्ट्रिय दातृनिकाय डीएफआईडी को सहयोगमा एक्सेस टु फाइनान्स अन्तर्गत यूके एड सक्षमसँगको सहकार्यमा तयार पारिएको आरटीजीएस तथा मोडुलर डेटा सेन्टर नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण गरिएको छ । २६ भदौ २०६६ देखि राष्ट्र बैंकमा सञ्चालनमा रहेको रियल टाइम ग्रस सेटलमेन्ट सिस्टम (आरटीजीएस) तथा मोडुलर डेटा सेन्टर औपचारिक रुपमा राष्ट्र बैँकले प्राप्त गरेको हो ।

शुक्रबार बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित एक कार्यक्रमबीच हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको सुरुवातमा यूके एड सक्षमका तर्फबाट टिम लिडर निर्मल दाहालले आरटीजीएस तथा मोडुलर डेटा सेन्टर प्रोजेक्टको विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त परियोजना कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले आरटीजीएस सिस्टममार्फत हुने कारोवारहरु हाल मासिक औषत १३ खर्ब रुपैयाँ बराबर रहेको जानकारी दिए । उनले सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको समेत उल्लेख गरे ।

नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने आरटीजीएस सिस्टम कार्यान्वयनमा ल्याउन सहयोग गरेकोमा कँडेलले यूके एड सक्षम प्रति आभार व्यक्त गरेका थिए । कार्यक्रममाझ आरटीजीएस सिस्टम हस्तान्तरणका लागि यूके एड सक्षमका टिम लिडर निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलबीच सर्टिफिकेट आदानप्रदान गरिएको थियो ।

त्यस्तै मोडुलर डेटा सेन्टर हस्तान्तरणका लागि यूके एड सक्षमका टिम लिडर दाहाल र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच सर्टिफिकेट आदानप्रदान भएको थियो । कार्यक्रममा नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि रोब क्लार्क ले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि यूके एड ले गरेको सहयोगबारे चर्चा गर्दै आगामी दिनमा समेत यस किसिमको सहयोग गर्ने प्रतिवद्घता व्यक्त गरका थिए ।

कार्यक्रममा गभर्नर अधिकारीले आरटीजीएस तथा मोडुलर डेटा सेन्टर प्रोजेक्ट प्राप्त गर्र्ने कार्य सफलतापूर्वक सम्पन्न भएकोमा बधाईका साथै आगामी दिनहरुका लागि शुभकामना व्यक्त गरे । उनले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार तथा विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले यूके सरकारप्रति कृतज्ञता व्यक्त गरे ।

यूके सक्षम एक्सेस टु फइनान्स परियोजनाले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै गभर्नर अधिकारीले उक्त परियोजना ले डुइङ विजनेस इन्डेक्समा नेपालको र्याङ्किङ बढाउन सहयोग गरेको बताए । उनले भने, ‘डिजिटल नेपाल अभियानलाई सफल बनाउन आगामी दिनमा समेत यूके एडबाट यस किसिमको सहकार्य रहने अपेक्षा गर्दछु ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१