close

फिशिङ हमलामा परेको ६ महिनापछि थाहा पाउँदा..

टेकपाना टेकपाना

माघ ३, २०७७ ९:१०

फिशिङ हमलामा परेको ६ महिनापछि थाहा पाउँदा..

काठमाडौं । भारतीय मिडिया एनडीटिभीकी पत्रकार तथा टेलिभिजन प्रस्तोता निधि राजदान नयाँ किसिमकाे फिशिङ हमलाको शिकार भएकी छन् । आफूमाथि अनलाइन फिशिङ अट्याक भएको ६ महिनापछि उनले यसबारे थाहा पाएकी छन् । 

यो घटना आजभन्दा ६ महिनाअघिको हो । एनडीटीभीमा २१ वर्षे पत्रकारिताको अनुभव सम्हालिसकेकी पत्रकार निधिलाई गत जूनमा हाभर्ड विश्वविद्यालय अन्तर्गत पत्रकारिता विभागमा सहायक प्राध्यापकको रुपमा जोडिने अफर आयो । 

निधिलाई २०२० कै सेप्टेम्बरदेखि विश्वाविद्यालयमा जोडिन प्रशासनले पत्रचार गरेको थियो । उनले निश्चिन्त भएर एनडीटीभीको आफ्नो कार्यकारी सम्पादकको पदबाट समेत राजीनामा दिइन् । त्यसका लागि उनले व्यापक तयारी पनि गरेकी थिइन् । तर जारी महामारीका कारण क्लास जनवरी २०२१ देखि मात्र सुरु हुने भनेर अर्को जानकारी आयो । 

हाभर्ड जाने उनको समय पर सर्दै थियो । सँगै प्रशासनले वर्णन गरेको धेरैवटा प्रक्रियामाथि कतै केही नमिलेको जस्तो पनि उनलाई लागिरहेको थियो । सुरुमा त निधिले त्यसलाई कोभिडको असर भनेर बेवास्ता गर्दै गइन । तर हालै प्रशानसले आफ्नो लागि गरेको रेप्रेजेन्टेसनहरु उनलाई निकै शंकाजनक प्रकृतिको लाग्यो । 

यसैले उनी स्पष्टोक्तिका लागि हाभर्ड विश्वविद्यालयको शीर्ष प्रशासन समक्ष पुगिन् । उनीहरुको आग्रहमा निधिले आफूलाई आएका डकुमेन्ट विश्वविद्यालयलाई दिइन् ।

तर त्यसपश्चात विश्वविद्यालयको जे प्रतिक्रिया आयो त्यो थाहा पाएर उनी छाँगाबाट खसिन् । 

यति लामो समय ६ महिनासम्म त उनी निकै अत्याधुनिक परिस्कृत तथा सहकार्यमा सञ्चालन भइरहेको फिशिङ अट्याकको पो शिकार भएकी रहिछन् । वास्तवमा हाभर्ड विश्वाविद्यालयको पत्रकारिता विभागमा सहायक प्राध्यापकको रुपमा जोडिन उनलाई कुनै पत्रचार भएको रहेनट । 

उनीमाथि त बडो चलाखीपूर्ण ढङ्गले व्यक्तिगत डेटा तथा सञ्चारमाथि पहुँच राखेर अनलाइन सुराकी गरिएको रहेछ । 

‘सम्भवत अट्याकरहरुले मेरो डिभाइस, ईमेल तथा सोसल मिडियामा पनि एक्सेस पाएका थिए होलान् ।’

आफूमाथि फिशिङ हमला भएको थाहा पाए लगत्तै उनले प्रहरी प्रशासनमा यसको उजरी दिइन् । अनलाइन विवरणका प्रमाण पनि प्रहरीलाई दिइन् । 

‘मैले प्रहरीसँग तत्काल ती व्यक्तिहरुलाई पहिचान गरी कानुनको दायराभित्र ल्याउन आग्रह गरेकी छु,’ उनले ट्वीटरमा लेखेकी छिन् । साथै उनले हाभर्ड विश्वाविद्यालयसँग पनि उक्त विषयलाई गाम्भीर्यताका साथ लिन आग्रह गरेकी छिन् । 

-एजेन्सीकाे सहयाेगमा

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१