close

घाम र बिजुली प्रयोग गरेर आविष्कार केन्द्रले बनायो कृषिजन्य वस्तु सुकाउने प्रविधि

टेकपाना टेकपाना

माघ ३, २०७७ १३:५१

घाम र बिजुली प्रयोग गरेर आविष्कार केन्द्रले बनायो कृषिजन्य वस्तु सुकाउने प्रविधि

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले घाम र बिजुली प्रयोग गरेर कृषकहरुले उत्पादन गरेको कृषिजन्य वस्तुहरु सुकाउने सामान (ड्रायर) उत्पादन गरेको छ । कृषकका लागि निकै फलदायी हुने विश्वास गरिएकाे याे उत्पादनकाे सफल परीक्षण गरिएकाे आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले बताएका छन् ।

उनका अनुसार यस्ताे प्रविधि यो प्रविधि दक्षिण भारतमा निकै चलेको छ । सो आइडिया किन्नोभेसन ट्रेडिङ प्रालिको टिमले नेपालमा ल्याएको र त्यसमा थप परिमार्जन सहित आविष्कार केन्द्रले याे प्रविधि उत्पादन गरेकाे पुनले जानकारी दिए ।

यो प्रविधि किन्न चाहनेलाई वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र ले ५० प्रतिशत अनुदान दिने बताइएको छ । हाल ५० वटा ड्रायर बनाउने योजना रहेकाे र किन्न चाहनेले आविष्कार केन्द्रमा सम्पर्क गर्न सकिने पुनले फेसबुक पाेस्टमा बताए ।

यो सिस्टममा पोलिकार्बोनेट भन्ने प्लास्टिकको सिट प्रयोग गरिएको हुन्छ, जसले बाहिरको ताप भित्र जान दिन्छ । तर भित्रको ताप बाहिर जान दिँदैन । दिउँसो घाम लाग्दा भित्रको ताप ५५ डिग्री सेन्टिग्रेडभन्दा माथि जान्छ ।

Image may contain: food

१००० वाट बिजुलीको हिटर लगाउने हो भने सो ड्रायरभित्र रातिको तापक्रम २५ डिग्री सेन्टिग्रेडको वरिपरी रहन्छ । भित्रको तापक्रम ६० डिग्री भन्दा बढी भयो भने र भित्र पानीको बाफ बढी भयो भने एउटा बिजुलीको कन्ट्रोलरले भित्र राखेको पंखाहरु चलाइदिन्छ ।

पुनले भने, ‘साथै भित्रको तापक्रम कम भयो भने पनि स्वचालित रुपमा हिटर खुल्छ । हामीले काउली, मुला, गाजर, च्याउ, बेसार, किवी, अदुवा, सकरखण्ड, स्याउ, साग, जुनार, गुन्द्रुक, खुर्सानी जस्ता चिजहरु सुकाएर हेरियो । ती तरकारी र फलफुलहरुलाई बाहिर खुला घाममा पनि राखेर हेरियो र सुक्ने समय पनि रेकर्ड गरियो ।’

‘यसरी यो सुकाउने सामान (ड्रायर) मा सुकाउँदा अधिकांश तरकारी र फलफुलहरु २ दिन र बढीमा ३ दिनमा राम्रोसँग सुकेका थिए । तर बाहिर खुला घाममा सुकाउँदा कम्तिमा दोब्बर समय लागेको थियो । यसरी सुकाएर त्यसमा भएको पानीको मात्रा (मोइस्चर कन्टेन्ट) नाप्दा ११ प्रतिशतको वरिपरी पाइएको छ । यसमा अहिले सम्म मासुको सुकुटी बनाइएको छैन, तर त्यो पनि बनाएर हेरिनेछ ।’

उनले थपे, ‘यसरी सुकाउँदा तरकारी र फलफुलहरुको रंग र स्वाद पनि त्यति साह्रै बदलिएको पाइएन । तर अन्य ड्रायर र घाममा सुकाउँदा भने स्वाद र रंग धेरै नै फरक पर्ने देखियो । साथै यो प्रविधिबाट सुकाउँदा त्यसमा बाहिरको धुलो र फोहरहरु पनि नमिसिने र बाहिर घाममा सुकाएको भन्दा धेरै नै सफा हुने पनि देखियो ।’

परीक्षणको लागी अहिलेलाई १०० बर्ग फिटको ड्रायर बनाइएको छ । यसको मूल्य २ लाख जति पर्ने अनुमान छ । घरहरुमा प्रयोग गर्नको लागी ५० वर्ग फिट सम्मको पनि बनाउने योजना छ । ठुलो साइजमा ३०० बर्ग फिट अथवा सो भन्दा ठूलो पनि बनाउन सकिने पुनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१